५ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

यार्तुङमा रमाउँदै मनाङ

मनाङ गाउँमा यार्तुङको क्रममा घोडादौड । तस्बिर सौजन्यः बिनोद गुरुङ

कोरोना भाईरस संक्रमणका कारण चारमहिने लकडाउन खुलेको केहिदिन मात्र भएको छ। लकडाउन खुलेपनि दैनिकी भने अझैसम्म पहिलेकै अवस्थामा फर्किन सकेको छैन। तर, हिमाली जिल्ला मनाङको माथिल्लो क्षेत्रका बासिन्दा भने कोरोना महामारीका बीच पनि परम्परा जोगाउन अघिल्ला वर्ष झैं लागिपरेका छन्।

हरेक वर्ष एकै समयमा त्यहाँका बासिन्दाले यार्तुङ पर्व मनाउँछन्। यार्तुङको सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै घोडादौड हो, जुन त्यहाँका बासिन्दाले वर्षाै अघिदेखि नियमित रुपमा पर्वको रुपमा मनाउँदै निरन्तरता दिईरहेका छन्। यार्तुङ तिब्बतीयन शब्द हो। तिब्बती भाषामा ‘यार’ को अर्थ ‘वर्खा’ र ‘तुङ’को अर्थ ‘मेला’ हुन्छ । वर्खामा मनाईने मेलाको रुपमा यसलाई मनाउँदै आईएको स्थानीयले बताएका छन् । ।  

मनाङको माथिल्लो क्षेत्र ङिस्याङ गाउँपालिकाको ४, ६, ७, ८ वडामा यो पर्व मनाउन थालिएको छ । शुक्रबारदेखि सुरु भएको यो मेला चारदिनसम्म मनाइने गाउँपालिका अध्यक्ष कान्छा घले बताउँछन् । ‘शुक्रबारदेखि यार्तुङ सुरु भएको हो । यो पटक चारदिनसम्म मेला चल्नेछ,’ उनले भने, ‘कहिलेकाँही सातदिनसम्म पनि चल्छ ।’ उनका अनुसार तिब्बती पात्रो अनुसार हरेक वर्ष एकैदिन यार्तुङ सुरु हुन्छ । अन्त्य हुने दिन भने तिथि अनुसार फरक पर्न सक्ने उनले बताए । तिब्बती पात्रो अनुसार एकै समयमा सुरु हुने यार्तुङ नेपाली पात्रोसँग नमिल्दा वर्षेनी हुने यो गतिविधिको दिन तोक्न नसकिने उनले बताए ।  

हिमाली जिल्ला मनाङसँगै मुस्ताङ, गोरखाको माथिल्लो क्षेत्र चुमनुब्री र डोल्पामा समेत यार्तुङ मनाउने चलन रहेको छ । यार्तुङको सबैभन्दा बढी रोचक पक्ष नै घोडचढीसँगै देखाइने कलाकौशल रहेको उनले बताए । ‘घोडादौड देखि विभिन्न कलाकौशल यसमा देख्न सकिन्छ,’ उनले भने, ‘अरुतिर घोडा नै देख्न छाडियो, तर, हिमाली जिल्लामा भने यार्तुङकै लागि भनेर पनि घोडा पाल्ने चल्ने चलन कायमै छ ।’

कतिपय हिमाली भेगमा यो पर्व मनाउने क्रममा घोडादौड सहित विभिन्न रोमाञ्चक खेल प्रतिश्पर्धा हुने गर्छ । त, मनाङमा भने घौडा मात्र दौडाउने उनले बताए । त्यसबाहेक गुम्बामा पुजा गर्ने, सामुहिक रुपमा गीतगाउने, नाचगान गर्ने पनि चलन रहेको उनले बताए । ‘बालिनाली लगाएपछि केही समय फुर्सदिलो भइन्छ । त्यही समयलाई यहाँ सदुपयोग गरिएको छ,’ उनले भने । यो बेला यार्तुङ चलिरहेको मनाङको माथिल्लो भेग पर्यटकीय क्षेत्र हो । साहसिक अन्नपूर्ण फेरोको पदयात्रामा रहेका विदेशी पर्यटक यो सिजनमा त्यहाँ पुग्दा यार्तुङसँग रमाउन पाउने भएपनि योपटक भने कोरोनाका कारण पर्यटकविहीन भएको अध्यक्ष घलेले बताए ।

