१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाढिपहिरोको जोखिममा रहेका ७१ घर स्थानान्तरण

सदरमुकाम धादिङबेसी नजिकैको सांकोषमा गएको पहिरो ।

अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण जिल्लाका सयौँ घर परिवार जोखिममा परेका छन् । जिल्ला सदरमुकाम आसपासका क्षेत्र, राजमार्ग र उत्तरी भेगका विस्थापित परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । जिल्ला विपद व्यवस्थापन समितिको संयोजक एवम् प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार जिल्लाका विभिन्न स्थानमा बाढी–पहिरोका कारण जोखिममा परेका ७१ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताए । ‘विपद्को तयारीमा जुटिरहेका बेला बाढीपहिरो जस्ता दुखद् घटना घट्यो’, उनले भने, ‘पीडितको उद्धारसँगै राहत र स्थानान्तरण समेत गरेका छौँ ।’

बाढीपहिरोका कारण जोखिममा परेकामध्ये गल्छी–७ भल्टारका ५ घर विस्थापित हुदा छिमेकीको घरमा बसेका छन् । गजुरी गाउँपालिका–२ सुन्दरगाउँमा ९ घर गजुरीको सिटिभिटीमा, सिद्धलेक–७ मरेडाँडाका १९ घर कुण्डेश्वर मा.वि मा, त्रिपुरासुन्दरी गाउँपालिका गोलाङमा ३ घर महादेव मन्दिरमा, नीलकण्ठ नगरपालिका–१४ देउराली गाउँका २ घर छिमेकीको घरमा वसोवास गरेका छन् । त्यसैगरी वेनिघाट रोराङ–३ आपखर्कका २० घर सत्यदेवी बिद्यालयमा, सिद्धलेक गाउँपालिका–७ भैँसेका ७ घर जमुना डाँडामा त्रिपाल राखि वसेको, वेनिघाट–१० जवाङखोलाका १ घर छिमेकीको घरमा वसेको र वेनिघाट रोराङकै अन्य ५ घर भने आफन्तको घरमा बस्दै आएका छन् ।

बाढी पहिरोमा परि धादिङमा पाँचजनाको मृत्यु भएको छ । पहिरोले १४ वटा घरमा पूर्ण रुपमा क्षति पुर्‍याएको छ । २ वटा गोठ, ५ वटा साना छाप्रोमा समेत क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । यस्तै धादिङमा बाढी र पहिरोले १ सय २० घरपरिवार विस्थापित नै भएका छन् । विस्थापित मध्ये ७१ जनालाई  जिल्ला विपद व्यवस्थापन समितिको सहयोगमा विभिन्न ठाउमा स्थानान्तरण गरि राखिएको प्रहरीले जानकारी दिएको छ ।  

साउन ४ गतेदेखि परेको अविरल बर्षाको कारण धादिङमा ठुलो जन धनको क्षति भएको छ । वर्षाका कारण राजमार्ग क्षेत्रको १६ स्थानमा ठूला पहिरो गएको छ । चालिसे, चरौँदी, गलौँदी, जहरेखेत, वेल्खु, फुर्केखोला, सोतीखोला, वाँदरमोड, जवाङ खोला, वेनिघाट, मौवाखोला, खयर घारी, वादँरे भिर लगायतको स्थानमा पहिरो खसेको छ । केही स्थानमा सडक सफा गरेर एकतर्फी रुपमा यातायात सुचारु गरिएको छ । ठूला पहिरो गएको ठाउँमा अझै पनि जोखिम कायमै छ । वर्षाको कारण भासिएको चितवन र धादिङको सिमाना जोड्ने मौवाखोलाको पुल मर्मतपछि सूचारु भएको छ ।  

बाढि पहिरोबाट बिस्थापित भएकाहरुलाई राहत, उद्धार र घाईतेको उपचार सहयोगका लागि तीनै तहको सरकारबाट समन्वय भईरहेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । बर्षादले ग्रामीण क्षेत्रका सडकहरु भासिएका छन् । धादिङबेसी सुनौलाबजार खण्डमा सडकका दर्जनबढी ठाउँमा पहिरो गएको छ भने सडक भासिएको छ । त्यस्तै धादिङबेसी सांकोष तिप्लिङ सडकखण्ड, आदामघाट–किरान्चोक सडकखण्ड लगायतका सडक अवरुद्ध भएका छन् ।

प्रकाशित: ११ श्रावण २०७७ ११:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App