२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भारत र तराईबाट आउनेमा संक्रमण बढी

उपत्यकामा थप ४८ संक्रमित

पछिल्लो साता तराईका केही जिल्लासहित काठमाडाैंमा दैनिक कोरोना संक्रमण वृद्धि हुने क्रम जारी छ। बिहीबार काठमाडाैं उपत्यकामा थप ४८, पर्सामा ४९, धनुषा र कास्कीमा १४ जना संक्रमित थपिएका छन्। नयाँसहित उपत्यकामा संक्रमित हुनेको सख्या  ५ सय ३९ पुगेको छ।  

पछिल्लो चौबिस घण्टामा देशभर थप २ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमित संख्या १९ हजार ५ सय ४७ पुगेको छ। तीमध्ये ५ हजार २ सय ४७ जना सक्रिय संक्रमित छन् भने १४ हजार २ सय ४८ जना निको भएका छन्। कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ। गत चौबिस घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा मोरङ सुनवर्षी–८ का ४५ वर्षीय पुरुष रहेका छन्। उनलाई ज्वरो र श्वास–प्रश्वासमा समस्या भएपछि कोभिड अस्तपाल विराटनगर हुँदै बिपी कोइाराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिएको थियो । उनको बुधबार नै कोरोना पुष्टि भएको सोही दिन साँझ मृत्यु भएको हो।  

बुधबार नै पर्साका ७० वर्षीय पुरुषकोे कोरोना संक्रमणकै कारण मृत्यु भएको छ। उनी मुटु तथा मधुमेहका रोगी थिए। वीरगन्जमा उपचार गरिरहेका उनलाई साउन ८ मा कोरोना पुष्टि भएपछि नारायाणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भर्ना गरिएको थियो।  उनमा मधुमेह र मुटुको समस्या थियो।  

त्यस्तै, बुधवार नै पर्साका ६८ वर्षीय पुरुष पनि संक्रमणबाटै मृत्यु भएको छ। उनमा मिर्गौलासम्बन्धी समस्या थियो। उनमा साउन ७ गते कोरोना पुष्टि भएको थियो। उनी झाडापखालाको समस्या देखिएपछि विभिन्न अस्पताल हुँदै साउन १३ गते नारायणी उपक्षेत्रीय अस्पताल पुगेका थिए।  

काठमाडौं उपत्यकामा ४८ संक्रमित थप भएका छन्। तीमध्ये  २ जना ललितपुर, ५ जना भक्तपुर र ४१ जना काठमाडौंका छन्। उपत्यकामा पुष्टि भएकाहरू सबैजसो भारत र तराईका जिल्लाबाट राजधानी आई विभिन्न व्यवसायमा संलग्न हुनेहरू रहेको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा सर्भिलेन्स शाखाले जनाएको छ। लकडाउन खुलेको थाहा पाएपछि भारत तथा तराईका विभिन्न ठाउँबाट तरकारी, टायल र खाद्यान्न धुवानीलगायतका गाडीमा लुकेर आएको सर्भिलेन्स शाखाका मेडिकल टेक्नोलोजिष्ट धनराज पौडेलले बताए।

पौडेलका अनुसार उनीहरू राजधानीमा कपाल काट्ने, मार्वल बिच्छाउने, कपडा पसल गर्ने, फर्निचर कारखानालगयातमा काम गर्ने रहेका छन्। उनीहरूलाई लक्षित गरी सरकारले पछिल्लो समयमा राजधानीको थानकोट, साँगा, फर्पिङ, भक्तपुरलगायतका स्थानबाट नमुना संकलन गरी परीक्षण गरेको थियो। कुल १० हजार नमुना संकलन गर्ने लक्ष्य लिइएकोमा बिहीबार ३ हजार ४ सय ७३ जनाको रिपोर्ट आइसकेको छ।  

सीमानाकाबाट भित्रिनेबाट राजधानीमा संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमानाकाका स्थानीय तहकै क्वारेनटिनमा राख्ने व्यवस्था मिलाएको दाबी गरेको छ। उपत्यकाको हकमा भित्रिने नाकाबाट छिर्ने व्यक्तिका १० हजार नमुना संकलन गर्ने लक्ष्य लिएकोमा ८ हजार ४ सय १ वटा नमुना परीक्षण भइसकेको जनाएको छ। तीमध्येमा २४ जनाको रिपोर्ट पोजिटिभ आएको जनाएको छ। बाँकी उपत्यका भित्रिइसकेकाको परीक्षण भएको थियो।  

लकडाउन खोल्नुभन्दा ९ दिनअघिको तुलनामा बिहीबारसम्म आइपुग्दा संक्रमण दर बढ्दै गएको तथ्याकंले औंल्याएको र यो थप बढ्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। गत चौबिस घण्टामा कुल परीक्षण भएका ६ हजार ३ सय ४ मध्येमा २ सय ७४ जनामा पुष्टि भएको थियो। लकडाउन खोल्नुभन्दा ९ दिनअघि ३ प्रतिशत रहेको वृद्धि दर बिहीबारसम्ममा ३.८ प्रतिशत पुगेको छ। ‘जनस्वास्थ्य मापदण्ड पालना नगरेमा यो संख्या थप बढ्न सक्छ,’ प्रवक्ता  गौतमले भने।  

निजी अस्पताललाई अनुदान दिइने  

स्वास्थ्य मन्त्रालयले बुधवार कोभिड–१९ का बिरामी उपचार गरेबापत शुल्क अनुदान दिने निर्णय गरेको छ। बिरामी र निजी अस्पतालको सहमतिमा उपचार गर्न पाउनेगरी सो निर्णय गरिएको मन्त्रालयको भनाइ छ। सामान्य लक्षण भएका बिरामीको हकमा दैनिक ३५ सय रुपैयाँ, मध्यम तथा जटिल लक्षण भएका बिरामीको हकमा प्रतिदिन ७ हजार रुपैयाँ र अति  जटिल बिरामीको हकमा दैनिक १५ हजार रुपैयाँमा नबढ्ने गरी उपचार गर्न मिल्ने व्यवस्था लागु गर्ने भएको छ। त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुमति दिएका प्रयोगशालाले १० प्रतिशत नबढ्ने गरी सेवा शुल्क लिएर परीक्षण गर्ने व्यवस्था गरिएको छ। प्रयोगशाला रिपोर्ट व्यवस्थापन हुनुअघि सार्वजनिक गर्न नपाइने र यो विपरीत पाइएमा परीक्षण अनुमति खारेज हुने मन्त्रालयले जनाएको छ।

प्रकाशित: १६ श्रावण २०७७ ०१:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App