१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

लुकिछिपी राजधानी आउनेबाट संक्रमणको जोखिम बढ्यो

सरकारले कोरोना संक्रमणबाट बचाउनको लागि लामो समयदेखि अन्तरराष्ट्रिय हवाइ उडान र भू–नाका तथा एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशमा रोक लगाएको छ । लुकिछिपी दैनिक हजारौैको संख्यामा राजधानी छिर्ने क्रम भने जारी रहेको कोभिड-१९ उपचारमा संलग्न चिकित्सकहरुले औल्याएका छन् ।  

तरकारी, फलफूल तथा अन्य सामग्री ढुवानी गर्ने मालवाहक गाडी तथा मोटरसाइकलमा लुकिछिपी राजधानी भित्रिने गरेको कोरोना परीक्षण गर्न आउनेहरुबाटै जानकारी पाएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक तथा सरुवा रोग बिशेषज्ञ डा. शेरबहादुर पुनले बताए । ‘भारतको मोतियारीबाट समेत आएका छन्, कतिपयले मालवाहक गाडीबाट आएको बताउँछन्’  डा.पुनले भने ।  

टेकु अस्पतालमा यसरी परीक्षण गर्न आउनेहरु अहिले दैनिक ५ सय जना सरदर रहेको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए । लुकेर आएका उनीहरु घरबेटीको दबाबपछि मात्र अस्पतालसम्म आईपुगेको बास्तोलोको भनाइ छ । यसरी परीक्षण गर्न आउने सबैको परीक्षण भने गरिंदैन । सरकारले जारी गरेको कोभिड-१९ परीक्षण निर्देशिकाले सबैको परीक्षण गर्न नमिलेपछि १५ दिनसम्म होम क्वारेन्टिनमा बस्न र त्यो अवधिमा कुनै समस्या भएमा अस्पतालमा सम्पर्क गर्नु भन्दै पठाउने गरेको डा.बास्तोलाले बताए । यसरी आउनेहरु मध्येमा असार मसान्तभित्रमा मात्र १३ सयको पिसिआर परीक्षण गरेकोमा १३ जनामा पोजिटिभ देखिएको डा.वास्तोलाले जानकारी दिए ।  

तर यसरी जाने सबैले होम क्वारेन्टिनको नियम पालना गर्छन् या गर्दैनन् भन्ने कुरामा पनि आंशका रहेको चिकित्सकसहरु बताउँछन् । ‘ हामीले होम क्वारेन्टिनमा बस्नु भनेर पठाउँछौं,पुरै पालना गरे या गरेन ? त्यो भने थाहा हुँदैन ’ डा.पुनले भने । डा.पुनले भारत तथा तराईबाट यो अवधिमा आउनेहरु धेरै जसो फलफूल पसले, शैलुन व्यवासायी, तरकारी व्यापारी, ज्यालामजदुरी गर्नेहरु रहेको उनीहरु आफ्नो छिटो काममा जानु पर्ने बाध्यताले पुरै दिन होम क्वारेन्टिनमा बस्ने कुरामा आशंका गर्ने स्थिति रहेको बताए ।

‘यसरी दैनिक कोरोना प्रभावित ठाउँबाट आउने र पुर्ण क्वारेन्टिनमा नबस्ने हो भने कोरोना सर्ने जोखिम उच्च देखिन्छ’ डा.पुनले भने । पुनले सरकारको पछिल्लो तथ्याकंले संक्रमित संख्या घट्नु सकारात्मक कुरा भएपनि व्यवस्थापन विना आउनेहरुको कारण पुनः फैलिने सम्भावना रहेको बताए । होम क्वारेन्टिन पालना गर्नकै लागि घरबेटीको सम्पर्क नम्वर समेत माग्ने गरेको डा.बास्तोलाले बताए ।

राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनराज पौडेलका अनुसार नेपालमा १०/१२ लाख भारतीय बिभिन्न पेशामा रहेका छन् र उनीहरु बिभिन्न तरिकाले आउने क्रम जारी रहेको छ । ‘उनीहरुलाई बोर्डरमै क्वारेन्टिनमा राख्ने व्यवस्था हुनु पर्छ , सिधै आए जोखिम छ ’ टेक्नोलोजिष्ट पौडेलले भने । पौडेलले तरकारी तथा फलफूल बोक्ने मालवाहक गाडीमा लुकिछिपी आउने गरेको जानकारी पाएको बताए ।

नागढुंगा चेकपोष्टले दैनिक तराई तथा भारतबाट गरी दैनिक ५ सयदेखि १ हजार वटा मालवाहक गाडी राजधानी मात्रै भित्रिन्छन् । कोभिड-१९ अघि यो संख्या दुई/तीन हजार हुन्थ्यो’ चेकपोष्ट नाकाका प्रहरी निरीक्षक हेमन्त थापाले भने । हाल भारतबाट प्राविधिक सामग्री लिएर दैनिक तीन/चार वटा मात्र आउने गरेको र यस्ता गाडीमा लुकेर आउनेहरु चेकपोष्ट आइपुग्दा नभेटिएको प्रहरी निरीक्षक थापाले बताए । ‘ लुकेर आउनेलाई हामीले वोर्डरमै फिर्ता पठाइदिन्छौं, अरु देखेका छैनौं ’उनले भने ।  

राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेका अनुसार यसरी आउनेको क्वारेन्टिन गर्ने र अनुगमन गर्ने जिम्मा स्थानीय तहकै हुने तर हवाइ उडान मार्फत आएकाहरुले सिसिमएसीले व्यवस्थापन गर्ने गर्छ । लुकिछिपी उपत्यका भित्रिनेहरुको परीक्षण तथा क्वारेन्टिन अनुगमनको विषयमा बैकठ बसेको भएपनि खास निर्णय नभएको काठमाडौ महानगरपालिकाका जनस्वास्थ्य प्रमुख नरेन्द्र विलास कर्मचार्यले संकेत गरे । यस विषयमा थप कुरा गर्न खोज्दा महानगरपालिकाका कर्मचारीहरुसित सम्पर्क हुन सकेन ।

आइतबार नै विदेशबाट आउनेको जोखिम न्यूनीकरण गर्न परीक्षणको दायरा बढाउने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले  भने , ‘ हवाइमार्गबाट र स्थलगत मार्गबाट आउनेलाई परीक्षण गरेर मात्र छोड्ने निर्णय भएको छ ’ उनले भने ।

प्रकाशित: ४ श्रावण २०७७ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App