१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आन्तरिक पाहुनाको पर्खाइमा पोखरा

पोखरा सराङकोट घुम्न पुगेका आन्तरिक पाहुना । फाइल तस्बिरः उमेश पुन/नागरिक

कोरोना भाईरस संक्रमणले थलिनुअघि पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पाहुनाको हिस्सा औसतमा ५० प्रतिशत पुगिसकेको थियो । कुनै महिना त आन्तरिक पाहुनाको आगमन बढ्दा ७० प्रतिशतसम्म उकासिन्थ्यो । बाह्रैमास आन्तरिक पाहुना घुम्न आउन थालेपछि यहाँका पर्यटन व्यवसायीले ‘अफसिजन’ पनि भुल्न थालेका थिए । आन्तरिक पाहुनाकै कारण लाभ मिलेको व्यवसायीले बताउँदै आएका थिए ।  

तर, कोरोना महामारीका कारण पर्यटन क्षेत्र थिलोथिलो भएको छ । विदेशी पर्यटक आउने टुंगो छैन किनभने नेपालमा बढी विदेशी पाहुना आउने मुलुकमा कोरोनाको मार अन्यत्र भन्दा बढी छ । विभिन्न मुलुकले अन्तर्राष्ट्रिय हवाई सञ्जाल टुटाउँदा पर्यटकको हिडडुल पनि रोकिएको छ । धेरैले त्यही संक्रमणका कारण आफन्त गुमाएका छन् । त्यसबाहेक ठुलो संख्यामा विदेशी पनि कामविहीन भएका छन् त्यसले गर्दा  घुम्न चाहने ती पाहुनाको आम्दानी घटेको छ ।  

तत्कालै विदेशी पाहुनाको सम्भावना नदेखेका पोखरेली पर्यटन व्यवसायीले आन्तरिक पाहुनाबाट भने केही आशावादी छन् । तर आन्तरिक पाहुना पनि तत्कालै नभई एक–दुईमहिनापछि मात्र आउने सम्भावना उनीहरू देख्छन । नेपालभित्र भाईरस संक्रमण कम भएर हिडडुल सहज हुँदाका दिन आन्तरिक पाहुना घुमफिरमा निस्कन सक्ने केही व्यवसायीको अनुमान छ ।  

तर कतिपय व्यवसायी भने संक्रमण घटिहालेको अवस्थामा पनि आन्तरिक पाहुना घुम्न ननिस्कने अनुमान लगाउँछन् । किनभने अन्य मुलुकमा जस्तै नेपाली नागरिकहरू पनि कमजोर आर्थिक अवस्थामा पुगेकोले तत्कालै घुमघाममा निस्कने सम्भावना नरहेको ती व्यवसायीको अनुमान छ । भदौ १ देखि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सेवा सहित लामो दूरीमा सार्वजनिक यातायात संचालन हुने भएपनि आन्तरिक पाहुनाको घुमफिरबारे व्यवसायीको मत फरक फरक छ ।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली संक्रमणको त्रास नहटेकोले अझै केही समय आन्तरिक पाहुना घुमफिरमा निस्कने सम्भावना कम रहेको बताउँछन् । ‘आन्तरिक पाहुना त आउँछन तर अहिले होईन, असोज भन्दा अघि आउने अवस्था देखिन्न,’ पराजुली भन्छन, ‘संक्रमणको अवस्था पर्ख र हेरको अवस्थामा आन्तरिक पाहुना छन् । संक्रमण घट्दो भएमा असोजदेखि आउन सक्छन । तर, संक्रमणले उग्ररुप लियो भने पाहुनाको आगमनको दिन अझै पछाडि धकेलिन सक्छ ।’  

सार्वजनिक सवारी संचालन गरेपनि भदौदेखि नै आन्तरिक पाहुना आउने सम्भावना नभएको उनले बताए । ‘निजी गाडी भएका व्यक्तिका लागि हिडडुललाई त बाटो खुलिसकेको छ । तर, संक्रमणले भने उनीहरूलाईं रोकेको छ,’ उनले भने, ‘संक्रमण शुन्यमा नझरेसम्म सर्वसाधारणको घुमफिर सुरु हुँदैन । निजी गाडीमा घुम्न निस्केका सिमित पाहुनाबाट सबै व्यवसायीले लाभ पाउँदैनन । एकाध पाहुना आउँदैमा होटल संचालन गर्ने अवस्था पनि छैन ।’  

व्यवसायीका अनुसार भूकम्पछि पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकले ठुलो गुन लगाएका थिए । भूकम्पपछि आन्तरिक पाहुनाले नै पोखराको पर्यटन धानिएको व्यवासायीले बताउने गरेका थिए । तर, अहिले भने भाईरस संक्रमण भएकोले हिडडुल सहज नभएको व्यवसायी बताउँछन् । त्यसबाहेक आन्तरिक पाहुना पनि आर्थिक रुपमा मारमा पर्दा सबैले घुमघामलाई कम प्राथमिकतामा पार्न सक्ने अनुमान पराजुलीको छ ।  

