आर्थिक वर्षको अन्तिम दिन । वीरेन्द्रनगर–२ का कृष्ण खत्री सहकारी संस्थाबाट लिएको चार लाख ऋण तिर्न नसकेर भौतारिरहेका थिए । सहकारीले पटक–पटक ताकेता गरिरहेपछि उनले आफूसँग रहेका तीन मध्ये एक भैंसी बिक्री गरे । त्यसले पनि सहकारीको ऋण तिर्न पुगेन । ऋण तिर्न नसकेका उनी व्यवसायबाटै पलायन हुने अवस्थामा पुगिसकेका थिए । ‘कि पैसा तिर्नुहोस्, नभए भैंसी लिएर जान्छौं भन्दै सहकारीका मान्छेहरु दैनिक आउँथे,’ कृष्णले भने, ‘चार जनाको परिवार पाल्दै आएको व्यवसायनै छोड्नुपर्ने अवस्थामा पुगिसकेको थिएँ ।’
सहकारी संस्थाको ऋण तिर्न नसकेर व्यवसायबाटै पलायन हुन लागेको थाहा पाएपछि कर्णाली प्रदेश अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. नवराज केसी उनको भैंसी गोठमै पुगेर दुई लाख रुपैयाँ दिए । ‘सम्पत्तीको नाममा यिनै भैंसी हुन्, कोरोना कहरले दूध बिक्री नभएपछि ऋण तिर्न सकिरहेको थिइन,’ खत्रीले भने, ‘डाक्टर’सापले ऋण तिरिदिनुभयो, व्यवसायले निरन्तरता पाउने भयो ।’
डा. नवराज केसीलाई बाल रोग विशेषज्ञका रुपमा भन्दापनि कर्णालीबासीले समाजसेवीका रुपमा बढी चिन्छन् । यो वर्ष कर्णाली प्रदेश सरकारले प्रदेशमा कार्यरत चिकित्सकहरुलाई ‘दुर्गम विशेष भत्ता’को व्यवस्था गरेको थियो । उनले सरकारबाट प्राप्त दुर्गम भत्ताले कृष्णको ऋण तिरिदिए । ‘कर्णाली मेरो लागि दुर्गम वा सुगम होइन, मेरो घर हो,’ डा. केसीले भने, ‘त्यसैले प्रदेश सरकारले दिएको ‘दुर्गम विशेष भत्ता’ लिन अलिकति गाह्रो लाग्यो, सरकारलाई धन्यवाद दिँदै कृषक कृष्णबहादुरको ऋण तिरिदिएँ ।’
लाखौं रुपैयाँ खर्च गरेर डाक्टर पढेकाहरु सकेसम्म दुर्गममा सेवा गर्न चाहँदैनन् । विकट भूगोलमा गएर सेवा गर्नुभन्दा उनीहरु सुगममै रमाउँछन् । समाजमा केही यस्ता डाक्टरहरु पनि छन्, जो सुगमको सुखसयल र अवसर छोडेर दुर्गममा सेवा गर्छन् । आफूले पाउने पारिश्रमिक सामाजिक सेवामा खर्चिन्छन् । आलाले विरामी मात्रै जाँच्दैनन्, बेल्चा र झाडुले समाजको दुर्गन्ध पनि सफा गर्छन् । तिनै मध्येका एक हुन्, डा. केसी ।
कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञका रुपमा कार्यरत डा. केसीले फिलिपिन्सबाट एमडी पूरा गरेका छन् । उनका लागि स्वदेशका सुगम क्षेत्र मात्रै होइन, विदेशमा पनि रोजगारीका ढोकाहरु खुल्लै थिए । उनले आफ्नै क्षेत्रमा सेवा गर्ने निधो गरे र छ वर्षअघि सुर्खेत आइपुगे । डा. केसीले छोटो समयमै चिकित्सा क्षेत्रसँगै सामाजिक अभियानमा महत्वपूर्ण योगदान पुर्याएका छन् । बालरोग विशेषज्ञ डा. केसी पछिल्लो समय सामाजिक अभियन्ताका रुपमा बढी परिचित छन् ।
