११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

वीपीबाट झण्डै २४ घण्टापछि संक्रमितको शव लगियो

विराटनगरको कोशी कोभिड-१९ अस्पतालले बुधबार दिउँसो करिब एक बजेतिर एम्बुलेन्स चालकको साथमा एक संक्रमितलाई धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठायो । सिकिस्त अवस्थाका ती व्यक्तिको केही समयपछि नै पौने ५ बजे निधन भयो ।

बुधबार निधन भएका मोरङ सुनबर्षी नगरपालिकाका ती व्यक्तिको शव रातभर र बिहीबार दिनभर प्रतिष्ठानको आइसोलेसनमा नै रह्यो । समयमा नै शव वहानको व्यवस्थापन हुन नसक्दा वीपी प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साहले बिहीबार धरान उपमहानगरपालिकाको बैठकमा यो विषय उठाए । उक्त बैठकमा पनि शव वहान व्यवस्थापनको विषय चर्को रुपमा छलफल भएको थियो । त्यहाँ शव वहानको छलफल हुँदै गर्दा झण्डै २४ घण्टापछि मात्र मृतकको शव प्रतिष्ठानबाट लगिएको थियो ।  

सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले संक्रमितको मृत्यु भएपछि सम्बन्धित ठाउँसम्म शव पुर्याउने वहान तत्काल व्यवस्थापन हुन नसक्दा वीपीबाट लैजान ढिलाई भएको बताए । धरानमा भएका शव वहानहरुले पनि शवलाई बोक्न नमानेको र विराटनगरबाट पठाउने भनेपनि ढिलो गरेको उनको भनाई थियो । ‘डेडिकेटेड शव वहानको व्यवस्थापन गर्नुपर्ने हुन्छ, म सुनसरीमा आएदेखि नै प्रयासरत छुँ,’उनले भने,‘यहाँकोले नमानेपछि विराटनगरबाटै पठाउने कुरा थियो, ढिलो आयो ।’

प्रदेश १ मा लेभल थ्री(३) को कोभिड अस्पतल वीपी प्रतिष्ठान मात्र हो । यहाँ सिकिस्त अवस्थाका संक्रमितहरु उपचारको लागि रिफर हुन्छन् । त्यसैले यहाँ उपचाररत अवस्थामा संक्रमितको मृत्यु हुने सम्भावना पनि धेरै छ । यसअघि पनि प्रदेश २ का २ जना संक्रमितको मृत्यु हुँदा पनि शव वहानको व्यवस्थापन गर्न समस्या भएको सिडिओ पोखरेलले बताए । ‘धरानमा शव वहानको बिषयमा शुक्रबार फेरि बैठक बस्छ, र त्यसपछि यो समस्या हल हुन्छ भन्ने अपेक्षा छ,’उनले भने ।

मोरङका निमित्त सिडिओ ध्रुव खड्काले प्रदेशमा संक्रमितको मृत्यु भएको पहिलो घटना भएकोले शव व्यवस्थापनमा केही ढिलाई भएको बताए । ‘पहिलो घटना हो, त्यसैले कानुनी र अस्पतालको प्रक्रिया पुरा गर्दा पनि केही समय लाग्यो,’उनले भने,‘मोरङमा शव वहान २ वटा मात्र छ, दुवै यहाँ नभएकोले पनि ढिलाई भयो ।’ प्रतिष्ठानबाट मृतकको शव मोरङबाट आएको शव वहानले नै लिएर गएको थियो । 

प्रकाशित: १५ श्रावण २०७७ १३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App