१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बागमती प्रदेश सरकारको निर्णय : प्रदेशका बाढीपहिरो पीडितलाई घर बनाइ दिने

बागमती प्रदेश सरकारले प्रदेशभभित्रका जिल्लाका बाढीपहिरो पीडितका लागि घर बनाइ दिने भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलेको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले बाढीपहिरोमा घर गुमाएका पीडितलाई आवास बनाइदिने निर्णय गरेको सामाजिक विकासमन्त्री युवराज दुलालले बताए । बाढीपहिरोले घरमा बस्नै नहुने गरी बिस्थापित भएका पीडितहरुले मात्र यो सुविधा पाउने उनले जानकारी दिए ।

‘प्रदेश सरकारको एकीकृत आवास कार्यक्रमअन्तर्गत विस्थापित पीडितलाई घर बनाइदिने निर्णय भएको हो,’ मन्त्री दुलालले भने । कार्यक्रमअन्तर्गत प्रदेश सरकारले पीडितलाई एकीकृत बस्ती बनाएर राख्ने छ । बस्तीका लागि सम्वन्धित स्थानीय तहले जग्गाको व्यवस्थापन गर्नुपर्ने निर्णयसमेत बैठकले गरेको उनले जानकारी दिए ।

‘पीडितको अन्यत्र जग्गा भए त्यहीँ एकीकृत बस्ती बनाइने छ । नभए उपयूक्त जग्गा स्थानीय तहले खोजी गर्ने छ । दुबै कामको व्यवस्थापन स्थानीय तहले गर्ने छ,’ निर्णयबारे जानकारी दिँदै मन्त्री दुलालले भने । एकीकृत आवास कार्यक्रमको कार्यविधिसमेत तयार रहेकाले निर्देशक समितिको निर्णय कार्यान्वयनमा अघि बढ्ने उनले जानकारी दिए । उनका अनुसार निर्णयबारे प्रदेशभित्र सबै जिल्लाका स्थानीय तहमा जानकारी दिइएको छ ।  

‘एकीकृत बस्तीको मापदण्ड, घरका डिजाइन र लागत स्टमेटबारे कार्यविधिमा उल्लेख छ,’ उनले भने । महत्वकांक्षी एकीकृत आवास कार्यक्रम पीडितका लागि प्रभावकारी हुने मन्त्री दुलालले दाबी गरे ।  

घाइतेको नि:शुल्क उपचार, मृतक र बेपत्तालाई एक/एक लाख
प्रदेश सरकारले बाढीपहिरोमा परी घाइते भएका सबैको निशुल्क उपचार गर्ने निर्णयसमेत गरेको छ । निजी अस्पतालमा उपचार गराए घाइतेले उपचार खर्चको एक चौथाई रकम मात्र पाउने भएका छन् ।  

‘निर्देशक समितिले घाइतेको सरकारी अस्पतालमा उपचार गर्दा लागेको सबै खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय गरेको छ,’ मन्त्री दुलालले भने, ‘निजीमा उपचार गराए २५ प्रतिशत रकम उपलब्ध गराउँछौँ ।’ सरकारी अस्पतालमा आकर्षण बढाउने उद्देश्यले यस्तो निर्णय गरेको निर्देशक समितिका सदस्यसमेत रहेका मन्त्री दुलालले जानकारी दिए । उनका अनुसार निर्देशक समितिले बाढीपहिरोमा परी ज्यान गुमाएका र बेपत्ताका परिवारलाई एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ । राहत रकम स्थानीय तहमार्फत तत्काल उपलब्ध गराइने समितिले जनाएको छ ।

बाढीपहिरो प्रभावित जिल्ला भएकाले सिन्धुपाल्चोकका पीडितले तत्काल प्रदेश सरकारले निर्णय गरेका सबै सुविधा पाउने देखिएको छ । बागमती प्रदेशका १३ जिल्लामा सिन्धुपाल्चोक यतिबेला सबैभन्दा बढी बाढीपहिरोको चपेटामा छ । पछिल्लो दुई साताभित्र बाढी पहिरोको घटनामा परी जिल्लामा पाँच जनाको मृत्यु भएको छ भने अरु २० बेपत्ता भएका छन् । त्यस्तै ६० भन्दा बढी पूर्णरुपमा क्षति हुँदा सात घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  

तीन तहलाई संरक्षण अनुदान
बाढीपहिरोबाट प्रदेशमै सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकका तीन स्थानीय तहलाई प्रदेश सरकारले तत्काल संरक्षण अनुदान उपलब्ध गराउने भएको छ । निर्देशक समितिको निर्णयअनुसार क्षतिका आधारमा बाह्रविसे नगरपालिका, भोटेकोसी र जुगल गाउँपालिकाले संरक्षण अनुदान पाउने छन् ।

बाह्रविसेले ३० लाख, भोटेकासीले १५ लाख र जुगलले १० लाख रुपैयाँ अनुदान पाउने मन्त्री दुलालले बताए । ‘अनुदान बाढीपहिरो र नदी कटानले जोखिममा परेका बस्ती र अन्य सार्वजनिक महत्वको स्थल तथा संरचना संरक्षण गर्न खर्च गर्नुपर्ने छ,’ उनले भने । संरक्षण अनुदान सम्वन्धित तहमाफर्त नै खर्च हुने व्यवस्था प्रदेश सरकारले मिलाएको छ ।

‘अनुदान रकम तत्काल स्थानीय तहको विपद् व्यवस्थापन कोषमा जम्मा हुन्छ । स्थानीय तहले नै बनाएका विपद् व्यवस्थापन कार्यविधिअनुसार अनुदान खर्च हुन्छ,’ दुलालले जानकारी दिए । उनले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई अस्थायी वासका लागि पाँच सय थान टेन्ट प्रदेश सरकारले उपलब्ध गराइसकेको समेत उनले जानकारी दिए । ‘खानपानको व्यवस्थापन गर्न भने स्थानीय तहलाई नै भनेका छौँ । उनीहरुले त्यही गरिरहेका छन्,’ मन्त्री दुलालले भने ।

प्रकाशित: ३ श्रावण २०७७ १२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App