१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मेलम्ची सुरुङ परीक्षण : अम्बाथान टनेलको गेट खुल्दा दुई बेपत्ता

फाइल तस्बिर

परीक्षणको क्रममा रहेको मेलम्ची खानेपानी आयोजनाको टनेल गेट (मुख) खुल्दा मंगलबार दुई कर्मचारी मेलम्ची खोलामा बगेर बेपत्ता भएका छन्।  दुईलाई घाइते अवस्थामा उद्धार गरिएको छ।  

आयोजनाको मुहानस्थल हेलम्बुमा रहेको अम्बाथान टनेलको गेट खुलेको हो।  मध्याह्न १२ बजेतिर एक्कासी टनेल गेट खुलेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।  उनका अनुसार आयोजनाका इन्जिनियर शतिष गोइत र  चालक राधाकृष्ण थापालाई गेट खुल्दा सुरुङबाट  तीव्र वहावमा निस्किएको पानीले बगाएर बेपत्ता बनाएको हो।  

त्यस्तै इन्जिनियर शेखर खनाल र अर्का प्राविधिक पेम्बादोर्जे तामाङ घाइते भएका छन्।  बगिरहेको अवस्थामा उनीहरुलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका थिए।  घाइतेलाई उपचारको लागि राजधानी लगिएको छ।  आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बेपत्ता र घाइते निरीक्षण कर्मचारी रहेको बताए।  ‘सुरुङभित्र पानीको प्रेसरले एक्कासी गेट खुलेको भन्ने रिपोर्टिङ फिल्डबाट भएको छ,’ उनले नागरिकसँग भने।  गेट खुल्दा प्राविधिक र अरु कर्मचारी निरीक्षण गरिरहेका थिए।  आयोजनाको एउटा गाडी पनि सुरुङबाट बाहिर निस्किएको पानीले बगाएको उनले जानकारी दिए।  

प्रवक्ता पन्तले हेडवक्र्स (मुहानस्थल) बाट आठ सय मिटर तल रहेको अम्बाथान टलेनको गेट खुलेको जानकारी दिए।  ‘हामी सम्पर्क प्रयासमै छौँ।  बिस्तृत जानकारी आइसकेको छैन,’ उनले भने।  असार २१ गते आयोजनाको साढे २६ किलोमिटर लामो सुरुङमार्गमा मुहानस्थलबाट पानी प्रवेश गराएर परीक्षण थालिएको थियो।  पानी पथान्तरणको १० औँ दिनमा सुरुङको पहिलो गेट (मुहानस्थलबाट) खुलेको हो।  

गेट खुलेपछि सुरुङमा रहेको सबै पानी मेलम्ची खोलामा निस्किएको प्रवक्ता पन्तले जनाए।  सुरुङ भरिन २० दिन लाग्ने अनुमानका साथ मेलम्ची खोलो प्रवेश गराइएको थियो।  ‘सुरुङको कहाँसम्म पानी आइपुगेको थियो भन्ने थाहा हुँदैन।  सुरुङ भरिएको सुन्दरीजलमा पानी खसेपछि मात्र थाहा हुन्थ्यो,’ उनले भने।  

 हावाको चापका कारण टनेल गेट खुलेको हुन सक्ने आयोजनाले जनाएको छ।  हावाको चाप व्यवस्थापनको लागि सुरुङमा भेन्टिलेसनसमेत राखिएको थियो।  सुरुङ परीक्षण गर्न दुई महिना लाग्ने अनुमान आयोजनाले गरेको थियो।  यो घटनाले परीक्षण अवधि र मेलम्ची पानी राजधानी पुग्ने मिति प्रभावित हुन सक्ने बताइएको छ।  

 

 

प्रकाशित: ३० असार २०७७ ०९:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App