१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सिन्धुपाल्चोकमा बाढीको बितन्डा: ३३ घर बगायो, पुलपुलेसा र सवारी साधन पुरिए (अपडेट)

अबिरल बर्खासँगै उर्लिएका खहरे खोलाले बाढी र पहिरोको बितन्डा मच्चाउँदा भोटेकोसी नदी करिडोरका तीन बस्तीमा ठूलो जनधनको क्षतिको भएको छ। खहरेले बस्तीका ३३ घर बगाउँदा २० जना बेपत्ता भएका छन्। दुईको भने मृत्यु भएको छ।  

बुधवार रातिदेखिको भारी बर्खाले स्थानीय खहरे खोला उर्लिँदा निम्तिएको बाढी र पहिरोले बिहीबार बिहानपख बस्ती बगाएको हो। बाह्रविसे नगरपालिका–५ गाती जम्बुमा स्थानीय याल्बो खोल्साको बाढी ११ घर बगाएको छ। त्यहाँ १६ स्थानीय बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्ले जानकारी दिए। उनका अनुसार २० वर्षीय निकेश बस्नेत र उनको तीन वर्षीया छोरीको शब भेटिएको छ। यहाँ चार जना घाइते भएका छन्।  

त्यस्तै भोटेकोसी गाउँपालिका–५ बुल्कुटीका दुई घर बग्दा चार बेपत्ता छन्। दुई बालबालिका घाइते भएका छन्। त्यहाँ बुल्कोटी खोल्सीले बाढी, पहिरो निम्त्याएको हो। बाह्रविसे–३ कै खागदलमा बाढीले ठूलो भौतिक क्षति पु¥याएको छ। कच्ची र पक्की गरेर २० घर बगाएको प्रहरीले जनाएको छ। केही घर बगेका छन् भने केही घरमा लेदो माटो भरिएको छ। बाढीले अरनिको राजमार्ग जोड्ने खागदल खोलाको पक्की पुल बगाएको डिएसपी काफ्लेले जानकारी दिए। त्यस्तै राजमार्गमा रोकिराखेका एक÷एक बस, ट्रक, स्कार्पियो र ट्याङ्कर पनि बगाएको छ।  

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनास्थलमा सुरक्षाकर्मी पुगेर उद्धार लगायत काम थालिसकेको बताए। बिहीबार बिहान १ बजेदेखि बाढीले जनधन क्षति पु¥याउँन थालेको थियो। तत्कालै खबर आए पनि बाढी, पहिरोले राजमार्गका ठाउँ–ठाउँमा अवरोध पु¥याएकोले सुरक्षाकर्मी जान नसकेको उनले जनाए। बिहानीपख मात्र सुरक्षाकर्मी पैदल हिँडेर घटनास्थलतर्फ लागेका थिए।  

पहिरोले अरनिको राजमार्गको ठाउँ–ठाउँमा अवरोध पु¥याएकाले थप मद्दतको लागि सदरमुकामबाट सुरक्षाकर्मी जान सक्ने अवस्था छैन। बलेफी गाउँपालिका–७ र ९, बाह्रविसे–३,५ र ८ मा पहिरोले राजमार्ग अवरुद्ध गरेको छ। उद्धार, खोज र क्षति बिवरण संकलन भइरहेकाले जनधनको क्षति अझै बढ्न सक्ने प्रजिअ ढकालले बताए।

प्रकाशित: २५ असार २०७७ ०५:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App