८ वैशाख २०८१ शनिबार
समाज

काँक्रा र तिते करेला गाईवस्तुलाई खुवाउँदै किसान

आफ्नो बारीमा खेर गएको काँक्रा संकलन गर्दै किसान राजकुमार राई र गोरुलाई दिइएको काँक्रा। तस्बिरः नागरिक

खोटाङको केपीलासगढी गाउँपालिका–५ सप्तेश्वर मालदेलका किसान राजकुमार राईले हरेक वर्ष मौसमी काँक्रा र तिते करेला उत्पादन गरेर लाखौं आम्दानी लिन्थे। तर, यसपल्टको लकडाउनका कारण राईले बगानभरी उत्पादन गरेको काँक्रा र तिते करेला खेर गएको छ।  

हाटबजार बन्दा हुँदा लाखौंको काँक्रा र तिते करेला बारीमै कुहिएर खेर गएको राईले बताए। दिनरात श्रम गरेर फलाएको काँक्रा र तिते करेला बोटमै पाकेर कुहिन थालेपछि राईले सुँगुर र गाईगोरुलाई खुवाइरहेका छन्।  

बजार नपाउँदा करिब तीन गाडी काँक्रा र डेढ गाडी तिते करेला खेर गएको राईले बताए। ‘सँधै काँक्रा र तिते करेला हाटबजारमा पु¥याउँथे र यसपल्ट सबै हाटबजार बन्द छ,’ राईले भने, ‘धेरै काँक्रा र तिते करेला हुर्किर खेर गयो। टिपेर गाईबस्तुलाई खुवाइरहेका छौँ तर धेरै खुवाउँदा गाईबस्तुले छेर्दो रहेछ।’  

नेपाली सेनाको जागीर छाडेर कृषि पेशामा लागेका राजकुमारले १७ रोपनी जग्गामा टमाटार, काउली, तितेकरेला, भिण्डी, बोडी, काँक्रा, धनिया, खुर्साली, प्याज लगायतका मौसमी तथा बेमौसमी बाली लगाउने गरेका छन्।  

हरेक वर्षको चैत, बैसाख र जेठकोबीचमा लगाइने तिते करेला, काँक्रा, भिण्डी, बोडीबाट उनले सबैभन्दा राम्रो आम्दानी लिने गरेका थिए। बगानमा उत्पादित तरकारी तथा फलफुल केपीलासगढी गाउँपालिकाको केन्द्रकारुपमा रहेको बाक्सिलाबजार, ऐसेलुखर्क गाउँपालिकाको केन्द्र ऐसेलुखर्कबजार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारमा बिक्री हुने गरेकामा यसपल्ट लकडाउनका कारण खेर गएको राईले गुनासो गरे।  

सडकको पहुँच विस्तारसँगै उनले उत्पादन गरेका तरकारी तथा फलफुल गाडीमार्फत बाक्सिला, ऐसेलुखर्क र दिक्तेलबजार पु¥याउने गरिएको थियो। तरकारी तथा फलफुलबाट बार्षिक नौ लाखको हाराहारीमा आम्दानी हुने गरेकामा यसपल्ट तीन लाख मात्र आम्दानी भएको राईले बताए। भाउ पर्दा कुनै बेला एक हप्तामा ५० हजारको हाराहारीमा आम्दानी हुने गरेको उनको अनुभव छ।  

२०४४ सालमा नेपाली सेनामा भर्ती भएर १० वर्ष बिताएका राजकुमार गाउँ फर्किएर बाझिएको जग्गामा व्यवसायीक खेतीमा लागेका हुन्। खेर गइरहेको जग्गामा बनाइएको बगानमा उनले ११ सय बोट केरा हुर्काएका छन्। पानी प्रशस्त भइरहने जग्गामा उनले अलैंची बगान बनाएका छन्। उनले अलैंची बगान तथा तरकारी खेती टाढा–टाढाबाट समेत देख्न सकिन्छ। कृषिको व्यवसायीकरणकाक्रममा उनले २०७२ सालमा बार्षिफार कृषि फर्म दर्ता गरेका छन्।  

ठूलो क्षेत्रमा गरिएको कृषि फर्ममा बार्षिक दुई लाखमा एक जनाले रोजगार पाएका छन्। राजकुमारलाई कृषि फर्म सञ्चालनमा श्रीमती पूर्णलक्ष्मीले साथ दिइरहेकी छन्।  

 

 

प्रकाशित: १ श्रावण २०७७ ०६:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App