२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बुटवल-पाल्पा सडकको कथा : योजना बन्यो, सडक बनेन

केहि दिनअघि सिद्धबाबामा गएको पहिरो । तस्बिर : नागरिक

बर्षायाम सुरु भएपछि सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडकखण्ड कतिबेला अवरुद्ध हुन्छ पत्तो हुँदैन । बिशेष गरि सिद्धबाबा क्षेत्रको पहिरोले यो सडकमा यात्रा गर्नेलाई पिरोल्छ । असार लागेसँगै सिद्धबाबा क्षेत्रमा गएको पहिरोले पटक पटक सडक अवरुद्ध हुने गरेको छ ।

कोरोना महामारीका कारण लकडाउन भएकाले सार्वजनिक सवारी साधन चलेका छैनन् । तर, सडक अवरुद्ध हुँदा मालवाहक, निजी तथा अत्यावश्यक एवं विरामी बोकेका सवारी साधन पहिराले रोकिएका छन् । गएको एक सातादेखि बुटवल पाल्पा सडकखण्डमा निरन्तर पहिरो गएपछि सडक ठप्प प्राय भएको छ । असार २९ गते सिद्धबाबा क्षेत्रको तिनाउ गाउँपालिका पैठेडाँडामा ठूलो पहिरो खस्यो । यो पहिरो हटाउन तीन दिन लाग्यो । स–सना अन्य पहिरोले पनि सडक बेलाबेलामा अवरुद्ध हुनेक्रम जारी थियो । त्यहि क्रममा शनिबार पुनः बुटवल पाल्पा सडकमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

तानसेन–८, गौडेपुलमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सडकको ‘बेस’लाई नै पहिरोले बगाएकाले पूर्ण रुपमा पहिरो हटाउन समय लागेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध मात्रै होइन बेलाबेलामा पहिरोले सडक नै पुर्दा मानवीय क्षति हुने गरेको छ । बर्षा र हिउँद दुवै समयमा पहिरोले च्यापिएर, पुरिएर र पहिरोसँगै बगेर मृत्यु हुने यात्रु वर्षेनी थपिदै गएका छन् । मृत्यु मार्गको परिचय पाएको सिद्धार्थ राजमार्गको परिचय बदल्न भन्दै संघीय र प्रदेश सरकार दुवैले योजनामा भने प्राथमिकतामा पारेका छन् । तर, योजना र बजेट परेपनि यो सडकको दुरावस्थामा भने कुनै सुधार आउन सकेन ।

‘मृत्यु मार्ग’ को परिचय बदल्न केन्द्र (संघीय) र प्रदेश सरकारका आआफ्नै योजना छन । प्रदेश नम्बर ५ सरकारले सिद्धबाबाको पहिरोबाट जोगाउन वैकल्पिक मार्गका लागि भनेर बजेट छुट्याउन थालेको तीन वर्ष भइसक्यो । आर्थिक वर्ष ७५/७६ र ७६/७७ मा गरि १०/१० करोड बजेट छुट्याएर निर्माणको काम थालेको हो । बुटवल धागो कारखाना, चरङ्गे झुम्सा सडकलाई बाइपास सडकका रुपमा विस्तार गर्ने योजना प्रदेश सरकारको छ । तर, सिद्धबाबा क्षेत्रमा पहिरोले सडक अवरुद्ध भयो भने यसको बैकल्पिक मार्गबाट भने सवारी गुड्न सकेको छैन ।  

यो आर्थिक वर्षमा पनि वैकल्पिक सडक खुल्ने कुनै टुंगो छैन । गत वर्षमा छुट्याएको बजेटकै काम हुन सकेको छैन । भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता इञ्जिनियर भिमार्जुन पाण्डेले बताए । उनले यो वर्षमा ५ वटा कल्वर्ट र २ वटा पक्की सडक पुल निर्माण गरि २३ किमिमा ग्राभेल निर्माण गर्ने बताए । प्रदेश सरकारले बुटवल धागो कारखाना चरङ्गे हुँदै झुम्सासम्मको करिव २३ किलोमिटर सडकलाई सिद्धबाबाको बैकल्पिक मार्गका रुपमा अघि सारेको हो । सुरुकै वर्षमा बैकल्पिक मार्ग बन्ने बताइएपनि त्यो भने कार्यान्वयन हुन सकेन ।