सुर्खेत आएको छोटो समयमै उनले विभिन्न सामाजिक अभियानहरु सञ्चालन गरे । देशकै दुर्गम प्रदेश कर्णालीका विभिन्न जिल्लाहरुमा पुगेर निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरे । प्रदेश राजधानीलाई स्वच्छ र हरियाली बनाउनका लागि ‘क्लिन सुर्खेत, ग्रिन सुर्खेत’ अभियान चलाएका छन् । आफ्नो मासिक तलवमार्फत बाल स्वास्थ्य सुधारका लागि विङ्स फाउन्डेसनमार्फत अपाङ्गता भएका बालबालिकाको निःशुल्क उपचार गराउँछन् ।
‘एउटा चिकित्सकले व्यक्तिमा लागेको रोगको पहिचान गरेर निदान गर्नु ठूलो कुरा होइन, समग्र समाजभित्रको रोगको पहिचान गरेर निदान गर्नु महत्वपूर्ण कुरा हो’ डा. केसी भन्छन्, ‘त्यहीँ सोच र भावनाका कारण आफ्नै ठाउँमा आएर चिकित्सकीय सेवाका साथै सामाजिक काममा सक्रिय छु ।’
विङ्स फाउण्डेशनमार्फत उनी सामाजिक काममा सक्रिय छन् । यो नितान्त स्वयम्सेवी संस्था हो । डा. केसीले मासिक तलव फाउण्डेशनमा जम्मा गर्छन् । त्यसैमार्फत अपाङ्गता भएका बालबालिकाको निःशुल्क उपचार, विभिन्न जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर, सरसफाई अभियान र अन्य सामाजिक कार्य गर्छन् । पछिल्लो समय फाउन्डेसनमा समाजसेवाको भावना भएका स्वास्थ्यकर्मी र अन्य पेसाकर्मीले पनि आफ्नोे आम्दानीको निश्चित रकम जम्मा गर्ने गरेका छन् । ‘मैले स्वास्थ्य सेवालाई जागिरका रुपमा कहिल्यै लिइँन, यसलाई सामाजिक सेवा र धर्मका रुपमा लिएर काम गरिरहेको छु,’ डा. केसीले भने, ‘त्यसैले जागिरबाट पाउने पुरै तलव फाउण्डेशनमा जम्मा गरेर सेवामा खर्चिने गर्छु ।’ डा. केसी सुर्खेत आएको छ वर्ष भयो । यो अवधिमा कर्णालीका १० जिल्ला मध्ये आठ जिल्लामा पुगेर ५४ स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । निःशुल्क औषधि वितरण गरेका छन् । उनी गाउँमा उपचार हुन नसक्ने विरामीहरुलाई सुगमका अस्पतालमा पु¥याएर पनि सेवा दिन्छन् ।
फाउण्डेशनमार्फत उनले वीरेन्द्रनगरमा अपाङ्गता भएका बालबालिकाका लागि पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याएका छन् । हिँडडुल गर्न नसक्ने र विशेष क्षमता भएका बालबालिकाहरुको यहाँ निःशुल्क उपचार हुन्छ । ‘आफनो बच्चा स्वस्थ, तन्दुरुस्त होस् भन्ने चाहना सबै अभिभावकको हुन्छ,’ उनले भने, ‘विभिन्न कारणले उमेर पुगेर पनि हिँडडुल गर्न नसक्ने त्यस्ता बालबालिकाको निःशुल्क उपचारका लागि पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याएको हुँ ।’
चार वर्षअघि स्थापित केन्द्रबाट हालसम्म पाँच सय भन्दा धेरै बालबालिकाले निःशुल्क उपचार पाएका छन् । पुनःस्थापना केन्द्रमा हिँडडुल गर्न नसक्ने बालबालिकाका लागि विभिन्न उपकरणमार्फत अभ्यास गराउने, आवश्यक परेको खण्डमा औषधि दिने गरिन्छ । शारिरिक अपाङ्गता भएका यस्ता बालबालिकाका आमाहरुमा इन्जाइटिस र डिप्रेसनको समस्या देखिन्छ । उपचारपछि भने त्यस्ता आमाहरु सन्तानसँगै खुशी बोकेर घर फर्किने गरेको उनले बताए ।
