७ वैशाख २०८१ शुक्रबार
समाज

नारायणी तटीय क्षेत्रका दर्जनौँ घर जलमग्न, त्रिशुलीले बगायो तीन घर

नवलपरासी सुस्तापूर्व जिल्लाको गैँडाकोटस्थित नदीतटीय बस्तीमा मङ्गलबार नारायणी नदीको बाढी छिर्दै । तस्बिर : सूर्यप्रकाश/नागरिक

नारायणी नदीको सतहले सोमबार खतराको बिन्दु पार गरेपछि चितवनका नदीतटीय क्षेत्रस्थित दर्जनौँ घरमा पानी छिरेको छ । त्रिशुली नदीले तीन घर बगाएको छ भने भरतपुर महानगरका ६ वटा वडामा नारायणीको भेल पसेको छ ।

प्रहरीका अनुसार भरतपुर महानगरको वडा नम्बर ४, १६, २६, २७, २८ र २९ मा नारायणी पसेको छ । नारायणी नदीको भेल तटीय क्षेत्रका बस्तीमा प्रवेश गर्ने खतरा बढेपछि प्रशासनले त्यहाँ बसोबास गर्ने ६० जनाभन्दा बढीलाई सुरक्षित स्थानमा सारेको छ । नारायणीको भेल २६ नम्बर वडाको भगडी, सिसुवार र सिसईमा प्रवेश गरेको छ । यस वडामा एउटा घर बगाएको छ भने २६ वटा घरमा पानी पसेको छ ।  

भरतपुर २७ र २८ का १५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीबाट प्रभावित २७ नम्बर वडाको बलुवा, निउरे, पिप्रहा लगायतका क्षेत्रमा बाढी पसेको छ । त्यहाँका बासिन्दालाई जीतपुर र साझापुर माध्यमिक विद्यालय भवनमा राखिएको छ । यस वडामा ११ वटा घर डुबानमा परेका छन् । भरतपुर २९ दासढुङ्गासँग जोडिएको तल्लो भेगमा नारायणीको भेल पसेको छ । दासढुङ्गामा एक दर्जन घर डुबानमा परेका छन् ।  

नारायणी नदीको भेल बस्ती पसेसँगै प्रहरीले अहिलेसम्म ६ सय ८० जनालाई उद्वार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार जिल्लाभरि अहिलेसम्म १ सय ३७ वटा घर डुबानमा परेका छन् । दस दिनअघि खहरे खोलाले बगाएर एक जनाको मृत्यु भएको माडी क्षेत्रमा भने अहिलेसम्म सामान्य डुबान भएपनि थप मानवीय र भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए ।

त्रिशुलीले बगायो तीन घर
चितवनको ईच्छाकामना गाउँपालिका ५, पानीधारा बस्ने विष्णुप्रसाद श्रेष्ठ र कुमार श्रेष्ठ दुवैको दुई तले घरसहित तीन वटा घर  त्रिशुली नदीले बगाएको छ । प्रहरीका अनुसार, इच्छाकामना ५ का एक दर्जन घर बाढीको उच्च जोखिममा छन् । इच्छाकामना गाउँपालिका अन्तर्गत पर्ने नारायणगढ–मुग्लिन सडकखण्डको एक दर्जन स्थानमा ठूलासाना पहिरो झरेका छन् । चारकिलो भन्ने ठाउँमा सोमबार बिहानै गएको ठूलो पहिरो पन्छाउने काम सकिएको छैन । यातायात अवरुद्ध छ ।

घटेको छैन नारायणी
देवघाटधाममा रहेको जलमापन केन्द्रका अनुसार, देवघाटनजिक नारायणी नदीको सतह नौ दशमलव १२ मिटर पुगेको छ । यहाँ आठ मिटरलाई खतराको बिन्दु मानिन्छ । नारायणी पुलमुनि नदीको सतह ११ मिटर पुग्यो भने चेतावनीको तह मानिन्छ । यहाँ पानीको सतह १२ दशमलव १४ मिटर पुगेको छ ।  

नारायणी नदी उर्लिएसँगै चितवनको पश्चिमी क्षेत्र मङ्गलपुर, गुञ्जनगर, दिव्यनगर र मेघौलीमा कटान र डुबानको खतरा बढेको छ । नारायणी पारि नवलपरासी (सुस्तापूर्व) जिल्लाका विभिन्न क्षेत्रमा समेत बाढीको जोखिम बढेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना निकालेर नदीतटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सावधानी अपनाउन अपिल गरेको छ ।

प्रकाशित: ६ श्रावण २०७७ ०८:०३ मंगलबार

अविरल बर्षा नदीतटीय क्षेत्र बाढी