१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खोलाको धमिलो पानी खानुपर्ने बाध्यता हट्यो

भेरीगंगा नगरपालिका–२ स्थित कुकुरफालेका स्थानीयको घरमा जडान गरिएका धारा ।

भेरीगंगा नगरपालिका–२ कुकुरफालेकी सुशीला रानाले जीवनको अधिकांश समय खानेपानीको जोहोमै बिताइन् । घरदेखि थर्मुरे खोला पुगेर एक गाग्री पानी ल्याउन तीन घण्टा लाग्थ्यो । बर्खाको भेलमा खोला पुगेर पानी ल्याउनु झनै सकस हुन्थ्यो । अहिले उनको आँगनमै धारा छ । एक गाग्री पानीका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता मात्रै हटेको छैन, थाप्लोमा पातोको साथ पनि छुटेको छ ।

‘पानीको स्रोत भएपनि बजेट अभावमा एक गाग्री पानीका लागि खोला धाउनुपर्ने बाध्यता थियो,’ रानाले भनिन्, ‘नगरपालिकाले आँगनमै पानी ल्याइदिएपछि अहिले धेरै सहज भएको छ ।’ आँगनमा धारा आएपछि खोलाको धमिलो पानी खानुपर्ने बाध्यता पनि हटेको छ । एक गाग्री पानीका लागि घण्टौं लाग्ने समयको पनि बचत भएको छ । ‘आँगनमै पानी आउन थालेपछि समयको बचतसँगै बर्खामा धमिलो पानी पिउनुपर्ने बाध्यताको पनि अन्त्य भएको छ,’ उनले भनिन्, ‘अहिले पानी ल्याउँदा लाग्ने समयलाई तरकारी खेतीमा सदुपयोग गर्ने गरेकी छु ।’

खोलाको धमिलो पानी खानुपर्दा यहाँ हरेक वर्ष रोगको संक्रमण हुन्थ्यो । औषधि उपचारमा धेरै खर्च हुन्थ्यो । अहिले त्यो समस्या कुकुरखोलाका बासिन्दालाई छैन । ‘खोलाका पानी पिउनु पर्दा टाईफाइड, रुघाखोकी लगायतका समस्याहरु वर्षेनी हुन्थे,’ स्थानीय देवबहादुर रानाले भने, ‘आँगनमै स्वच्छ पानी आउन थालेपछि स्वास्थ्य समस्या पनि कम भएको छ ।’

स्थानीय कर्णबीर थामीले खानेपानी आयोजना सञ्चालनमा आएसँगै धेरै सहज भएको बताए । खोलामा पानी लिन जाँदा धेरै स्थानीय बगेका घटना पनि यहाँ छन् । ‘खानेपानी घरमै आएपछि समयको बचतसँगै तनाव पनि सकियो,’ उनले भने, ‘खोलाको बगेको पानी खाँदै आएका हामीले अहिले मुलको सफा पानी आँगनमै खान पाएका छौं ।’  

स्थानीयहरुले वर्षौदेखि यहाँ खानेपानीको माग गर्दै आएका थिए । उनीहरुको माग अहिले स्थानीय सरकारले पूरा गरिदिएको छ । ‘सर्वदलीय संयन्त्रदेखि गाविस हुँदासम्म पनि पहल गर्‍यौं, बस्तीको माग कहिल्यै सम्बोधन भएन,’ उनले भने, ‘स्थानीय तहमा जनप्रतिनिधि आएपछि बल्ल माग सम्बोधन भयो ।’

गाउँदेखि टाढाको साधनेबाट चार लाख रुपैयाँको लागतमा खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो । वडाध्यक्ष नन्दबहादुर बुढाले आयोजनाबाट स्थानीयलाई धेरै ठूलो राहत मिलेको बताए । ‘कुकुरफालेका बासिन्दाको वर्षौदेखिको माग हामीले पूरा गरेका छौं,’ वडाध्यक्ष बुढाले भने, ‘अन्य बस्तीमा पनि यस्तै समस्या छन्, समाधान गर्दै जान्छौं ।’

नगरपालिकाका योजना तथा अनुगमन अधिकृत शिशिरकुमार खड्काले दुर्गमका बस्तीहरुमा खानेपानी, सडकको पहुँचलगायतका मागहरु आउने गरेको बताए । ‘नगरपालिकाले दुर्गमका बस्तीमा खानेपानी र सडकको पहुँच पुर्‍याउनका लागि विभिन्न योजनाहरु अघि सारेको छ,’ उनले भने, ‘नागरिकको अपनत्व बोध हुने गरेर आवश्यकताका आधारमा विकासका कामहरु अघि बढाइरहेका छौं ।’

नगर उपप्रमुख रेणु आचार्यले दुई वर्षभित्र सबै नागरिकहरुको घरघरमा धारा पुर्‍याउने लक्ष्य नगरपालिकाले राखेको बताइन् । ‘जनताका आवश्यकताको पहिचान गरेर त्यसलाई कार्यान्वयन गरिरहेका छौं,’ उनले भनिन्, ‘सबै नागरिकहरुको घरघरमा स्वच्छ खानेपानी पुर्‍याउने अभियान सञ्चालन गरेका छौं, दुई वर्षभित्र यो पूर्ण हुन्छ ।’ खानेपानी आयोजनाबाट कुकुरफालेका ४५ घरधुरी लाभान्वित भएका छन् ।

प्रकाशित: २४ असार २०७७ ०७:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App