‘खानपिन, स्वास्थ्य र शिक्षापछि बल्ल घुमफिर प्राथमिकतामा पर्छ । घुमफिर अनिवार्य हुन सक्दैन, तर, खानपिन र स्वास्थ्य, अनिवार्य विषयबस्तु हुन,’ उनले भने, ‘सबैतिरबाट पैसा बचत भयो भने बल्ल घुम्न निस्कने हुन ।’ विदेशी पाहुना आउनका लागि अmभै केही समय लाग्ने भएकोले आन्तरिक पाहुना भित्रिएमा मात्र व्यवासायीले राहतको सास फेर्ने उनले बताए । तर, त्यसका लागि केही समय कुर्नुको विकल्प नभएको उनले बताए ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन संक्रमणको गति जारी रहँदा आन्तरिक पाहुनामा घुम्ने मनस्थिति बनिनसकेको बताउँछन् । ‘आन्तरिक पाहुना घुम्न आउँछन, तर, अहिले नै घुम्ने मनस्थिति बनाईसकेका छैनन । अहिलै आउ भनेर बोलाउनु पनि हतारो हुन्छ,’ तुलाचनले भने, ‘आन्तरिक पाहुनाबाट लाभ मिलेको थियो । तर, अहिलेको अवस्था नै फरक रहेको छ । पाहुनाले घुम्ने मनस्थिति बनाएका पनि छैनन ।’  

अहिलेको अवस्था सहज हुँदै गएको खण्डमा दसैंपछि मात्र आन्तरिक पाहुना पोखरा आउन थाल्ने उनको अनुमान छ ।’ एक–दुई महिनाका लागि आन्तरिक पाहुना पर्ख र हेरको अवस्थामा रहेको उनले बताए । संक्रमणको अवस्थालाई धेरैले ध्यान दिने र सरकारले पनि अहिले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कनु भनेकोले पनि घुमफिरका लागि वातावरण नबनेको उनले बताए ।

अहिलेका लागि विदेशी पाहुनाको आगमन नहुने भएकोले पर्यटन व्यवसायीले आन्तरिक पाहुना कुरेरै बस्नुको विकल्प नभएको उनले बताए । तरपनि पहिलेको जस्तो आकारमा आन्तरिक पाहुना आउने सम्भावना कम भएको उनले बताए । पहिला आन्तरिक पर्यटकहरू समुहमा आउने गर्दथे । भेला, गोष्ठि, बैठक सहित विद्यार्थी, कृषि, आमा समुह, सहकारी, कर्पाेरेट समुह लगायतबाट पाहुना आउने गरेकोमा आगामि दिनमा भने पारिवारिक वा सानो समुहमा मात्र आन्तरिक पाहुना घुम्न आउने सम्भावना रहेको उनले बताए ।

‘आन्तरिक पर्यटक पनि आर्थिक रुपमा आक्रान्त छन् । अहिले नै घुम्ने मुडमा उनीहरू छैनन,’ उनले भने,‘त्यसले गर्दा तत्कालै घुम्न निस्कने सम्भावना छैन ।’ भाईरस संक्रमणका कारण धेरै आन्तरिक पाहुना पनि बेरोजगार बनेका छन् । त्यसबाहेक ब्यापार व्यावसाय ठप्प हुँदा आम्दानी घटेको छ । त्यसबाहेक काम गरेको ठाउँबाट नियमित पारिश्रमिक पनि नपाएकोले उनीहरू घुम्न निस्कने सम्भावना कम रहेको तुलाचनले बताए ।

पोखरा पर्यटन परिषद् (पिटिसी)का उपाध्यक्ष गोपिबहादुर भट्टराई पनि अहिलेका लागि पाहुना नआईहालेपनि अवस्था सहज हुनासाथ पहिलो प्राथमिकता आन्तरिकलाई दिने बताउँछन् । ‘आन्तरिक पाहुनाका लागि गतिविधि चलाउनु जरुरी हुन्छ । अहिलेका लागि जे जस्तो अवस्था आएपनि पोखराले आन्तरिक पाहुनाबाट लाभ पाउने हो,’ भट्टराई भन्छन, ‘आन्तरिक पाहुना आएनन भने हामी व्यवसायीलाई मार पनि पर्छ ।’ 

पहिलो चरणमा आन्तरिक हुँदै क्षेत्रीय र बल्ल अन्तर्राष्ट्रियस्तरमा बजारीकरणसँगै पाहुना पनि भित्रिने उनको भनाई छ । ‘आन्तरिकबाटै हामीले लाभ पाएका हौ,’ उनले भने, ‘अब पनि आन्तरिकको भर पर्नुको विकल्प छैन । अहिले नै नआउलान तर आन्तरिक पाहुना घरबाट निस्कन नपाउँदा आत्तिएका छन ।’ आन्तरिक पाहुनाका लागि विशेष प्याकेज आवश्यक रहेको र त्यसको योजनामा व्यवसायी रहेको उनले बताए ।

प्रकाशित: ८ श्रावण २०७७ १०:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App