७ वैशाख २०८१ शुक्रबार
समाज

खोला र आकाशे पानी पिउन बाध्य म्याग्दीका पहिरो पीडित

खानेपानीको हाहाकार

म्याग्दीको पहिरो प्रभावित क्षेत्रमा खानेपानीको जोहो गदैं स्थानीय। तस्वीरः हरिकृष्ण गौतम

म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङमा पहिरोले खानेपानीको मुहान पुरिदिएपछि खानेपानीको समस्या देखिएको छ। गत असार २६ गते विहान आएको पहिरोले गाउँ नजिकै रहेको मुहानसँगै पानी वितरण गरिने मुख्य ट्यांकी, पाइप बगाउँदा विस्थापितलाई पिउने पानीको समस्या भएको हो।

पहिरोले बस्ती चिराचिरा परेपछि विस्थापित जिवन विताइरहेका पीडितले खानेपानीको अभावमा आसपासका क्षेत्रमा बग्ने खोलाको धमिलो पानी पिउन बाध्य छन्। पहिरोले बस्ती भित्र ल्याइएको खानेपानीको पाइप क्षतिग्रस्त भएपछि तत्काल पाइपको अभाव र मुहान समेत पहिरोले पुरेको शुद्ध पिउने पानीको अभाव भएको पहिरो पीडित सन्देश विश्वकर्माले बताए।

‘शुद्ध पिउने पानी पिउन नपाउँदा झाडापखलाको त्रास फैलिएको छ,‘बालबालिका र बृद्धबृद्धालाई स्वास्थ्यमा समस्या हुने चिन्ता छ’ विश्वकर्माले भने। उनले आकाशे पानी संकलन गरी पिउन बाध्य रहेको बताए। ‘घरखेत त पहिरोले लग्यो, घर छोडेर छिमेकी गाउँमा शरण लिएका छौ,‘प्रयाप्त खानेपानी पनि छैन’ उनले भने। बस्तीमा रहेका बृद्धबृद्धा र बालबालिकका लागि पानी तताएर पिउने ब्यवस्था समेत नभएको बताए। पहिरोले पानीको मुहान बगाएकाले खानेपानीको समस्या भएको वडा सदस्य तिलकुमारी केसीले बताईन्। ‘सबैले घरबाहिर आकाशे पानीका लागि गाग्री थाप्नु परेको छ,‘खेतबारीमा समेत भाडाकुँडामा पानी संकलन गरिएको छ’ केसीले भनिन्।  

उनले पहिरोले बस्ती नजिकै रहेका पानीको मुहान, पाईपमा क्षती पुगेको अवस्थामा तत्काल नयाँ योजना सहित मर्मत गर्न समय लाग्ने बताईन्।घरघरमा रहेका पानीका धारामा पानी आउन छोडेपछि सरसफाई, लुगा धुन समेत समस्या भएको स्थानीयको भनाई छ। वडाभित्र करिब १७ हजार जनसंख्या रहेकोमा २१ घर पहिरोले पुरिदिएको छ भने २ सय २ घर उच्च जोखिम, ४० घरपरिवारले विस्थापित जिवन विताइरहेका छन्। करिब ४ सय घरधुरी छ।पहिरोले मराङका विभिन्न बस्तीमा २१ जनाले ज्यान गुमाएका थिए भने २ जना बेपत्ता छन्। गाउँलाई चारैतिरबाट पहिरोले घेरेका कारण कुनै पनि बेला पहिरो जान सक्ने खतरा भएको आकाशे पानी नै संकलन गरेर पिउन बाध्य रहेको स्थानीय डाँफे यूवा क्लवका पूर्व अध्यक्ष कमल केसीले बताए। यता मालिका गाउँपालिका–७  बिममा समेत पहिरोले २ करोडभन्दा बढी लागतको बिम लिफ्ट खानेपानी आयोजना बगाएपछि खानेपानीको हाहाकार मच्चिएको छ।  

पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको बिम लिफ्ट खानेपानी तथा सरसफाई आयोजना, गाउँपालिका र स्थानीयको श्रमदानमा बिम गाउँको फेदीमा रहेको बिबोटखोला र जुगेखोला मुहानको पानी २४० मिटर माथि रहेको रिजर्भ टंकीमा पु¥याएर करिब १ सय ५० घरधुरीलाई वितरण भइरहेको खानेपानी गएको असार २५ गतेको पहिरोले बगाएपछि खोल्साखोल्सीको पानी पिउन बाध्य भएको वडा अध्यक्ष रेशमबहादुर जुग्जालीले बताए। ‘खानेपानीको चरम अभाव छ,‘तत्काल नियमित गर्ने अर्को ठूलो लागत आवश्यक पर्छ, बैकल्पिक स्रोत नै छैन’ जुग्जालीले भने। उनले बस्ती आसपासमा बग्ने खोलामा पाइप प्रयोग गरी पानी ल्याउने गरिएको बताए। बिमको बाईनफाँट, दुले, अर्गला, नौरुङ, डाँडागाउँ, नौमाने, भारवाङ, खारा, लुरवाङ गाउँका २६ घर पहिरोले पुरिएको छ भने ५५ घरमा आंशिक क्षती र ७० घर पहिरोको उच्च जोखिममा छन्। यता बाढीपहिरो प्रभावित जिल्लाका अन्य  स्थानमा समेत पानीको मुहानमा असर गरेपछि आपुर्तीमा समस्या भएको छ। जिल्ला सदरमुकाम बेनीमा आपूर्ती हुदै आएको खानेपानीको वितरण गर्ने पाईप समेत बाढीपहिरोले छियाछिया बनाएपछि खानेपानीको अभाव हुने गरेको छ। बाढीपहिरोले जिल्लाभित्र करोडौंको खानेपानीको संरचना ध्वस्त बनाएको छ।

प्रकाशित: १५ श्रावण २०७७ ०३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App