१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

११ दिनमै भत्किए विद्यालयको टेवा पर्खाल

बनेको केही समयपछि नै भत्किएको जयसरस्वती प्राबिको टेवा पर्खाल । तस्बिर सौजन्य : रोहित राई

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मास्थित जयसरस्वती प्राबिको टेवा पर्खाल निर्माण गरेको ११ दिन नबित्दै भत्किएको छ । प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको १० लाख बजेटमा निर्माण गरिएको जालीसहितका र जालीबिनाका तीन वटा टेवा पर्खालमध्ये एउटा पर्खाल वर्षाका कारण भत्किएको हो । वर्षाका कारण जालीबिनाका एउटा टेवा पर्खालको २÷३ मिटर खण्ड भत्किएको जयसरस्वती प्राबिका निमित्त प्रअ निर्मला थापाले बताइन् । वर्षापछि साउन ५ गते भत्किएको पर्खाल विद्यालयको भवनको कुलेसोमा थुप्रिएको छ ।

विद्यालयको टेवा पर्खालको काम सम्पन्न नहुँदै अर्कै ठाउँको तस्बिर देखाएर फर्छ्यौट गर्न जाँदा तत्कालिन प्रअ रत्नकुमार बस्नेतलाई गाउँपालिकाले असार २८ गते पदबाट हटाइसकेको छ । योजनाको काम पूर्णरुपमा सम्पन्न नहुँदै असम्बन्धित योजनाको तस्बिर राखेर फर्छ्यौटमा गएको खुलेपछि बस्नेत प्रअबाट हटाइएपछि व्यवस्थापन समितिले निमित्त प्रअ बनाएका थापाले असार २९ गते योजनाको फरफारक गरेको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।  

योजना फर्छ्यौटका लागि असार २२ गते गाउँपालिका पुगे पनि ओख्रेको आरुबोटे–लहरेपैयूँ–बार्लाङ–रिभु–एक्लेबर–डाँडाखर्क काहुले–मलबासे हुँदै सिमलडाँडा–जमुनेढुंगा–धिप्लुङ झरना जोड्ने सडकको तार जाली हालेको तस्बिर पेश गरेको र काम पुरा नभएको भन्दै गाउँपालिकाले ‘एक्सन’ लिएपछि असार २५ गते पर्खालमा माटो फिलिङका काम पुरा गरिएको थियो । आर्थिक वर्ष २०७६/०७७ विनियोजित बजेटबाट बनाइएको पर्खाल ‘प्राविधिक कमजोरीका कारण वा कम गुणस्तर’का कारण भत्किए भन्ने खुलेको छैन ।

टेवा पर्खाल बनाउन बिव्यास अग्रसर
यसैबीच, जयरसस्वती प्रावि टेम्माको व्यवस्थापन समितिको बैठकले भत्किएको टेवा पर्खाल तत्काल मर्मत गर्ने निर्णय लिएको छ । पर्खाल भत्किएको केही दिनपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतप्रसाद राईको सभापतित्वमा बिहीबार बसेको अभिभावकको बैठकले ४० हजारमा पर्खाल मर्मतको जिम्मा दिने निर्णय गरेको हो । भत्किएको पर्खाल मर्मतका लागि स्थानीय धिराज राईले १५ हजार र १७ बोरा सिमेन्ट उपलब्ध गराउने भएपछि विद्यालयको २५ हजार रकम खर्च गरेर पर्खाल मर्मत गर्ने तयारी गरिएको निमित्त प्रअ थापाले बताइन् । 

विव्यासको बैठकले टेम्मा ज्यामिरेका जीतबहादुर राईलाई साउनभित्र पर्खाल मर्मतका काम सम्पन्न गर्नेगरी जिम्मा दिएको छ । शिक्षक अभिभावक संघका सुवास खत्री समेतको उपस्थितिमा उनलाई भत्किएको पर्खाल उठाउने, माटो फिलिङ गर्नेदेखि सबै पर्खालको पानी कटाउने लगायतका जिम्मेवारी दिइएको अभिभावकले बताएका छन् ।

प्रकाशित: ९ श्रावण २०७७ ०६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App