३ असार २०८१ सोमबार
image/svg+xml
समाज

ताप्लेजुङबाट पनि सुरु भयो राष्ट्रिय परिचय पत्रको बिवरण संकलन

हिमाली जिल्ला ताप्लेजुङमा पनि मंगलवारबाट राष्ट्रिय परिचय पत्रको बिवरण संकलन गर्न सुरु गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यहाँको जिल्ला प्रशासन कार्यालयमै संकलन केन्द्र स्थापना गरेर राष्ट्रिय परिचय पत्रको बिवरण भर्न थालेको हो । केन्द्रले मंगलवार फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलको बिवरण संकलन गरी राष्ट्रिय परिचय पत्रको बिवरण संकलन सुरु गरेको राष्ट्रिय परिचय पत्र बिवरण संकलन अपरेटर बसन्त निरौलाले जानकारी दिए ।  

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले राष्ट्रिय परिचय पत्र नेपाली नागरिकको ऐतिहासिक र प्राय सबै बिवरण खुल्ने हाते पुस्तिका जस्तै भएकोले यसमा सबैलाई सहभागी हुन आह्वान गरेका छन् । उनका अनुसार नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिहरुले अब जिल्ला प्रशासन कार्यालयमै रहेको राष्ट्रिय परिचय पत्रको बिवरण संकलन केन्द्रमार्फत राष्ट्रिय परिचय पत्रका लागि दरखास्त दिनुपर्ने छ । ‘हिजो प्रशासन कार्यालयमै संकलन हुने फोटोसहितको मतदाता नामावली जस्तै अब राष्ट्रिय परिचय पत्र प्राप्तिका लागि प्रशासन कार्यालयमार्फत नै प्रकृया अघि बढ्ने छ’प्रजिअ निरौलाले भने । कोभिड–१९ का कारण भिडभाड र तामझाम नगरी राष्ट्रिय परिचय पत्रको बिवरण संकलन कार्यको आरम्भ गरिएको निरौलाले बताए ।

परिचय पत्र प्राप्त गर्नेले दरखास्त दिँदा आबेदकको व्यक्तिगत बिवरण, स्थायी र अस्थायी ठेगाना, धर्म, लिङ्ग, पेशा, शैक्षिक योग्यता, बैबाहिक स्थिति र नागरिकताको किसिम लगायतका बिबरण समेट्नु पर्ने हुन्छ । व्यक्तिगत बिवरण भित्र आबेदकको पहिलो नाम, बीचको नाम, जन्ममिति, नागरिकता प्रमाणपत्र नम्बर, जारी मिति, जारी जिल्ला र नागरिकताको किसिम उल्लेख गर्नुपर्ने छ । अस्थायी र स्थायी ठेगानामा सम्बन्धित प्रदेश, जिल्ला, स्थानीय तह, गाउँ–टोल र फोन तथा मोवाईल नम्बरको बिवरण रहने छ । 

दरखास्त फाराममा आबेदकले आफ्नो जस्तै हजुरबुबा–हजुरआमा,बाबु–आमा र पति भए पत्नीको र पत्नी भए पतिको व्यक्तिगत बिवरण भर्नुपर्ने हुन्छ । त्यसपछि आबेदकले आफुले भरेका सबै बिवरण ठीक भएको अवस्थामा ‘बिवरण ठीक छ,झुटा ठहरे कानुन बमोजिम सहुँला बुझाउँला’भनेर दायाँबाँया औंठाछाप गर्नुपर्ने छ । यो बिवरण भर्न आबेदकको हजुरबुबा–हजुरआमा,बाबु–आमा र पति भए पत्नीको र पत्नी भए पतिको नागरिकता अनिवार्य छ ।  

प्राप्त कागजातका आधारमा बिवरण भर्न केन्द्रमा तोकिएका राष्ट्रिय परिचय पत्र बिवरण संकलन अपरेटरले सघाउ गर्नेछन् । तयार भएको बिवरण ठीक भए/नभएको परीक्षणका लागि संकलन केन्द्रमा रुजु अधिकारी तोकिने छन् । प्रशासन कार्यालयमा सञ्चालित राष्ट्रिय परिचय पत्र बिवरण संकलन केन्द्रका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई रुजु अधिकारी तोकिएको प्रजिअ निरौलाले जानकारी दिए ।  

बिद्युत र इन्टरनेट सहितमा कुनैपनि बाधा नआए एउटा राष्ट्रिय परिचय पत्रको बिवरणलाई अन्तिम रुप दिन १५–२० मिनेट लाग्ने बिवरण संकलन अपरेटर निरौलाले जानकारी दिए । परिचय पत्रमा बिवरण मात्र भरिदैंन,बिवरणमा उल्लेखित सबै कागजातहरुलाई स्क्यानिङ गरेर पनि राखिन्छ । परिचय पत्रमा सबै बिवरण समाबेश भएपछि परिचय पत्र भर्न दरखास्त दिनेको फोटो, बिद्युतीय मेसिनबाट हातको दाँयाबाँया र आँखाको नानी भाग कैद गरेर त्यो पनि बिवरण भित्रै समाबेश गरिने बिवरण संकलन अपरेटर निरौलाले बताए ।‘यो एक हिसाबले व्यक्तिको तीनपुस्ते सबै बिवरण खुल्ने कागजात र आधारसहितको एउटा ठूलो दस्तावेज हो’राष्ट्रिय परिचय पत्रको महत्व दर्शाउँदै प्रजिअ निरौलाले भने । 

परिचय पत्र संकलनको सबै काम सकेपछि राहदानीको जस्तै परिचय पत्र आए/नआएको जानकारी मोवाईल म्यासेजबाट गराईन्छ । बिवरण जहाँबाट भरेपनि बिवरण भरेकै जिल्लाबाट मात्र यो परिचय पत्र पाउने व्यवस्था रहेको समेत प्रजिअ निरौलाले बताए ।

प्रकाशित: १३ श्रावण २०७७ १०:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App