८ वैशाख २०८१ शनिबार
समाज

प्रहरीमाथि आक्रमण हुँदा तीन जना प्रहरी घाइते

मोरङको बुढीगंगा गाउँपालिकामा बिहीबार राति गाउँलेको आक्रमणबाट तीन जना प्रहरी घाइते भएका छन्। लागुऔषध कारोबारसम्बन्धी सूचना प्राप्त भएपछि पुगेको प्रहरी टोलीमाथि कारोबारी र गाउँले मिलेर प्रहरीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।  

बुढीगंगा–१ स्थित करैया टोलमा बिहीबार राति प्रहरी निरीक्षक मिलन थापाको नेत्रृत्वमा गएको टोलीमाथि आक्रमण भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। एसपी खड्काले भने, ‘लागुऔषध कोरेक्स र गाँजा भण्डारण गरी बिक्रीका लागि तयारी अवस्थामा राखिएको सूचना पाएर नियन्त्रणमा लिन गएको टोलीमाथि गाउँलेले घेरा हालेर लाट्ठी, भाला र खुकरी लिएर आक्रमणमा उत्रिए।’

सादा पोसाकमा पुगेका प्रहरी टोलीगाउँलेको आक्रमणमा परेर तीन प्रहरी घाइते भएका छन्। घाइते हुनेमा प्रहरी जवान ज्ञानबहादुर बस्नेत, जीवन काफ्ले र श्रवण चौधरी रहेका छन्। घाइतेहरूको टंकिसिनवारीस्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ भने प्रहरी जवान बस्नेतको टाउकोमा सातवटा टाँका लगाइएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।  

प्रहरीले घटना भएपछि थालेको अनुसन्धानका क्रममा ६ जनालाई नियन्त्रणमा लिएको छ। एसपी खड्काले भने, ‘घटना हुनसाथ पुगेको थप प्रहरीको टोलीले थालेको अनुसन्धानका क्रममा घटनामा संलग्न भएको आशंकामा ३६ वर्षीय बलराम ऋषिदेव, २८ वर्षीय देव ऋषिदेव, २१ वर्षीय वीरेन्द्र ऋषिदेव, २५ वर्षीय महादेव ऋषिदेव, नन्दनीकुमारी ऋषिदेव र एलिसा ऋषिदेवलाई पक्राउ गरी अनुसन्धान अघि बढाए छौं।’

एसपी खड्काले भने, ‘प्रहरीमाथि आक्रमण गर्न लागुऔषधका कारोबारीलेगाउँलेलाई उकासेर आक्रमण गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएकोले यसको दायरा फराकिलो पारेर घटनाको सुक्ष्म अनुसन्धान थालिसकेका छौं।’ आक्रमण गर्दै प्रहरीसँग भएको हतियार खोस्ने प्रयास गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पेस्तोलबाट दुई राउण्ड हवाइ फायरसमेत गर्नुपरेको एसपी खड्काले बताए। घटनमा थप संलग्नको पहिचान र खोजी जारी रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: १६ श्रावण २०७७ ०५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App