८ वैशाख २०८१ शनिबार
समाज

प्रदेश ५ : कतै बस्ती डुबान, कतै सडक अवरुद्ध

सुस्ता गाउँका १ सय ९५ घर डुबानमा

बुटवल पाल्पा सडक अन्तर्गत सिद्धबाबा मन्दिर नजिकै गएको पहिरो । तस्बिर : नागरिक

अत्यधिक बर्षाका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँ डुबानमा परेको छ । अविरल बर्षापछि नारायणी नदीमा पानीको सतह बढेपछि सुस्ता गाउँपालिका वडा न. ५ स्थित सुस्ता गाउँका १ सय ९५ परिवार विस्थापित भएका छन् ।  

बिजुली समेत नपुगेको सुस्ता गाउँमा बाढी पसेपछि गाउँलेहरु त्रसित भएका छन् । नदीमा पानीको सतह अधिक भएकाले बाढीले डुबानमा परेका १ सय ९५ घर परिवारलाई सुरक्षित स्थानमा राखिएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । उनका अनुसार बाढीको डुबानमा परेका परिवारलाई जनता दलित आधारभूत विद्यालयमा राखिएको छ ।

२ सय ६५ घरमध्ये ७० घर भने सुरक्षित छन् । नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि पश्चिम नवलपरासीको नदी तटीय क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन् । नदीमा पानीको बहाव उच्च भएपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।

नदीको सतह खतरा भन्दा माथि पुगेपछि ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । गण्डकका कारण सुस्ता, सरावल, प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकाका तटीय क्षेत्रमा सजगता अपनाउन र बाढीको पूर्व सूचना प्रवाह गरिएको उनले बताए । नारायणी नदीमा दाउरा छोप्ने क्रममा बाढिले बगाउँदा सुस्ता गाउँपालिकामा वडा नम्बर ४ नर्सही थारुगाउँका चेतनारायण थारुका ३२ वर्षीया छोरा सन्तु चौधरी बेपत्ता भएका छन् । १३ नम्बर ठोक्करबाट पानीको ठूलो बहावले थारुलाई बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

रुपन्देहीको तिनाउ नदीमा पनि पानीको सतह बढ्दै गएको छ । जिल्लाका तिनाउ, रोहीणी, दानव लगायतका नदीहरुले कटान गरेका छन् । कटानले कतिपय बस्तीहरु जोखिममा परेका छन् भने खेतीयोग्य जमिनमा क्षति पुगेको छ । रुपन्देहीको गण्डक नहरको खुर्दालोटन बाँधका कारण मर्चवार, सम्मरीमाई गाउँपालिकाका बस्तीहरु समेत जोखिममा परेका छन् ।

अविरल बर्षाका कारण लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न. २ का ४ घरमा बाढी पसेको रुपन्देही जिल्ला प्रशासनले जनाएको छ । नदीमा पानीको सतह बढेकाले समुदायलाई सचेत र सजग गराइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

बुटवल पाल्पा सडक निरन्तर अवरोध
बुटवल पाल्पा सडकखण्ड पछिल्लो एक हप्ता यता खुल्ने र बन्द हुनेक्रम जारी रहेको छ । प्रदेश न. ५ मा सबैभन्दा बढि पहिरोका कारण अवरुद्ध हुने सडकमा सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडकखण्ड परेको छ । सोमबार राती परेको अविरल बर्षाका कारण सिद्धबाबा मन्दिरको आडैमा ढुंगासहितको पहिरो खसेको थियो । तिनाउ गाउँपालिका वडा नं. ३ दोभानमा पर्ने सिद्धबाबा मन्दिरको छेउमै रहेको खहरे खोलामा आएको ढुंगा र लेदोसहितको पहिरोले मन्दिर परिसरमा समेत क्षति पुर्‍याएको छ । धर्मशालाको स्टोर कक्ष, भान्सा, धारा, प्रचार बोर्ड, नजिकैको फलामको रेलिङ्ग र श्राद्धस्थलमा क्षति पुर्‍याएको सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङले बताए ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा मन्दिर, हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, झुम्सा, चर्चरे, कालीमाटी, गौडेपुललगायत दर्जनौं स्थानमा पहिरो खस्ने गरेको छ । पहिरो तत्तकाल हटाएर सडक सुचारु गरेपनि कतिखेर अवरुद्ध हुन्छ केही भन्न नसकिने प्रदेश न. ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपि डिल्लिनारायण पाण्डेले बताए । कपिलवस्तुको धानखोला, दाङ रोल्पा, तानसेन रामपुर सडक बेलाबेलामा पहिरोले अवरुद्ध हुनेक्रम जारी छ ।

प्रकाशित: ६ श्रावण २०७७ १३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App