मनाङका अगुवा पर्यटन व्यावसायी बिनोद गुरुङका अनुसार यार्तुङ मनाउँदाका दिन हरेक दिन दिउँसो ३ बजेदेखि बेलुकी साढे ६ बजेसम्म विभिन्न गतिविधि हुने गर्छन । माथिल्लो मनाङको तीनधारामा गाउँले भेला हुन्छन, अनि गीत गाउँदै तलको फाँटमा पुग्छन र घोडा कुदाउन थाल्छन् । घोडा कुदाएर सकिएपछि फेरि गाउँले भेला भएर गाउँ फर्किन्छन र गीत गाउन थाल्छन । गीत गाउने र घोडा दौडाउने बाहेक एकदिन गुम्बा जाने उनीहरुको चलन छ । गाउँमा भेला भएका बासिन्दा भोजौ गुम्बामा पुगेर बत्ती बाल्ने र नाचगान गर्ने चलन रहेको उनले बताए ।

‘गीत गाउने, नाचगान गर्ने, घोडा दौडाउने, गुम्बामा पूजा गर्ने नै यार्तुङमा हुने गतिविधि हुन,’ गुरुङले भने, ‘परापूर्वकालदेखि चल्दै आएको परम्परा अहिलेसम्म धानिएको छ । खेतीबालि लगाएर फुर्सदिलो भएपछि यो पर्व मनाउने गरिएको थियो । अहिले पनि उस्तै गरि मनाइन्छ ।’ तिब्बतीयत पात्रो अनुसार तीनदेखि सातदिनसम्म यो पर्व मनाउने उनले बताए । मनाङको गाउँमा बाहेक अन्यत्र पनि यार्तुङ मनाउने चलन छ । माथिल्लो मनाङपछि खाङसार, हुम्दे, ङावल लगायतका गाउँमा पनि यार्तुङ मनाइन्छ ।  

वर्षाैदेखि यार्तुङ मनाउँदै आएका स्थानीयबासिले अहिले घरघरमा घोडा पाल्ने कामलाई पनि प्राथमिकता दिएका छन् । घोडाकै अभावमा यार्तुङ प्रभावित भएपछि गाउँलेले ५५ वर्षसम्मका पुरुषले अनिवार्य घोडा चढनुपर्ने नियम बनाएर गाउँलेलाई घोडा पाल्न बाध्यकारी बनाइएको थियो । त्यसकै फलस्वरुप अहिले गाउँमा घोडाको संख्या पनि थपिएका छन् । यतिसम्मकी यार्तुङमा हुने गतिविधिमा घोडाको संख्या घटेर २५–३० वटामा झरेपछि गाउँले घोडा पाल्न अनिवार्य गरेको थियो ।

अहिले गाउँमा घोडाको संख्या एकसय हाराहारीमा पुगिसकेको छ । यो वर्षको यार्तुङको पहिलो दिन शुक्रबार ७५ वटा घोडा सहभागि गराइएकोमा शनिबार करिब एकसय घोडा सहभागि हुने गुरुङले बताए । ‘यार्तुङको महत्व नै घोडाबाट झल्किन्छ । तर, घोडा पाल्ने चलन हराउँदै गएपछि गाउँले नै घोडा पाल्न अनिवार्य गरेको थियो । ‘अहिले एउटै घरमा तीनवटासम्म घोडा छन,’ उनले भने, ‘हरेक घरमा कम्तिमा एउटा घोडा छ ।’  

कोरोना संक्रमणका कारण यो पटक यार्तुङका एकजना पनि विदेशी पाहुना छैनन । नत्र यो बेला मनाङ उक्लेका विदेशी यार्तुङमा रमाउन केहीदिन बसाई अवधि बढाउने गरेका थिए । कोरोनाका कारण विदेशी नभएपछि पोखरा, काठमाडौं बस्दै आएका गाउँका युवायुवती सहित सदरमुकाम चामेबाट स्थानीयहरु मनाङ उक्लेर यार्तुङमा रमिरहेको उनले बताए । ‘यो पटक विदेशी पाहुना कोही भएनन । तर घरबाहिर रहेका गाउँका युवायुवती अहिले घर फर्केका छन,’ उनले भने, ‘गाउँमा अहिले रमाईलो छ । गाउँ फर्केका युवायुवतीका कारण चहलपहल बढेको छ ।’ विदेशी आउँदा अघिल्ला वर्ष यार्तुङ झनै बढी रोमाञ्चक हुने गरेको उनले बताए । ‘परम्परा धान्दै पर्यटन क्षेत्र फस्टाउनका लागि यार्तुङले सघाएको थियो,’ उनले भने ।

प्रकाशित: १० श्रावण २०७७ ०७:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App