८ वैशाख २०८१ शनिबार
समाज

संखुवासभाका विस्थापितलाई बेसी झारियो, प्रदेश सरकारको राहत सामग्री हेलिकप्टरमार्फत पुग्यो

संखुवासभाको पहिरोले विस्थापित परिवारलाई राहत पुर्‍याउने सेनाको हेलिकप्टर । तस्बिर स्रोत : अर्जुन आचार्य

पहिरोले विस्थापित भएका संखुवासभाको सिलिचोङ गाउँपालिका १ का ८२ घरपरिवारको लागि प्रदेश १ सरकारले आवश्यक खाद्यान्न तथा राहत सामग्री पुर्‍याएको छ । प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टरबाट सोमबार र मंगलबार गरेर खाद्यान्न तथा राहत सामग्री पुर्‍याएको हो । सोमबार सेनाको हेलिकप्टरमा मुख्यमन्त्री शेरधन राई आफै राहत लिएर गएपनि प्रतिकुल मौषमको कारण विस्थापित राखिएको ठाउँमा हेलि बस्न सकेन । त्यसपछि तुम्लिङटारस्थित विमानस्थलमा राहत सामग्री झारेर हेलि विराटनगर नै फर्किएको थियो । 

मंगलबार पनि दुई पटक गरेर राहत सामग्री हेलिकप्टरबाट पुर्‍याएको हो । मंगलर दोस्रो फ्लाइटमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियैत पनि गएका थिए । त्यसबेला पनि विस्थापित राखिएको ठाउँमा हेलिकप्टर बस्न नसकेपछि तुम्तिलङटारमा राहत पुर्‍याएर फर्किएको थियो ।

मन्त्री कुसियैतका अनुसार तुम्लिङटार विमानस्थलमा राखिएको राहत सामग्रीलाई अर्को सानो हेलिकप्टरको व्यवस्था गरेर विस्थापितहरु भएको ठाउँसम्म पुर्‍याउन निर्देशन दिइएको बताए । ‘तुम्लिङटारबाट अर्को सानो हेलिकप्टरको व्यवस्था गरेर राहत विस्थापित भएको ठाउँसम्म पुर्‍याउन निर्देशन दिएका छौं । हिजो मुख्यमन्त्री पनि ठाउँसम्म पुग्न सक्नुभएन, आज म पनि पुग्न सकिन,’मन्त्री कुसियैतले भने,‘एउटा हेलिकप्टर स्टाण्डबाई राख्न पनि भनेको छौं । खाद्यान्न, अन्य सामग्री र उद्दारको लागि त्यो हेलिकप्टर प्रयोग हुन्छ ।’  

चिसो भएपछि विस्थापितलाई सारियो

संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले प्रदेश सरकारले पठाएको राहत सामग्री विस्थापित भएको ठाँउसम्म पुगिसकेको बताएका छन् । उनका अनुसार प्रदेश सरकारको निर्देशन वमोजिम अर्को हेलिकप्टरको व्यवस्था गरेर तुम्लिङटारबाट राहत सामग्री पुर्‍याइएको हो । 

पहिरोले विस्थापित ८२ घरका ३ सय ४९ जना छन् । उनीहरुलाई २ दिनदेखि चित्रे भन्ने ठाउँमा राखिएको छ । चित्रे अत्यन्तै चिसो मौषम भएकोले बालबालिका र वृद्धवृद्धाहरुको स्वास्थ्यमा असर पर्ने भएकोले २ घण्टा तल बुधबारेको सिसुवाटारमा सबैलाई सारिएको प्रजिअ आचार्यले जानकारी दिए । चित्रेमा स्थानीयबासीको घरमा विस्थापितहरुलाई राखिएको थियो । ‘विस्थापित सबैलाई बुधबारे सिसुवाटारमा झारेका छौं, र जनप्रतिनिधिहरुको समन्वयमा राहत सामग्री पनि त्यही पुर्‍याएका छौं,’प्रजिअ आचार्यले भने,‘भूकम्पको बेलाको जस्तो नै टेण्ट प्रदेश सरकारबाट आएको छ । अन्य आवश्यक खाद्यान्न, कम्बल, त्रिपाल, म्याट्रेस, औषधि र स्वास्थ्यकर्मीको पनि व्यवस्थ गरिएको छ ।’

विस्थापित भएकामध्ये एक जनाको हातमा चोट लागेको थियो । उनलाई खाँदबारीमा ल्याएर उपचार भइरहेको पनि प्रजिअ आचार्यले बताए । ‘गम्भीर विरामी छैनन् । स्थानीय स्वास्थ्यकर्मीहरु खटिएका छन्,’उनले भने,‘अहिले हामी उद्दारमा केन्द्रीत छौं । पछि पुर्नस्थापनमा के गर्ने भनेर जनप्रतिनिधिसँग समन्वय गरेर जान्छौं ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले पनि बालबालिकाहरुलाई चिासोले विरामी हुने सम्भावना भएपछि बुधबारे भन्ने बेसिमा झरिएको बताए । सिलिचोङ गाउँपालिकामा शनिबार राती गएको पहिरोले ९ घर बगाएको थियो भने ११ जना बेपत्ता पारेको थियो । उनीहरु अझै भेटिएको छैन । उद्दारमा खटिएका स्थानीय एक व्यक्तिको पनि मृत्यु भएको थियो ।

प्रकाशित: ३० असार २०७७ १३:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App