डा. केसी दैनिक दुई सयको हाराहारीमा बालबालिकाको चेकजाँच गर्छन् । ‘उपचारका लागि आउने बालबालिकाको अनुहार हेर्दा थकान मेटिन्छ,’ डा. केसी भन्छन्, ‘अझ उपचारपछि सन्चो भएर घर फर्किँदा पाइने खुशीको सीमा रहँदैन् ।’ कर्णालीमा कुपोषणको समस्या धेरै छ । एमडी पूरा गरेपछि उनी मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल (हालको प्रदेश अस्पताल) पुगेका थिए । अस्पतालको अवस्था दयनीय थियो । बालरोग विशेषज्ञ थिएनन् । अस्पतालको दूरावस्था देखिपछि उनले आफ्नै जिल्लामा बस्ने निर्णय गरे । ‘गाउँका दुर्गम क्षेत्रबाट आउने विपन्न जनताको उपचार गर्ने अवसर प्राप्त हुने भएकोले आफ्नै ठाउँको अस्पताल रोजेको हुँ,’ उनले भन, ‘अहिले जे गरिरहेको छु, जुन किसिमको माया पाइरहेको छु, त्यसमा पूर्णतया सन्तुष्ट छु ।’
दुई वर्षअघि वीरेन्द्रनगरका एक बयस्कको काठमाडौंको निधन भयो । उनको ब्लड कल्चर टेष्ट गर्दा किटाणुको संक्रमण देखियो । ‘यो नालीमा जमेको फोहरबाट लाग्ने रोग थियो,’ उनले भने, ‘त्यसपछि व्यक्तिको उपचार गरेर मात्रै नहुने देखिएपछि ‘ग्रिन सुर्खेत, क्लिन सुर्खेत’ अभियानको सुरुवात गरिएको हो ।’ सुर्खेतलगायतका बजार क्षेत्रका नालीहरुमा अस्पतालदेखि क्लिनिकको फोहर जम्मा हुन्छ । डा. केसीका अनुसार फोहर व्यवस्थापन गर्न सकेको खण्डमा मात्रै ५० देखि ६० प्रतिशत रोगलाई व्यवस्थापन गर्न सकिन्छ । फाउन्डेसनले वीरेन्द्रनगरमा चेतनामूलक सरसफाई कार्यक्रम गर्नुका साथै ठाउँठाउँमा फोहोर राख्ने भाँडा (डस्टबिन) र पार्क निर्माण गर्ने गरेको छ । डा. केसीले प्रत्येक शनिबार वीरेन्द्रनगरमा सरसफाई अभियान सञ्चालन गर्छन् । उनी आफै बेल्चाले नालीभित्रको फोहर उठाउँछन् । झाडुले सडक र चोकहरु सफा गर्छन् । फोहर थुप्रिएको ठाउँमा पार्कहरु निर्माण गर्छन् । उनकै अगुवाईमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरले सरसफाईमा ठूलो फड्को मारेको छ ।
स्थानीय सरकार अहिले उनको अभियानमा जोडिएको छ । ‘गरे नहुने केही छैन्,’ डा. केसी भन्छन्, ‘पहिले फोहर थुपारिने ठाउँहरु अहिले सुन्दर बगैचामा परिणत भएका छन्, अभियानमा दिनदिनै विभिन्न सामाजिक संघ–संस्था मात्रै होइन्, स्थानीय र प्रदेश सरकार पनि जोडिएका छन् ।’ विरामीको सेवामा लाग्नुपर्ने चिकित्सक हातमा झाडु र बेल्चा बोकेर सडक र नाली सफा गर्न निस्केपछि आफूहरुलाई पनि जिम्मेवारीप्रति बोध गराएको उनीहरु बताउँछन् । यो अभियान अहिले कोरोना संक्रमणका कारण रोखिएको छ ।
