८ वैशाख २०८१ शनिबार
समाज

‘गीताको हत्या योजनाबद्ध’

पाटन अदालतको फैसला

रञ्जन कोइराला

तत्कालीन पुनरावेदन अदालत पाटनले सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाले पत्नी गीता ढकाललाई ‘योजनापूर्वक हत्या’ गरेको फैसला गरेको थियो। पुनरावेदन अदालतका तत्कालीन मुख्य न्यायाधीश डा. आनन्दमोहन भट्टराई र लेखनाथ भट्टराईको संयुक्त इजलासले प्रमाणको आधारमा तत्कालकै आवेश नभई योजनाबद्ध तरिकाले हत्या गरेको भेटिएको ठहर गरेको थियो। पुनरावेदन अदालतले श्रीमान्–श्रीमतीबीच लामो वैमनस्य रहेको समेत २०७२ मंसिर २३ मा ठहर गरेको थियो।

सर्वोच्च अदालतले आवेशप्रेरित (तत्कालै रिस उठेर मारिएको) भनेर सजाय घटाएपछि यो मुद्दा विवादित बन्यो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले ११ वर्ष सजाय घटाएपछि रञ्जन साउन ८ मा डिल्लीबजार जेलबाट छुटिसकेका छन्। यद्यपि सर्वोच्चमा पुनरवलोकनको अनुमति पाएपछि मुद्दा फेरि ब्युँतिएको छ।  

मारेको सबै प्रमाण भेटिएपछि दोषी ठहरिएका रञ्जनले अदालतसामु आफूले ‘हत्या नगरेको’ इन्कारी बयान दिएका थिए। हत्या हुनुअघि गीताले आफ्नो ज्यान जोखिममा परेको माइतीलाई जानकारी गराएकी थिइन्। २०६७ माघ ९ मा उनीमाथि भएको कुटपिटको घाउ जाँच गराइएको थियो। श्रीमान्ले आफूलाई कुट्ने तथा यातना दिने गरेको बेहोरा उल्लेख गर्दै गीताले प्रधानमन्त्री कार्यालय, राष्ट्रिय महिला आयोग, गृह मन्त्रालय र सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा मसेत उजुरी दिएकी थिइन्। रञ्जनले काठमाडौं जिल्ला अदालतमा अंश मुद्दा र गीताले मानाचामल मुद्दासमेत दर्ता गरेका थिए। गीताका उजुरीलाई बेवास्ता गरिँदा उनको ज्यान गएको थियो।  

गीतालाई २०६७ पुस ७ मा रञ्जनले कुटपिट गरेका थिए। कुटिएको ११ दिनपछि २०६७ पुस १८ मा गीताले उजुरी दिएकी थिइन्। उजुरीमा ‘तँलाई बेपत्ता पारिदिन्छु। म को हुँ चिनेकी छस्, तँलाई मारेर फाले पनि मलाई कानुन लाग्दैन भनी कुटपिटसमेत गरेको’ उल्लेख छ। त्यसै बेला कोइराला चीनबाट फर्किंदा अध्यागमनबाट राहदानीमा छाप नलगाई काठमाडौं भित्रिएका थिए।  

‘कोइरालाले घटनाको दिन बिहानै एक सय ३२ लिटर पेट्रोल जर्किनमा भर्न लगाएका थिए। पेट्रोल कसरी खर्च भयो वा गाडी सफा गर्न लाग्दा पेट्रोलको गन्ध किन आयो भन्ने प्रश्नहरुको तर्कसंगत जवाफ उनले दिन नसकेको’ पुनरावेदन अदालतको फैसलामा उल्लेख छ।  

‘कोइरालाले घटनाको दिन बिहानै एक सय ३२ लिटर पेट्रोल जर्किनमा भर्न लगाएका थिए। पेट्रोल लास जलाउन गाडीमा राखेको पाइएको छ। पेट्रोल कसरी खर्च भयो वा गाडी सफा गर्न लाग्दा पेट्रोलको गन्ध किन आयो भन्ने प्रश्नहरुको तर्कसंगत जवाफ उनले दिन नसकेको’ पुनरावेदन अदालतको फैसलामा उल्लेख छ।  

घटना हुने दिन बिहान सानो छोरा लिन आउँदा ‘रञ्जनले मलाई घुरी हे¥यो’ भनी गीताले सोही दिन आमालाई फोन गरेको हरिप्रियाको बकपत्र छ। हरिप्रिया गीताकी आमा हुन्।

पुनरावेदनको फैसलामा गीता हराएको १० दिनपछि (२०६८ माघ ७ मा) रञ्जन लास जलाएको ठाउँमा पुगेको उल्लेख छ। ‘मौजुद प्रमाणहरुको आधार हेर्दा गीताको मृत्युलाई तत्काल हात हालाहालको बीचमा घटेको सांयोगिक घटना भनी मान्न नमिली योजनापूर्वक गरिएको हत्या रहेछ भन्ने कुरा पुष्टि हुन आएको छ’, फैसलामा भनिएको छ, ‘कानुन कार्यान्वयन गर्ने निकायको उच्च अधिकारीबाट यस्ता वारदात घटेको र प्रतिवादीले घटनाको यथार्थ कुरा अदालतमा नगरी निर्दोषिताको जिकिर गरेको हुँदा आवेशप्रेरित घटना हुने मान्न मिल्दैन।’

‘हत्या गरी काठमाडौं बूढानीलकण्ठदेखि मकवानपुर टिस्टुङनजिक मेत्राङमा लगी जलाउन रञ्जन कोइरालाको प्रत्यक्ष संलग्नता देखिँदा सुरु फैसलालाई अन्यथा मान्नुपर्ने देखिएन’, फैसलामा भनिएको छ। यस मुद्दामा काठमाडौं जिल्ला अदालतले गरेको फैसलालाई नै पुनरावेदन अदालतले सदर गरेको थियो।

गीतालाई जलाइएपछिको अस्थिपन्जर हेटौंडा अस्पतालमा लगिएको र त्यहाँबाट त्रिवि शिक्षण अस्पताल पठाइएको थियो। मकवानपुरको मेत्राङमा पाइएका अस्थिपन्जर गीता ढकालकै रहेको हेटौंडा अस्पतालको रिपोर्ट र फरेन्सिक मेडिसिन विभाग महाराजगन्जको प्रतिवेदनमा मकवानपुर मेत्राङमा पाइएका अस्थिपन्जर गीता ढकालकै हुन् भन्ने द्विविधा गर्ने ठाउँ नदेखिएको अदालतको ठहर छ। ‘नेपालमा परीक्षण विधि भित्रिएको प्रारम्भका केही वर्षमा यसको प्रामाणिकता एवं आधिकारिकताबारे न्यायिक क्षेत्रमा केही अन्योल रहेको पाइए पनि सर्वोच्च अदालतका फैसलाले यसलाई स्वीकार गर्न थालेका छन्’ अदालतले भनेको छ।

रञ्जनले आफू पक्राउ पर्नुपूर्व २०६८ माघ ५ मा मानिस खोजी पाऊँ भनी प्रहरीमा निवेदनसमेत दिएका थिए।

प्रकाशित: १४ श्रावण २०७७ ०१:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App