न मल छ नत बिरुवा उम्रनलाई माटो नै । त्यही ढुंगाको काँप फोडेर पनि पीपल उम्रन्छ । यसको मतलब प्रतिभा महलमा मात्र होइन झुपडीभित्र पनि जन्मिन्छ भन्ने यसले पाठ सिकाउँछ । यसको उदाहरण दैलेख तल्लो डुंगेश्वर घर भइ हाल सुर्खेतको वीरेन्द्रनगरस्थित साझा घरमा बस्ने रवीन्द्र वादी हुन् ।
स्वरको मिठासले उनी सबैलाई मन्दमुक्त गराउँछन् । झुपडीमा फक्रिएको यो स्वर अवसर पाउनबाट वञ्चित छ । स्वर तिखार्न उनले कक्षासमेत लिएका छैनन् । उनीसँग जन्मजात नै मिठास स्वर छ । यही प्रतिभा उनका लागि जीवन जिउने आधार मात्र होइन कलालाई संरक्षण गर्ने हतियार हुन् सक्छ । तर बिडम्वना उनीसँग यसका लागि कसको सहयोग पाउन ? चारजनाको परिवार छ, जसलाई कलिलो काँधमा बोकेका छन् । रोजगारी खोज्न भारत पुगेका बुवा मिनको भारतमै मृत्यु भयो । आमा पनि साझा घरमा बस्दै आएकी थिइन् तर केही समयदेखि छोराछोरीलाई छाडेर निस्केकी छिन् ।
घर र परिवारविहीन भएको उनी, उनका भाई र बहिनी साझा घरमा आएर साहारा लिइरहेका छन् । ‘पारिवारिक खुसी आफ्नो ठाउँमा छ,’ रवीन्द्र भन्छन्, ‘जेजस्तो भए पनि खान र बस्नलाई यो उमेरमा चिन्ता छैन ।’ तर भोलि कस्तो हुने र भाई बहिनीलाई कस्तो बनाउने भन्नेसमेत उनलाई यो उमेरमा चिन्ता छैन । उनको प्रतिभात्यहिँ साझा घरमै सीमित भएको छ । जो जान्छ उसलाई गीत सुनाउँछन् अनि मन आनन्दित तुल्याउँछन् ।
मर्नु छ एक दिन
सधैं बाँचिरहेने को छ
कोही गरिब हुन सक्छ
कोही धनी हुन सक्छ
गरिब हुँ भन्दैमा रुनु पर्दैन
धनी हुँ भन्दैमा धेरै खुसी हुनु पर्दैन
मर्नु छ एक दिन
सधैं बाँचिरहेने हो छ
दुःख पायौं भन्दैमा आत्तिनु पर्दैन
सुःख पायौं भन्दैमा धेरै मात्तिनु पर्दैन
कोही महलमा बस्न सक्छ
कोही झुपडीमा बस्न सक्छ
मर्नु छ एक दिन
सधैं बाँचिरहेने हो छ
उनी गरिब त छन् नै तर यो दुखीमा रुँदैनन् । जीवनमा कहिलेकसो आउने सानासाना खुसीमा पनि उनी मात्तिँदैनन् । भाई र बहिनीलाई पनि उनले आफूसँगै गीत गाउन सिकाउँछन् । ‘मलाई आत्मविश्वास छ की म स्टुडियो पाएँ भने राम्रो गाउँछु,’ उनले भने, ‘तर अवसर नै पाएको छैन ।’ भविष्यमा राम्रो गीतकार हुने उनको उद्देश्य छ तर उनी आफ्नो प्रतिभा देखाउन साझा घरबाट बाहिर निस्कन जरुरी छ । उनलाई कसैले संरक्षण गरेर गीत संगीत सिकाए उनको प्रतिभाको उच्च कदरसँगै ठूलो सहयोग मिल्ने देखिन्छ ।
प्रकाशित: १२ श्रावण २०७७ ०९:५० सोमबार