केसी सामाजिक सेवाका लाग्नुको प्रेरणा भारतका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलामलाई मान्छन् । ‘तिमी जिन्दगीभर जागिर खानकै पछि लाग्यौ भने जीवन सफल हुँदैन, अरुलाई जागिर दिन सक्षम भयौ भने त्यो सफलता हो,’ कलामको यही आदर्शबाट डा. केसी प्रभावित छन् । डाक्टर केसीले एमविविएसको अध्ययन सकाएका थिए । दीक्षान्त समारोहमा भारतका पूर्व राष्ट्रपति कलाम आइपुगे । त्यहाँ उनले व्यक्त गरेका विचारबाट उनी धेरै प्रभावित भए ।
समाजसेवी डाक्टरको पहिचान बनाएका केसीको चाहना भने संगीतकार बन्ने थियो । उनले आफ्नो सपनाको बाटो हिँड्न पाएनन् । ‘बुवाले डाक्टर बनेर दुर्गमका विरामीको सेवा गर्नुपर्छ भन्नुभयो’ उनले भने, ‘बुवाको चाहना पूरा गर्न आफ्नो सपनालाई मनमै राखेँ ।’ डाक्टर भइसकेपछि भने उनले सपनालाई साकार पारे । २०६५ सालमा उनले ‘अंगाली देउ’ नामको एल्वम बजारमा ल्याए । आफैले रचना तथा संगीत भरेको एल्वमबाट भएको आम्दानी उनले त्यतिबेलाका द्वन्द्वपीडित बालबालिकाको पढाईमा खर्चिएका थिए । थोरै भएपनि अधुरो संगीतको यात्रालाई पूरा गरेको उनी बताउँछन् । उनी चिकित्सकीय र सामाजिक सेवाबाट बचेको समय अहिले पनि गीत सृजना र संगीत भर्नमै व्यस्त हुन्छन् ।
अबको लक्ष्य
एसओएस हर्मन माइनर विद्यालय सुर्खेतबाट २०५५ सालमा एसएलसी उत्तीर्ण गरेका उनले ललितपुरको निष्ट कलेजमा आइएस्सी अध्ययन गरे । बाँकेको कोहलपुरबाट आंशिक छात्रवृत्तिमा एमबीवीएस पूरा गरेका डा. केसीले फिलिपिन्स सरकारको छात्रवृत्तीमा नेशनल चिल्ड्रेन अस्पतालबाट एमडी गरे । डा. केसीको अवको लक्ष्य कर्णाली प्रदेशमा बालबालिका र महिलाका लागि विशेषज्ञ सेवासहितको अस्पतालका साथै अपाङ्गता भएका वालवालिकाहरुका लागि विद्यालय सञ्चालनमा ल्याउने हो । ‘राज्यले स्वास्थ्यमा लगानी गर्नुपर्छ भन्ने मेरो मान्यता हो, सरकारी स्तरबाटै बालबालिका र महिलाका लागि छुट्टै विशेषज्ञ सेवासहितको अस्पताल कर्णालीमा आवश्यक छ’ उनले भने, ‘राज्यका तर्फबाट नभए आफै अस्पताल सञ्चालन गर्ने तयारीमा छु ।’
उनले कर्णालीमा बालबालिकाको स्वास्थ्य समस्या अधिक रहेको देखेका छन् । ‘कर्णालीका १० मध्ये आठ जिल्लामा पुगेको छु, यहाँका अपाङ्गता भएका बालबालिकाको उपचारमा धेरै समस्या देखें’ उनले भने, ‘त्यसैले उनीहरुको पुनःस्थापना र उपचारका लागि काम गर्ने तयारीमा छु ।’ डा. केसीका अनुसार पुन:स्थापना केन्द्रमार्फत उपचार र अर्थोटिक्स सेवा दिइने छ । कर्णाली प्रदेश पर्यापरणीय जोखिममा छ । अहिले साना बालबालिकामै दमको समस्या देखिएको छ । यसका लागि कर्णालीका विद्यालयहरुमा इको क्लव गठन गर्ने तयारी उनको छ ।
प्रकाशित: १ श्रावण २०७७ ०८:२२ बिहीबार