६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मेलम्ची सुरुङमा दुर्घटना: एक्कासि गेट खुल्दा इन्जिनियरसहित दुई बेपत्ता

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा दुर्घटना हुँदा पानीले बगाएको गाडी नियाल्दै सुरक्षाकर्मी। तस्बिर: निमा ग्याल्जेन ह्योल्मो शेर्पाको फेसबुकबाट

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको ढोका (गेट) मंगलबार एक्कासि खुल्दा तेज गतिको पानीले बगाएर दुई कर्मचारी बेपत्ता भएका छन्। अन्य दुईजनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। आयोजनाको मुहान स्थल हेलम्बुस्थित अम्बाथान अडिट सुरुङ (टनेल) भित्रको मुख्य सुरुङको गेट एक्कासि खुल्दा यस्तो दुर्घटना भएको होे।  

परीक्षणका क्रममा रहेको सुरुङको अवस्था हेर्न मध्याह्न १२ बजेतिर अडिट टनेल (बाहिरी सुरुङ) बाट मुख्य सुरुङतर्फ अघि बढेका इन्जिनियर सतीश गोइत र चालक राधाकृष्ण थापालाई गेट खुस्केपछि तेज गतिको पानीले बगाएर बेपत्ता पारेको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए। उनका अनुसार प्राविधिकसहित चार कर्मचारी दुई सय ९८ मिटर लामो टनेलबाट अघि बढ्दा मुख्य सुरुङमार्गको नटबोल्ट एक्कासी खुस्किएर गेट खुलेको थियो। गेट खुलेपछि तेज गतिमा निस्किएको पानीले चारैजनालाई मेलम्ची खेलामा हुत्याइदिएको थियो। बग्दै गरेका इन्जिनियर शेखर खनाल र अर्का प्राविधिक पेम्बादोर्जे तामाङलाई भने सुरक्षाकर्मीले उद्धार गरेका थिए। घाइते उनीहरुको ललितपुरको ग्रान्डी अस्पतालमा उपचार भइरहेको आयोजनाले जनाएको छ। बेपत्ता गोइत र थापा भने बेपत्ता छन्। आयोजनाको एउटा गाडी पनि बगेको छ।  

‘नटबोल्ट खुस्केपछि गेट खुल्न पुग्यो। त्यसै बेला प्राविधिक कर्मचारी सुरुङ निरीक्षणमा पुगेका रहेछन्,’ प्रवक्ता पन्तले भने। गेट खुस्किएको टनेल हेडवक्र्स (मुहानस्थल) बाट आठ सय मिटर तल रहेको उनले बताए। ‘टनेल गेट घरको ढोकाजस्तै हो। एकातिर कब्जा ठोकेर अड्याइएको हुन्छ। अर्कोतिर नटबोल्ट कसेर गेट बन्द गरिएको थियो,’ पन्तले भने, ‘पानीको तीव्र दबाबले नटबोल्ट खुस्कियो र ढोका खुयो।’ नटबोल्ट राम्ररी नकस्सिएकाले  यस्तो दुर्र्घटना भएको अनुमान गरिएको छ।

गेट खुलेर १० दिनको काम व्यर्थ बन्दा परीक्षण अवधि र पानी वितरण गर्ने लक्ष्य लम्बिने भएको छ। गेटको नटबोल्ट एक्कासि खुस्किँदा दुर्घटना भएको हो।

चार बाहिरी सुरुङमार्गबाट मुख्य सुरुङमा जम्मा ६ ढोका राखिएका छन्। सुन्दरीजल, सिन्धु, ग्याल्थुममा एकएक ढोका छन्। अम्बाथानमा तीनवटा ढोका छन्। त्यसैमध्येको एक ढोका खुलेको आयोजनाले जनाएको छ। प्रवक्ता पन्तका अनुसार हेडवक्र्सदेखि अम्बाथानसम्म सुरुङ ओरालो छ। त्यसपछि ग्याल्थुमसम्म ४.३ किमि सुरुङ उकालो छ। सिन्धुसम्म पुनः ओरालो झर्ने पानी त्यसपछि तीन हजार आठ सय मिटर उकालो हुँदै सुन्दरीजल झर्छ। ‘ओरालो सकिएर उकालो सुरु हुने ठाउँमा ढोका खुलेको हो। जहाँ दबाब बढी हुन्छ,’ पन्तले भने।  

असार २१ गते आयोजनाको साढे २६ किलोमिटर सुरुङमार्गमा मुहानस्थलबाट पानी प्रवेश गराएर परीक्षण थालिएको थियो। परीक्षणको १०औं दिनमा सुरुङको पहिलो गेट (मुहानस्थलबाट) खुलेको हो। गेट खुलेर सुरुङभित्रको पानी बाहिर आएपछि १० दिनको परीक्षण व्यर्थ भएको छ। आयोजनाले खुस्केको गेट बलियो पारेपछि फेरि परीक्षण गरिनेछ। ‘परीक्षणका क्रममा स–साना दुर्घटना र प्राविधिक समस्या निम्तिने पूर्वानुमान गरिएको हुन्छ। यसलाई कमजोरी मान्न मिल्दैन। तर यस्ता समस्या दोहोरिँदै गए परीक्षण अवधि लम्बिन्छ,’ प्रवक्ता पन्तले भने।

सुरुङ परीक्षण गर्न दुई महिना लाग्ने अनुमानसहित पानी हालिएको थियो। सुरुङ भरिन २० दिन लाग्ने र भरिएको पानीलाई थप १० दिनभित्रै होल्ड गरेर फेरि दुई साता लगाएर सुरुङ खाली गराउँदै परीक्षण पूरा गर्ने तयारी थियो। सुरुङमा प्रतिसेकेन्ड ६ हजार लिटर पानी पठाउन सकिने भए पनि पाँच प्रतिशत मात्र प्रवेश गराइएको प्रवक्ता पन्तले जानकारी दिए। ‘दुर्घटना हुन नदिन भनेर थोरै पानी प्रवेश गराइएको थियो,’ उनले भने। १० दिनको काम व्यर्थ बन्दा परीक्षण अवधि र पानी वितरण गर्ने लक्ष्य त्यति नै लम्बिने उनले जानकारी दिए। कमजोरी पत्ता लगाएर त्यसलाई सुधार्दै अघि बढ्ने चरण नै परीक्षण भएकाले स–साना समस्या आउँदैमा आत्तिनुनपर्ने पन्तको भनाइ छ।

प्रकाशित: ३१ असार २०७७ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App