२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चिलिमे त्रिशूली प्रसारण लाइनको ६५ प्रतिशत काम सकियो

चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणको काम ६५ प्रतिशत सकिएको छ । निर्माण सामग्री र कामदारको अभावबीच पनि आयोजनाले कामलाई निरन्तरता दिइरहेको छ । आयोजनाले अहिले फाउण्डेसन निर्माण र प्रोटेक्सनको काम गरिरहेको छ ।  

आयोजनाको ११ वटा टावरको फाउण्डेसनको काम सकिएको छ भने चारवटा टावरको फाउण्डेसनको काम चलिरहेको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण कामदार नपाइएको र बर्खाको कारण विभिन्न ठाउँमा अवरोध सिर्जना भएको आयोजना प्रमुख सुभारम्भबिक्रम शाहले बताए । तर पनि आयोजनाले काम रोकेको छैन । ‘बर्षाको कारण केही ठाउँमा काम गर्न कठिन भएको छ’, उनले भने, ‘तर सामग्री सप्लाईको पार्ट भने राम्रो छ ।’  

उनका अनुसार अहिले ट्रान्सफर्मर, कम्यूनिकेसन सामग्री, कन्डक्टरहरू भन्सारमा आइसकेका छन् । ती सामग्री केही चीनबाट त केही भारतबाट ल्याइएका हुन् । चालु आर्थिक वर्ष २०७७/७८ मा कामलाई तीव्रता दिनका लागि आवश्यक योजना बनाइरहेको उनको भनाइ छ । गत आर्थिक वर्षमा सप्लाइहरूले गर्दा भौतिक प्रगति राम्रो भएको हो ।

२०१७ डिसेम्बर २० देखि प्रसारण लाइन निर्माण सुरु भएको आयोजनाको २०१९ जुन १३ मा निर्माण सम्पन्न गर्ने कार्ययोजना रहेको थियो । भौगोलिक विकटता, सडकको पहुँच नपुगेको, डिजाइनमा धेरै समय लागेको कारण निर्माणमा ढिलाइ भएको उनले बताए ।

रसुवाको माथिल्लो क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि प्रसारण लाइन निर्माण गरिएको हो । प्रसारण लाइन निर्माणका लागि २०१७ नोभेम्बर १३ मा ठेक्का सम्झौता भएको थियो ।  

रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित गोल्जुङदेखि नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली थ्रि बी हबसम्म प्रसारण लाइन निर्माण हुने छ । प्रसारण लाइनको दूरी साढे २७ किलोमिटर रहेको छ ।  

गोल्जुङदेखि मैलुङसम्म २२० केभि डबल सर्किट र मैलुङदेखि त्रिशूली थ्रिबिको हबसम्म ‘फोर सर्किट’ प्रसारण लाइन निर्माण हुनेछ । गोल्जुङदेखि थ्रिबी हबसम्म ७८ वटा टावर रहने बताइएको छ । प्रसारण लाइन र सब–स्टेसन निर्माणका लागि नेपाल सरकार, जर्मन सहयोग नियोग केएफडब्लुको अनुदान तथा युरोपियन इन्भेष्टमेन्ट बैंकको ऋण लगानी छ । प्रसारण लाइन निर्माणपश्चात जिल्लाको गोसाइँकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकामा निर्माणाधीन जलविद्युतको विद्युत जोडिने छ ।  

सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहणमा ढिलाइ, वैदेशिक सहायता पर्खनुपर्ने, जग्गा सट्टा, रुख कटानका लागि समयमै अनुमति नपाउनु लगायतका कारणले ढिलाइ भएको आयोजनाले जनाएको छ ।  

यो प्रसारण लाइनमा २१६ मेगावटको माथिल्लो त्रिशूली एक, १२० मेगावटको रसुवा भोटेकोशी, १११ मेगावटको रसुवागढी, ७८ मेगावटको सान्जेन खोला, ४२.५ मेगावटको सान्जेन, २० मेगावटको लाङटाङखोला, १४.८ मेगावटको माथिल्लो सान्जेन, ६.४२ मेगावटको माथिल्लो मैलुङ ए जलविद्युत आयोजनाको विद्युत् जोडिने छ । यो प्रसारण लाइनमा ५ सय मेगावट विद्युत जडान गर्न सकिने छ ।

प्रकाशित: २ श्रावण २०७७ ०७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App