१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हरेक बर्खामा थिल्थिलिन्छन् सडक

राँके–रवि सडकखण्ड अन्तर्गत पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पर्ने सडक। तस्बिर: नागरिक

जिल्लाका प्रत्येक टोलटोल पुग्न सडक निर्माण गरिए पनि बर्खामा ती सबै सडकमा गाडी गुड्दैनन्। हरेक बर्खामा ग्रामीण सडक हिलाम्य हुने गरेकाले जोखिम मोलेर सानाखाले यातायातका साधन सञ्चालन हुने गरेका छन्। खाद्यान्नलगायत अन्य सामग्री ढुवानी तथा बिरामीलाई उपचारका लागि अस्पताल लैजान साना यातायातका साधान सञ्चालन गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ।  

एक स्थानीय तहबाट अर्को स्थानीय तह जोड्ने सडकमा समेत गाडी गुड्न समस्या हुने गरेको छ। ठाउँठाउँमा पहिरो गएको छ। हिलाम्य सडकमा जहिल्यै स्थानीयले सास्ती खेप्ने गरेका छन्। हरेक बर्खामा बिग्रिएको सडक मर्मत हुने गरे पनि गुणस्तरीय नहुँदा थप समस्या हुँदै आएको स्थानीयको भनाइ छ। सडक बलियो बनाउनेभन्दा पनि धेरै ठाउँमा पु¥याउन बजेट खर्च गर्दा टिकाउ नहुने गरेको फालेलुङ–७ का धनकुमार लावती बताउँछन्। जिल्लामा सबैभन्दा बढी बजेट सडक निर्माणमा खर्च हुने गरे पनि दीर्घकालीन नहुँदा थप समस्या उत्पन्न हुने गरेको उनले बताए।  

राँके–रवि–भेडेटार सडक थिल्थिलो छ। गाडी चलाउने अवस्था छैन। घुर्बिसे पञ्चमीका युद्ध बोहोराका अनुसार हरेक बर्खामा सडकमा सास्ती भोग्नुपर्छ। कालोपत्रेको ठेक्का लागेपछि अहिलेसम्म केबल ७ प्रतिशित काममात्र भएको छ। आयोजनाप्रमुख अभिमान मुल्मीका अनुसार अहिले बर्खामा यो खण्डमा गाडी कुदाउन सक्ने अवस्था छैन। यो विभिन्न गाउँलाई जोड्ने मुख्य सडक हो। जिल्लाका आठै स्थानीय तहका विभिन्न गाउँ जाने सडकमा पछिल्ला दिनमा धेरै समस्या छ। ठाउँठाउँमा पहिरो झर्ने तथा हिलाम्य हुँदा गाडी कुदाउन समस्या हुने गरेको स्थानीय लावती बताउँछन्। उनका अनुसार बिरामी तथा अत्यावश्यक सेवामा बढी समस्या हुने गरेको छ। यो समस्या जिल्लाभर नै छ। गाडी धकेल्दै कुदाएको देख्न पाइन्छ। हिलाम्मे गाडी कुदाउँदा जोखिम उत्तिकै हुन्छ।

हाल मेची राजमार्गको ६७ किलोमिटर र मध्यपहाडी लोकमार्गको १९ किलोमिटरमात्र कालोपत्रे गरिएको छ। मध्यपहाडी लोकमार्गको ५० किलोमिटर सडक कालोपत्रे गर्नलाई ठेक्का पनि खुलेको छैन। यो खण्डमा उस्तै सास्ती छ। जिल्लामा फिदिम–फालोट ३५ किलोमिटर, मायालुमोड–नवमीडाँडा १४ किलोमिटर, शिवाखोला–लुम्फाबुङ–नवमीडाँडा १० किलोमिटर, सरखण्डे–यासोक ११ किलोमिटर र शिवालय–सन्दपुर सडकको पहिलो सात किलोमिटरका लागि ठेक्का लागेर काम अघि बढेक छ। तीबाहेक सडक कच्ची छन्। जिल्लाको फिदिम नगरपालिका र याङवरक गाउँपालिकाबाहेक गाउँपालिका केन्द्र पुग्ने सडक कच्ची रहेका छन्। फाल्गुनन्द गाउँपालिकाको केन्द्र घुर्बिसे–पञ्चमी, मिक्लाजुङ गाउँपालिकाको केन्द्र रवि, तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा, फालेलुङ गाउँपालिकाको केन्द्र थोक्लिम्बा पुग्न निक्कै कठिन छ। पालिका, वडा र टोलटोल जोड्ने सडक थिल्थिला छन्।

स्थानीय सरकार, सम्बन्धित योजना कार्यालय, ठेकेदार कम्पनीले हिउँद सुरु भएपछि सडकलाई मर्मत गर्ने गर्छन्। राम्रोसँग सडक नबनाउँदा हरेक वर्ष बजेट खर्चिनुपर्ने अवस्था छ। स्तरीय सडक बनाउँदा मर्मतका लागि कम खर्च लाग्ने भए पनि यस्तो देखिँदैन।

प्रकाशित: ७ श्रावण २०७७ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App