सुरुङमार्गको चर्चा धेरै, काम अनिश्चित
संघीय सरकारले सिद्धबाबा पहिरोलाई मध्यनजर गरि सुरुङ मार्ग निर्माण गर्ने तयारी गरेको छ । प्रत्येक वर्षको प्राथमिकता सूचीमा सुरुङ मार्ग निर्माण गर्ने गरि बजेट छुट्याउने गरिएको छ । यो वर्ष सुरुङ मार्ग निर्माणका लागि ३३ करोड बजेट छुट्टिएको छ । अर्थमन्त्रालयले यो सुरुङ मार्गका लागि आवश्यक बजेट दिने गरि स्विकृत समेत गरेको छ ।

बिशेष गरि नेकपा महासचिव एंव पूर्वअर्थमन्त्री, रुपन्देहीबाट प्रतिनिधिसभामा निर्वाचित सदस्य विष्णु पौडेलले सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि धेरै नै पहलकदमी गरेका छन् । यसका साथै अन्य नेताहरुको पनि चासो देखिन्छ । तर, सुरुङ मार्ग नेपालका लागि नितान्त नयाँ भएकाले यो वर्ष ठेक्का नै हुन्छ की हुँदैन कुनै टुंगो छैन ।  

नेपाल सरकासँग स्विसले सुरुङ मार्गको डिजाईन गरेर गत वर्ष भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागलाई सिद्धबाबाको सुरुङ मार्ग डिजाईन हस्तान्तरण गरेको थियो । डिजाईनमा करिव ७ अर्बको लागत अनुमान गरिएको छ । तर, यो डिजाईनमा स्विस कम्पनी संलग्न भएको र डिजाईन हस्तान्तरण भएपनि यस काममा सडक विभाग संलग्न नभएकाले पुनः डिजाईन गर्नुपर्ने सडक विभागको भनाई छ ।

गुणस्तर अनुसन्धान विकास केन्द्रका निर्देशक इञ्जिनियर शिव नेपालले सुरुङमार्ग आफूहरुका लागि नयाँ काम भएकाले यसको ठेक्का दिनका लागि मापदण्ड र थप अध्ययन आवश्यक भएकाले तत्तकालै निर्माण सुरु गर्न नसक्ने बताए । तर उनले प्रक्रिया सुरु भएको बताउदै निर्माणको चरणमा भने यो वर्ष प्रवेश गर्न सकिने बताए । पुनः डिजाईन गर्दा यसको लागत करिव साढे ८ अर्ब पुग्ने उनको भनाई छ । बुटवलदेखि पाल्पासम्म १.२ किमि मात्रै सुरुङमार्ग बनाइने छ । यसका साथै पहिरोग्रस्त ९ सय मिटरमा भने रकसेट(ढुंगा खस्ने) प्रविधि जडान र सुरक्षाको निर्माण गर्ने डिजाईन स्विसले बनाएको छ ।

सिद्धबाबाको चट्टाने पहिरोको विकल्पबारे सडक विभागले विभिन्न चरणमा काम गर्ने बताए पनि त्यो केवल चर्चामा मात्रै सिमित भएको छ । सिद्धार्थ राजमार्ग अन्तरर्गत बुटवल चिडियाखोलादेखि पाल्पा दोभान प्रहरी चौकीसम्मको करिव ३ किलोमिटर क्षेत्र पहिरो ग्रस्त सडकमा पर्छ ।

लुम्बिनी, गण्डकी र धौलागिरी अञ्चलको प्रवेशद्वार मानिने शिद्धार्थ राजमार्ग निकै व्यस्त रहने गर्छ । यहाँबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, बेनी लगायतका जिल्लामा गाडी गुड्छन् ।

प्रकाशित: ४ श्रावण २०७७ १२:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App