१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सडक मर्मत नहुँदा स्थानीयलाई सास्ती

धनगढीको भत्कीएको सडक। तस्बिरः पुष्पराज जोशी/नागरिक

सुदूरपश्चिममा पुरानो मध्येको सहर धनगढी हो। यही पुरानो सहरमा पछिल्ला वर्षहरूमा आधुनिक महल (भवन) निर्माण हुँदै गर्दा बजार विस्तार भएको छ। धनगढी नगरपालिका उपमहानगरपालिकामा विकसित भएको छ। अझै उपमहानगरपालिकालाई सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीका रूपमा राखिएको छ। यही अस्थायी राजधानीमा प्रदेश प्रमुखदेखि मन्त्री तथा प्रदेश सांसदको बसोबास छ। धनगढीले शिक्षा, स्वास्थ्य र सहरी क्षेत्रमा विकासको फड्को मारेपनि सडकका क्षेत्रमा भने भने जीर्ण अवस्था रहेको छ।  

धनगढीको मुख्य बजार क्षेत्र चौराहदेखि क्याम्पस चोक तथा अन्य भित्री सडक अहिलेसम्म मर्मत नहुँदा ‘थोत्रा’ छन्। धनगढीको मुख्य बजारको सडक नै ठाउँठाउँमा फुटेको बताउँदै स्थानीय व्यापारी रविन्द्र जोशी भन्छन्, ‘कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक त करिब १५ वर्षदेखि मर्मत सम्भार नै हुन सकेको छैन।’ करिब डेढ दसकदेखि मर्मत सम्भार नहुँदा थोत्रा सडकमाथि सवारी गुडाउनै मुस्किल भएको उनको भनाइ छ। ‘ठाउँठाउँमा फुटेका सडकमा सवारी साधन गुडाउनै गाह्रो हुने गरेको छ,’ उनले भने, ‘पानी पर्दा त झन खाडल भरिएर गाडीको चक्का नै पन्चर हुने डर हुन्छ।’  

मुख्य बजार क्षेत्रको सडक मात्रै नभई साविकको धनगढी नगरपालिकाका १४ वडाका कुनै पनि सडक मर्मत सम्भार हुन नसकेको बताउँदै अर्का स्थानीय राजेन्द्र चौधरीले भने, ‘साविकको धनगढी नगरपालिकाका १४ वटै वडामा अहिले पनि ‘थोत्रै सडक’ छन्। कच्ची जस्तै भएका सडकले स्थानीयलाई समस्या परेको उनले बताए। ‘धनगढीका पुराना वडामा वर्षौ पहिले कालोपत्रे गरेर भत्केका सडक देखिन्छन्,’ उनले भने, ‘यसलाई मर्मत सम्भार गर्न तथा नयाँ कालोपत्रे गर्न अहिलेसम्म न त उपमहानगरपालिकाले काम गरेको छ, न त प्रदेश सरकार नै।’  

पुराना र भत्केका सडकमा सवारी साधन गुडाउँदा गाडी नै थोत्रिन थालेको सवारी धनी रोहित धामीले बताए। ‘धनगढीका जुनसुकै गाउँमा जाँदा खाल्डा खुल्डी परेका सडक छन्,’ उनले भने, ‘ती सडकमा सवारी साधन गुडाउँदा गुडाउँदै गाडी नै थोत्रिइसक्यो।’ नगरको सडक मर्मत तथा निर्माण गर्ने जिम्मा स्थानीय तहकै भएको बताउँदै धनगढी उपमहानगरपालिकाका इञ्जिनियर दिजराज भट्टले भने, ‘प्राविधिक कारणले गर्दा हामीले साविकको धनगढी नगरपालिकाको सडक मर्मत सम्भार गर्न सकेका छैनौ।’  

१४ वटा वडा भएको साविकको धनगढी नगरपालिकाका सडकको अवस्था झन दयनीय हुँदै गएको बताउँदै उनले थपे, ‘समय समयमा मर्मत त गरेका हौँ, तर पछिल्लो समयमा भने मर्मत सम्भार गर्न सकिएको छैन।’ सन् २०१५ मा एशियाली विकास बैंकको सहयोगमा (आरयूडीपी) कार्यक्रम सम्झौता भएकाले ती सडकमा उपमहानगरपालिकाले काम नगरेको इञ्जिनियर भट्टको भनाइ छ।

विविध कारणबस आरयूडीपी कार्यक्रम समयमै सुरु हुन नसक्दा सडकमा जोखिम बढ्दै गएको उनले बताए। ‘आरयूडीपी कार्यक्रमले धनगढीका १४ वटै वडाका २५ वटा सडकका ४२ किलोमिटर सडक कालोपत्रे गर्ने सहमति गरेको थियो,’ इन्जिनियर भट्टले भने, ‘त्यही भएर उपमहानगरपालिकाले सडक मर्मतको काम सुरु गरेको छैन।’ ४२ किलोमिटरको योजना विभिन्न कारणले ढिला हुँदा असार २८ गतेसम्म १० किलोमिटर मात्रै कालिका कन्ट्रक्सनसँग बनाउने सम्झौता भएको छ। बाँकी सडक दुई वर्षपछि मात्रै अर्को प्रक्रिया अगाडि बढाएर बनाउने प्रतिवद्धता आरयूडीपीले गरेको छ।  

आगामी दुई वर्षसम्म पनि धनगढीमा रहेका सडक निर्माण नहुने देखिएको सरोकारवाला बताउँछन्। ‘आरयूडीपीले १० किलोमिटर सडक मात्रै यसपालि बनाउँदैछ,’ स्थानीय नरबहादुर शाहले भने, ‘बाँकी सडक कहिले बनाउने अल्यौलमै रहेकाले यसमा न त उपमहानगरपालिकाले हात हाल्छ, न त आरयूडीपीले नै समयमै बनाउँछ।’ समयमै सडक मर्मतको काम सुरु नहुँदा धनगढीवासीले दुःख पाइरहेका छन्। 

प्रकाशित: १ श्रावण २०७७ ०३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App