१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

‘बरु मर्छौं, माग पूरा गराएरै छाड्छौं’

बसन्तपुरमा आमरण अनशन बसेका ‘इनफ इज इनफ’का अभियन्ता ‘ईः’को अवस्था बुझ्दै नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंह, पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशी, काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायत । तस्बिर: केशवराज थोकर/नागरिक

नयाँ ठाउँ घुम्ने र नयाँ–नयाँ खानेकुरा स्वाद लिने उनको सानैदेखिको सोख। त्यही सोख पूरा गर्न उनी स्कुल पढ्दादेखि नै साइकल कुदाउन थाले। एसएलसी दिँदासम्म काठमाडौंका गल्लीगल्ली र डाँडाकाँडा चहारे। पढाइसँगै घुमन्तेफिरन्ते हुन खुवै रुचाउने उनी। यात्राकै दौरान कैयौं किताब पढे। स्थानीय जनजीवन र देशलाई नै पैदल यात्राको माध्यमबाट बुझे। सवारीसाधनमै घुमे पनि महिनौं लाग्ने नेपाल उनले २५ वर्षको उमेरमै पैदल यात्रा गरेरै सकाए। उनी हुन्, ‘इनफ इज इनफ’ का अभियन्ता ईशान (ईः)।  

सारा नेपाल पैदल हिँडेर पार गरेका उनलाई राजनीतिले कहिल्यै तानेन। न त कुनै नेतासँग उनी घुमफिर गरे। उनी एक्लै वा आफ्नो उमेर समूहकासँग पैदल यात्रा गर्थे। काठमाडौं मात्र होइन, सिंगो नेपाल नै उनले पैतालाले टेके। जन्मभूमि र माटोलाई राम्ररी बुझे। गाउँगाउँ पुगेर गाउँलेका दुःख देखे। यात्राका क्रममा उनले कुना कन्दराका दुःख सँगाले। मन सँगालिएका ती दुःखले उनलाई घोचिरहन्थ्यो। तर, गरिबका आवाज कसरी उठाउने, उनले मेसो पाएनन्। पछिल्लो एक वर्षमा भने उनले कम पैदल यात्रा गरे। उक्त समयमा उनले आफ्नो उमेर समूहका जागरुक युवा समूहसँग चिनजान बढाए। आफ्नो पैदलयात्राको अनुभव साटे। घुमेरै देश बुझेका उनी भित्रभित्रै एउटा योजना बनाउन थाले। उनको योजना थियो, गरिब जनताका आवाज उठाउने र सरकारलाई दायित्वबोध गराउने। त्यसका लागि उनले काठमाडौंलाई नै टेको बनाए। ‘इनफ इज इनफ’ भनेर अभियानको नामकरण गरे। यसको अर्थ थियो– ‘अब त अति भयो सरकार, सहन सक्दैनौं।’ उनी यी कुरा सामाजिक सञ्जालमा पोस्ट गर्थे। नजिकका साथीसँग सेयर गर्थे। विस्तारै उनलाई फलो गर्ने र उनको बाटोमा समर्थन जनाउनेको संख्या बढ्यो। उनी सरकारलाई जिम्मेवार बनाउन थप ‘सूत्र’ खोज्दै थिए। कोरोना महामारी सुरु भएपछि सान्दर्भिक विषयलाई नै आफ्नो अजेन्डा बनाउन थाले। कोरोनाको बेला सरकारको जिम्मेवारी झिनो देखिएपछि उनी त्यही विषयमा आवाज उठाउन थाले। कैयौं युवाले त्यसको समर्थन गरे। त्यसपछि उनीसहित अन्य युवा सरकारलाई होसियार र जिम्मेवार बनाउन सडकमा उत्रिए। जेठ र असारभर सडकमा उभिएर सरकारलाई जिम्मेवार बनाउन खोजेको यो अभियान अहिले सत्याग्रहमा पुगेको छ। यसरी भोकभोकै बसिएला भनेर नसोचको ईः ले दोस्रोपटकको अनशनका क्रममा ११ दिन भोकै बिताए। अझै कति दिन भोकै बस्नुपर्ने हो थाहा छैन। तर, सरकारले माग पूरा नगरेसम्म उनले अनशन नतोड्ने निश्चय गरेका छन्।  

