५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सुदूरपश्चिममा बर्सेनि बढ्दै प्रकोपका घटना

सुदूरपश्चिम प्रदेशमा असारमा मात्रै १२ जनाले ज्यान गुमाएका छन् भने १५ घाइते भएका छन् । सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपद्का घट्नाबाट बर्सेनि जनधनको ठूलो क्षति हुने गरेको छ । बाढीपहिरो, कटान, डुवानका कारण मानवीय क्षति हुनुका साथै पशुचौपाया र धनजनको क्षति हुने गरेको छ । तर, विपद्बाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक तयारीमा सरकार प्रत्येक वर्ष चुक्दै आएको छ । क्षति बेहोरेपछि मात्रै व्यवस्थापनमा जुट्ने नीतिका कारण बर्सेनि क्षति हुने गरेको छ ।

गत हप्ता बझाङमा आएको पहिरोमा परी ७ जनाले ज्यान गुमाए । केदारस्यु गाउँपालिका–८ मल्लेसीमा असार १९ गते राति पहिरोमा परी ६ जनाको मृत्यु भएको थियो भने एक जना अझै हराइरहेका छन् । उक्त पहिरोमा दर्जनौं पशु चौपायाको मृत्यु र लाखौंको धनजनको क्षति भएको छ । यो नै यो वर्ष सुदूरपश्चिम प्रदेशकै ठूलो क्षति हो ।  

बर्खा सुरु भएसँगै तराईमा बाढी, डुबानको त्रास हुन्छ भने पहाडमा पहिरोलगायतका प्रकोपले विपत्ति निम्ताउने गरेको छ । बर्सेनि आउने प्राकृतिक विपत्तिबारे थाहा हुँदाहुँदै पनि सधैं व्यवस्थापनमा भने सधै सरकार चुक्ने गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा असारमा मात्रै १२ जनाले ज्यान गुमाएका छन् । भने १५ जना घाइते भएका छन् । पहिरो, चट्याङ, डुबेर उनीहरुले ज्यान गुमाएका हुन् । यसका साथै बाढी, पहिरोले दर्जनौ घर भत्केका छन् भने लाखौं रुपैयाँको धनजनको क्षति भएको सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी मुकेशकुमार सिंहले बताए । सुदूरपश्चिम प्रदेश सरकारले तयार पारेको प्रदेश विपद् कार्ययोजना अनुसार प्रदेशमा सन् २०१० देखि २०१९ सम्म प्रदेशमा प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपका तीन हजार एक १५ वटा घटना भएका छन् ।

पछिल्लो १० वर्षको अवधिमा भएका प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घटनामा ५० हजार ९ सय ६८ घरपरिवार प्रत्यक्ष प्रभावित भएका छन् । ७ सय ८५ मानिस घाइते भएका छन् भने एक हजार ४३ सय ७९ घरहरू पूर्ण र ६ हजार ९ सय ४१ घर आंशिक रूपमा क्षतिग्रस्त भएको प्रदेश विपद् कार्ययोजनाको तथ्यांकले देखाएको छ ।

सुदूरपश्चिममा बाढीपहिरो, भूकम्प, आगलागी, डुबान, चट्याङ, खडेरी, हिमपात, असिनापानी, हिमपहिरो, अतिवृष्टि, अनावृष्टि, हुरीबतास, शीतलहर, आदि प्राकृतिक तथा सडक दुर्घटना, महामारी, अनिकाल, जंगली जनावर आतंक, सर्पदंश लगायतका प्रकोपबाट बर्सेनि धनजन क्षति हुने गरेको छ । सुदूरपश्चिममा विपद्बाट बर्सेनि सरदर १ सय ४० घर पूर्णरूपमा र ७ सय घर आंशिकरूपमा क्षति हुने गरेको तथ्यांक छ । प्रकोपबाट बर्सेनि ठूलोधनजनको क्षति भए पनि समयमै खोजउद्धार, राहत र पुर्नःउत्थानमा ढिलाइ हुने गरेको रेडक्रस बैतडी मन्त्री रमेशसिंह भण्डारीले बताए । पहिरोको जोखिममा परेका घरमा अझै सर्वसाधारणहरु त्रासमा बस्दै आएका छन् । जोखिममा रहेका परिवारलाई अन्यत्र सार्न समयमै स्थानीय सरकारले तदरुकता देखाउन आवश्यक भएको मन्त्री भण्डारी बताउँछन् ।  

बर्षापछि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोको जोखिम बढेको छ । तराईमा पनि बाढी र डुवानको खतरा बढेदै गएको छ । विपद् व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकार तैनाथ रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णबहादुर राउतले बताए । विपद् व्यवस्थापनका लागि भन्दै प्रदेश सरकारले सुदूरपश्चिमका ९ वटै जिल्लामा खोज तथा उद्धार सामग्री खरिदका लागि ८४ लाख रूपैयाँ विनियोजन गरेको थियो । सोही रकमबाट सुदूरपश्चिमका नौवटै जिल्ला प्रशासन कार्यालयले सामग्री खरिद गरिसकेको उनले बताए ।

प्रकाशित: २७ असार २०७७ ११:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App