१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भारतबाट आएकैबाटै उपत्यकामा जोखिम

एकै परिवारका पाँचजनामा कोरोना

भारतको विहारबाट आएका एकै परिवारका पाँचजनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शुक्रराज परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो। अस्पतालका अनुसार भारतबाट आएकी एक महिलामा बिहीबार कोरोना पुष्टि भएको थियो। 

कन्ट्याक्ट टे«सिङ गर्ने क्रममा शुक्रबार परिवारका अरु सदस्यको परीक्षण गर्दा सबैमा संक्रमण पुष्टि भएको हो। परिवारका दम्पती, छोरा–छोरी र नातिनीमा संक्रमण पुष्टि भएको टेकु अस्पतालका एक चिकित्सकले जानकारी दिए। अस्पतालका अनुसार उनीहरु काठमाडौंको महाबौद्ध क्षेत्रमा बसोवास गर्दै आएका छन्।  

उनीहरु महाबौद्धमै पसल गर्नेहरु रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा सर्भिलेन्स शाखाका जनस्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीले बताए। उनीहरुको सम्पर्कमा पुगेका अन्य व्यक्ति खोज्ने काम भइरहेको अधिकारीले जानकारी दिए।

चिकित्सकका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक चारदेखि १० जनामा कोरोना पुष्टि भइरहेको छ। उनीहरुमध्ये धेरैजसो भारतको विहार र केही नेपालकै तराईबाट आएका हुन्। लकडाउन खुकुलो भएपछि उनीहरु विभिन्न माध्यमबाट काठमाडौं भित्रिएका हुन्। सरकारले संक्रमितको संख्या घटेपछि लकडाउन खोलेको थियो। नेपालमा संक्रमणदर घटेपनि भारतमा बढिरहेकाले त्यसको प्रभाव नेपालमा पर्ने चिकित्सकहरु बताउँछन्। ‘पछिल्लो समय भारतबाट आउनेमा बढी संक्रमण पुष्टि भएको छ, उनीहरु हवाई र स्थलमार्ग भएर आएको देखिन्छ’, राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले आइतबार नागरिकसित भने। पाण्डेका अनुसार भारतबाट हालै पाँच हजारजति मानिस नेपाल छिरेका छन्।  

भारतको विहारमा स्थायी घर भई काठमाडौंमा मार्बल बिछ्याउने, कपाल काट्ने, फर्निचर घर निर्माण र व्यापारमा संलग्न भारतीय राजधानीमा लाखौेंको संख्यामा छन्। लकडाउनअघि र सुरु भएपछि पनि घर फर्केका उनीहरु फेरि काठमाडौं भित्रिने क्रम सुरु भएको छ। यसै कारण संक्रमण दिनहुँ बढिरहेको चिकित्सकले औंल्याएका छन्।

चिकित्सकका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक चारदेखि १० जनामा कोरोना पुष्टि भइरहेको छ। उनीहरुमध्ये धेरैजसो भारतको विहार र केही नेपालकै तराईबाट आएका हुन्।

भारतबाट आउनेहरु अनुमति लिएर आउने हुनाले उनीहरुलाई रोक्न नसकिने र कतिपय लुकिछिपीसमेत आउने गरेको कोभिड १९  संकट व्यवस्थापनका महेन्द्र श्रेष्ठले बताए। यसरी भित्रिने सबैको परीक्षण गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई पत्र पठाएको उनले जानकारी दिए।

भारतबाट तराईमा आवतजावत हुने र तराईबाट काठमाडौंमा आवतजावतको चक्र रहेकाले भारतमा कोरोना नियन्त्रण नभएसम्म नेपालमा नियन्त्रण चुनौतीपूर्ण रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुनले बताए। ‘भारतमा कोरोना बढिरहेको छ, त्यहींबाट तराई र सीधै काठमाडौं आउने क्रम चलिरहेको छ, त्यसैले नियन्त्रण चुनौतीपूर्ण छ’, उनले भने।

चिकित्सकका अनुसार सरकारले पुरानै मापदण्डअनुसार परीक्षण गर्दा जोखिमयुक्त ठाउँबाट आएका धेरै जनाको परीक्षण हुन नसकेको स्थिति छ। जोखिमयुक्त स्थानबाट आएका सबैको छिटो परीक्षणको व्यवस्था भएमा उपत्यकालाई जोखिमबाट बचाउन सकिने चिकित्सकको सुझाव छ। सकेसम्म घरबाहिर ननस्किने र कसैलाई भेट्नै परेमा माक्स लगाएर मात्र भेटेमा संक्रमणबाट बच्न सकिने उनीहरु बताउँछन्।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्थल तथा हवाईमार्गबाट आउने सबैको परीक्षण गर्ने व्यवस्था भएको छ। मन्त्रालयले हवाई तथा स्थलमार्गबाट नेपाल फर्किनेलाई अनिवार्य रुपमा १४ दिन होम तथा समुदायको क्वारेन्टिनमा बसी नियम पालना गर्न अनुरोध गरेको छ।  

थप १३० मा कोरोना पुष्टि  

गत २४ घण्टामा थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो परीक्षण भएका कुल ३ हजार ३ सय नमुनामध्ये ३.९ प्रतिशत हो। नयाँ संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या १८ हजार ६ सय १३ पुगेको छ। आइतबार सबैभन्दा बढी दैलेखमा २४ जना, मोरङमा २३ जना र अछाममा १४ जना संक्रमित भेटिएका छन्। त्यसैगरी काठमाडांै उपत्यकामा ८ जनामा कोरोना पुष्टि भएको छ।

हालसम्म ४५ जना संक्रमितको मृत्यु भएको छ भने १३ हजार १ सय २८ जना निको भएका छन्। गत २४ घण्टामा थप ७५ जना निको भएर फर्केका छन्।  हाल देशभरिमा ५ हजार ४ सय ४० जना संक्रमित उपचाररत छन् भने क्वारेन्टिनमा १७ हजार ९ सय ३ जना छन्। हालसम्म ३ लाख ४२ हजार ४ सय ५७ वटा नमुना परीक्षण भएको छ।

प्रकाशित: १२ श्रावण २०७७ ०१:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App