कोरोना महामारीको बेला आमनागरिकका आवश्यकता पूरा गराउन ईः र अभियानका अन्य व्यक्तिले ठुलै त्याग गरेका छन्। ११ दिनदेखि शरीर अन्नपानीविहीन छ। जिउ लल्याकलुलुक र अनुहार टिठलाग्दो बनेको छ। तर, भोकभोकै बसेका एक जोसिला युवाको आवाज सरकारले सुनिरहेको छैन।  

११ दिनदेखिको अनशनमा ईः मात्र छैनन्, सोही अभियानकी समाइरा श्रेष्ठ पनि छिन्। यसअघिको अनशनमा उनीसँगै विवेकशीलका नेता पुकार बम पनि अनशन बसेका थिए। सरकारले माग पूरा गर्ने १२ बुँदे सहमति गरेपछि १२ दिनमा अनशन तोडेका थिए। तर, ती माग पूरा नभएपछि ईः र समाइराले फेरि अनशन सुरु गरेका हुन्।  

समाइराको स्वास्थ्य अवस्था जटिल बनेपछि  मंगलबार ह्याम्स अस्पताल लगिएको छ भने ईः वसन्तपुर डबलीमा भोकभोकै सरकारलाई जगाउन बसेका छन्। वसन्तपुरस्थित डबलीमा मंगलबार भेट्न पुग्दा ईःले स्वास्थ्य समस्या बिर्संदै देशको समस्या सुनाउन थाले। उनले सुनाए, ‘दुरदराजका मानिसको कहानी सरकारले बुझेन, महामारीको बेला गरिबलाई सरकारले नै नुनचुक लगायो, त्यसैले हामी सडकमा आयौं।’ उनले सरकार जिम्मेवार नहुँदा विपन्न वर्गले दयनीय जीवन बिताइरहेकाले सरकारलाई जिम्मेवार बनाउन आफू भोकै बसेको सुनाए। उनले यो सत्याग्रह मौखिक सम्झौताले मात्र नत्याग्ने बताए। ‘बरु मर्न तयार छौं तर सरकारलाई खबरदारी गर्ने जिम्मेवारीबाट पछि हट्दैनौं,’ उनले भने।  

पहिलेदेखि नै शरीरलाई दुःखसुखमा घुलमिल गराउँदै आएका ईः सशक्त भएर अनशनरत छन्। पहिलो अनशनको माग पूरा गर्छु भनेर सरकारले सम्झौता गरे पनि त्यसलाई बेवास्ता गरेपछि उनी फेरि अनशन बसे। यसपटकको अनशन उनले माग पूरा नभई नछाड्ने अडान लिएका छन्। अनशन बसेका युवालाई भेट्न मंगलबार कांग्रेसका नेता प्रकाशमान सिंह र नवीन्द्रराज जोशी वसन्तपुर पुगेका थिए।  

ईःसहितका युवाले पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, कन्ट्याक्ट ट्रेसिङ, चाँडो नतिजा, क्वारेन्टिन रणनीति सुधार, घर पठाउनुअघि परीक्षण गर्ने, कोभिड १९ को सन्दर्भमा सर्वोच्च अदालतबाट जारी भएका आदेशको कार्यान्वयन, विज्ञ सुझाव समिति गठन, स्वास्थ्य क्षमता वृद्धिलगायत माग राख्दै आइरहेका छन्। यी माग पूरा गर्न सरकारका कर्मचारीले लिखत हस्ताक्षर गरेका थिए। यसबाहेक अभियन्ताहरूले कोरोना महामारीको बेला स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै सरकारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आइतबार उजुरी हालेका छन्। अर्थसचिव, पूर्वस्वास्थ्य सचिव, अर्थमन्त्रीलगायतविरुद्ध आयोगमा उजुरी दिएका छन्। यसबाहेक गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध पनि उजुरी दिने तयारी भएको छ।  

प्रकाशित: १४ श्रावण २०७७ ०२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App