coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चितवनमा कालगतिले एक वर्षमा मरे २६ गैँडा

चितवन राष्ट्रिय निकुञ्जभित्र कालगतिले मरेको एक गैँडा। तस्बिर : सूर्यप्रकाश

विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको प्रमुख बासस्थान चितवन राष्ट्रिय निकुञ्ज रहेको चितवन जिल्लामा गत आर्थिक वर्षमा कालगतिले २६ वटा गैँडा मरेका छन्। विभिन्न प्राकृतिक कारणबाट  राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र २४ र वन क्षेत्रमा दुई वटा गैँडा मरेका हुन्।  

चितवन राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष बुढो भएर छ, जुधेर तीन, दलदलमा फसेर तीन, ढुसीयुक्त खाना खाएको कारण बिरामी भएर चार र बाघको आक्रमणबाट एक वटा गैँडाको मृत्यु भएको हो।  गत आर्थिक वर्षमै करेन्ट लागेर दुई, रुखले किचेर एक, स्वास्थ्यमा समस्याका कारण तीन र कारण पत्ता लाग्न नसकेका तीन वटा गैँडा मरेको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए।  

गत आर्थिक वर्षमा चितवनमा मरेका गैँडामध्ये १३ वटा भाले, १० वटा पोथी र तीन वटा लिङ्ग पहिचान हुन नसकेका छन्। सन् २०१५ मा सम्पन्न छैटौँ गैँडागणनापछि प्राकृतिक कारणबाट धेरै र चोरी सिकारबाट कम गैँडा मरेका छन्।  

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा प्राकृतिक कारणले ४३ वटा गैँडा मरेका थिए। अघिल्लो आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा बढी गैँडा प्राकृतिक कारणबाट मरेका हुन्। विनासकारी बाढीको कारणले समेत त्यसवर्ष कालगतिले मर्ने गैँडाको संख्या बढेको निकुञ्जले जनाएको छ। त्यसवर्ष मरेका ४३ वटा गैँडामध्ये नौ वटा भाले, १४ वटा पोथी रहेका थिए। २० वटा गैँडाको कङ्कालमात्र भेटिएको थियो। कङ्कालमात्र भेटिएका गैँडा विनासकारी बाढीमा परेको निकुञ्जको अनुमान छ।

कोरोनाले बिथोल्यो सातौँ गैँडागणना

नेपालमा सन् १९९४ बाट गैँडागणना सुरु भएको हो। पहिलो गैँडागणनामा नेपालभित्र चार सय ४० वटा गैँडा पाइएका थिए। सन् २००० को दोस्रो गैँडागणनामा यो संख्या बढेर पाँच सय ४४ पुग्यो। नेपालमा गैँडाको संख्या सन् २००५ को तेस्रो गैँडागणनामा घटेर तीन सय ७२ मा झरेको थियो। सन् २००८ मा सम्पन्न चौथो गैँडागणनामा चार सय आठ वटा गैँडा पाइएको थियो। सन् २०११ मा सम्पन्न पाँचौ गैँडागणनामा पाँच सय तीन वटा गैँडा भेटिएका थिए।

सन् २०१५ मा सम्पन्न छैटौँ गैँडागणनामा छ सय ४५ वटा गैँडा भेटिएका थिए। तीमध्ये चितवन निकुञ्जमा ६ सय ५ वटा गैँडा पाइएको थियो। चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरेर चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडाको बासस्थान रहेको छ। गत वर्ष चैतमा सातौँ गैँडागणना गर्ने अन्तिम तयारी गरिएपनि कोरोना महामारीको बहानामा स्थगित भएको छ।  

एक महिना लगाएर गरिने गैँडागणनामा तीन दर्जन हात्ती एकैपटक परिचालन गरिन्छ। प्रत्येक हात्तीमा माहुतेसँगै एक जना गणक रहन्छन्। गैँडागणना सम्पन्न गर्न एक करोड रुपैयाँ हाराहारी खर्च लाग्छ। गैँडा पाइने क्षेत्रलाई विभिन्न ब्लकमा विभाजन गरी वैज्ञानिक उपकरणको सहयोगमा विश्वसनीय तरिकाले गैँडागणना गरिन्छ।

 

 

प्रकाशित: ४ श्रावण २०७७ ०७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App