लकडाउन खुलेसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको छ । असारको अन्तिम सातादेखि घट्दै गएको कोरोना संक्रमितको संख्या साउन छ गतेयता हरेक दिन बढिरहेको हो । लकडाउन खुलेयताका सात दिनमा कर्णालीमा कोरोना संक्रमितको संख्या एक सय ६१ पुगेको छ ।
‘लकडाउन खुकुलो भएसँगै भारतबाट आएकाहरूमा संक्रमण धेरै देखिएको छ,’ कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले भने, ‘समुदायस्तरमा पनि परीक्षण भइराखेकाले संक्रमितहरूको संख्या अझै बढ्ने अनुमान लगाउन सकिन्छ ।’
कर्णालीमा जेठ पाँच गते पहिलो संक्रमित दैलेखमा फेला परेका थिए । जेठ महिनामा मात्रै कर्णालीमा ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार असार महिनामा संक्रमणदर घटेको देखिन्छ । असारमा सात सय ५७ जनामा कोरोना संक्रमण देखिएको थियो ।
बन्दाबन्दी खुलेकै दिनदेखि भने कर्णालीमा कोरोना संक्रमितहरूको संख्या बढ्दै गएको छ । असार छ गते कर्णालीमा १२ जना कोरोना संक्रमितहरू फेला परेका थिए । असार सात गते कोरोना संक्रमितको संख्या बढेर २२ पुग्यो । दैलेखका १६ जना र कालिकोटका छ जनामा कोरोना संक्रमण देखियो । असार आठ गते थप ३० जनामा कोरोना संक्रमण देखियो । साउन ९ गते कर्णालीमा ११ जनामा मात्रै कोरोना संक्रमण देखिएपनि त्यसयता भने दिनदिनै संक्रमितको संख्या बढेको देखिन्छ ।
महाशाखाका अनुसार साउन १० गते सुर्खेतका ११, कालिकोटका तीन, दैलेख र अछामका दुई–दुई जना र हुम्लाका एक जना गरेर २७ जनामा कोरोना संक्रमण देखियो । साउन ११ गते दैलेखमा २५ र सुर्खेतमा तीन जना थपिए । साउन १२ गते दैलेखमा २८, सल्यानमा दुई र सुर्खेतमा एक जना कोरोना संक्रमित थपिए ।
सुरुमा कोरोना संक्रमित देखिएको दैलेख जिल्ला पछिल्लो समय फेरि कोरोनाको इपिसेन्टर बन्दै गएको देखिन्छ । दैलेखका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले पछिल्लो समय भारतबाट आउने सबै नागरिकहरूमा कोरोना संक्रमण देखिने गरेको बताए । ‘सात दिनमा फेला परेका ८७ जना कोरोना संक्रमित मध्ये अधिकांस भारतबाट आएकाहरू हुन्,’ उनले भने, ‘समुदायमा पनि कोरोना देखिन थालेको छ ।’ दैलेखका कोरोना फोकल पर्सन रेग्मीका अनुसार पछिल्लो समय देखिएका संक्रमितहरू लक्षणसहितका हुन् ।
‘यसअघि विना लक्षण देखिएकाहरूमा पनि कोरोना संक्रमण देखिएको थियो,’ उनले भने, ‘बन्दाबन्दी खुलेयता भारतबाट आएकाहरूमा विभिन्न लक्षणहरू पनि देखिएका छन् ।’ रोजगारीका लागि भारत गएकाहरू नेपालमा लकडाउन खुकुलो भएसँगै फर्किन थालेका छन् । दैलेखमा मात्रै दैनिक २० देखि २५ जनासम्म भारतबाट आउने गरेका छन् ।
कर्णालीमा हाल चार स्थानबाट कोरोना परीक्षण गर्ने गरिएको छ । सामाजिक विकास मन्त्रालयले कोरोना परीक्षणलाई समुदायस्तरमा पु¥याउने गरेर कार्ययोजना बनाइरहेको छ । स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. तिवारीका अनुसार तीन चरणमा समुदायमा पुगेर कोरोना परीक्षण गर्ने तयारी मन्त्रालयले थालेको छ । ‘पहिलो चरणमा साविकका कर्णालीका पाँच जिल्ला (कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा) मा समुदायस्तरमा कोरोना परीक्षण सुरु गछौं,’ उनले भने, ‘दोस्रो चरणमा जाजरकोट, रुकुम र सल्यानमा परीक्षण गर्ने तयारी भइरहेको छ ।’ सुर्खेत र दैलेख सुरुदेखिनै रेड जोनमा भएका कारण सय जिल्लामा अन्तिममा मात्रै समुदायस्तरमा परीक्षण गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
पछिल्लो सात दिनमा फेला परेका कोरोना संक्रमित
साउन ६ गते –१२ जना
साउन ७ गते –२२ जना
साउन ८ गते –३० जना
साउन ९ गते –११ जना
साउन १० गते –२७ जना
साउन ११ गते –२८ जना
साउन १२ गते –२२ जना
स्रोत– सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश
प्रकाशित: १२ श्रावण २०७७ ११:३७ सोमबार