६ पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा आवश्यक भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मुख्यमन्त्री कार्यालयसहित अन्य नौ वटा मन्त्रालयका कार्यालय भवन निर्माण भइरहेका छन् ।  

प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन एकाइ कार्यालय दाङका सूचना अधिकारी इञ्जिनियर प्रदीप भट्टराईले भौतिक संरचना निर्माण गरी रङ्गरोगनसहित पहिलो चरणका काम सम्पन्न भएका बताए । “पहिलो चरणमा भौतिक संरचना निर्माण तथा रङ्गरोगनका काम सकिएका छन् । अब अन्तिम चरणका काम बाँकी छन्”, उनले भने, “त्यसबाहेक भवन आसपासमा सडक विस्तार, ढल निकास, नाली, फुटपाथ, सडकबत्ती जडानका काम भइरहेका छन् ।”

यहाँ विसं २०७९ फागुन ३ गते भवन निर्माणका लागि सिलान्यास गरिएको थियो । आगामी वर्षको पुसमा निर्माण सक्ने सम्झौता भए पनि त्यसअघि नै सक्ने गरी काम भइरहेको भट्टराईले बताए । उनका अनुसार भ्याटबाहेक तीन अर्ब नौ करोड एक लाख २९ हजार रुपैयाँमा शर्मा सगुन जेभी काठमाडौंले निर्माणको काम गरिरहेको छ ।  विसं २०७७ असोज २० गते बुटवलमा बसेको प्रदेशसभा बैठकले देउखुरीलाई स्थायी राजधानी तोकेको थियो । दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं १, २ र ३ तथा अर्घाखाँचीको सितगङ्गा नगरपालिका वडा नं ८ र ९  लाई केन्द्र मानेर स्थायी राजधानी तोकिएको थियो ।  

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको पालामा स्थायी राजधानी यहाँ तोकिए पनि लामो समयसम्म बुटवलबाटै कामकाज भयो । मुख्यमन्त्रीमा कुलप्रसाद केसी आएपछि भने विसं २०७९ मङ्सिर १९ मा राप्ती गाउँपालिका–३ लालमटियामा रहेको राप्ती प्राविधिक शिक्षालयको भवनमा मुख्यमन्त्री कार्यालय सारेर कार्यसञ्चालन गरिएको थियो ।

त्यसपछि यहाँ प्रदेशसभा भवन निर्माण कार्यले तीव्रता पायो भने मन्त्रालयका संरचनाका काम अघि बढे । “सुरुआतमा हामीले केही मन्त्रालय भाडाका भवनमा र केही वडा कार्यालयबाट सञ्चालन ग¥यौँ । त्यसपछि लगतै मन्त्रालय निर्माणको काम अघि बढायौँ”, पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले भने।  

राप्ती गाउँपालिका–३ लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा स्थान्तरण गरिएपछि मात्रै यहाँ नयाँ संरचना निर्माणको काम अघि बढेको हो ।  

हाल शिक्षालयका भवनलाई व्यवस्थापन गरी मुख्यमन्त्री कार्यालयसहित मन्त्रालयको व्यवस्थापन गरिएको छ । ११ मध्ये केही मन्त्रालय कार्यालय परिसरभन्दा बाहिर छन् । उद्योग, पर्यटन तथा यातायात मन्त्रालय राप्ती गाउँपालिकाको कार्यालय भवनमा छ भने कृषि, भूमि तथा सहकारी मन्त्रालय राप्ती गाउँपालिका–१ को कार्यालय भालुवाङमा छ । यस्तै स्वास्थ्य मन्त्रालय सिसहनियास्थित वडा कार्यालय भवनबाट सञ्चालन भइरहेको छ । -रासस  

प्रकाशित: ५ पुस २०८१ २०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App