coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बन्दाबन्दीका बेला दुर्घटनामा कमी, घट्यो ज्यान गुमाउनेको सङ्ख्या

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नपाओस् भनी सरकारले देशभर लगाएको चार महिना लामो बन्दाबन्दीका बेला चितवनमा सवारी दुर्घटनामा कमी आएको छ । जिल्लामा दुर्घटनाको सङ्ख्या घटेपछि दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पनि घटेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको तथ्याङ्क अनुसार २०७६ चैतदेखि २०७७ असार मसान्तभित्र भएका ५० वटा सवारी दुर्घटनामा १४ जनाले ज्यान गुमाएका छन् । २०७५ चैतदेखि २०७६ असार मसान्तसम्म ८९ वटा सवारी दुर्घटनामा ३६ जनाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०७६/७७ मा जिल्लाभित्र कुल दुई सय ६१ वटा दुर्घटना हुँदा एक सय सात जनाले ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा दुई सय ९५ दुर्घटनामा एक सय ४६ जनाले ज्यान गुमाएका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्ट बन्दाबन्दीका बेला सडकमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अन्य अत्यावश्यकबाहेकका सवारी साधन नगुडेको कारण दुर्घटना र दुर्घटनाबाट हुने मृत्युमा कमी आएको बताउँछन् । बन्दाबन्दीले गर्दा सवारी कारबाही र राजस्व सङ्कलन समेत प्रभावित भएको उनले जानकारी दिए ।

राजस्व सङ्कलन प्रभावित
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा चितवन जिल्लामा सवारी कारबाही सङ्ख्या र सङ्कलित राजस्व रकम घटेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा ३० हजार आठ सय ५९ जना सवारी चालकलाई कारबाही गर्दा दुई करोड ३१ लाख ४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्षमा ४० हजार २९ जना सवारी चालकलाई कारबाही गर्दा तीन करोड, सात लाख ६६ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ७६ लाख ६२ हजार पाँच सय रुपैयाँ कम राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको अन्तिम चौमासिकमा चार हजार दुई सय ९८ सवारी कारबाहीबाट ३३ लाख २३ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्षको अन्तिम चौमासिकमा १३ हजार ६ सय ७९ सवारी कारबाहीबाट एक करोड नौ लाख ९० हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

प्रकाशित: १० श्रावण २०७७ ०७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App