१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

लकडाउनले रोजगारी गुमेपछि फेवामा ‘फिसिङ’

पोखरा फेवाताल किनारमा बल्छी खेल्न पुगेका युवाको भिड। तस्बिर: उमेश पुन/नागरिक

सिन्धुलीका विमल तामाङ लकडाउनअघि दैनिक ज्यालादारीमा काम गर्थे। घर बनाउने काममा व्यस्त हुने उनी त्यो बेला कामका लागि कहिले कता त कहिले कता दौडधुप गरिरहन्थे। कोरोना भाइरस (कोभिड १९) महामारीसँगै उनीजस्ता धेरै युवाको रोजगार गुम्यो। लकडाउन सुरु भएपछि उनी आर्थिक हैसियतले झनै थलिए। लकडाउन केही खुकुलो भइसक्दा पनि उनको दैनिकी भने पूर्ववत् नै छ।  

दिनभर फुर्सदिला उनी अचेल फेवातालमा बल्छी खेल्न पुग्छन्। बल्छी खेलेर माछा समाएर दिन कटाउन थालेको धेरै दिन त भएको छैन तापनि माछा समाउने चाख भने उनमा बढ्दै गएको छ। ‘आज त आधा किलो जति माछा समाएको छु,’ फेवाकिनारमा बल्छी खेलिरहेका तामाङले भने, ‘माछा समाउँदा समय बितेको पत्तै हुने रहेनछ।’ तामाङले भने बल्छीमा पारेका माछा बेलुकी घरमा लगेर खानेसमेत गरेका छन्। माछाको आहारालाई पोको पारेर तालमा हु-याउँदै बल्छीमा माछा अल्झाउने काइदा उनले अपनाएका छन्।  

फेवाताल किनारको ड्यामसाइड, हल्लनचोक, सेदी, खपौदी, पामे क्षेत्रमा तालमा बल्छी खेल्ने युवाको भिड देखिन्छ। कतिपय तालपारि किनारमा पनि बल्छी खेल्न पुग्छन्। फेवाबाहेक बेगनासमा पुग्ने युवा पनि उत्तिकै छन्।  

पोखराको एक बैंकका जागिरेसमेत रहेका शैलेश रायमाझी माछा समाउनमा सोखिन छन्। उनी पोखरा एंगलर्स क्लबका सचिव पनि हुन्। यो क्लब २०६८ मा स्थापना भएको हो। क्लबले बल्छीलाई खेलको रूपमा विकास गर्ने योजना बनाएको छ। माछा समाउने खेल खेलाउने यो नेपालको एक मात्र क्लब भएको रायमाझीले बताए। उनका अनुसार क्लबले माछा मार्नेभन्दा पनि संरक्षणमा बढी ध्यान दिने गरेको छ।

उनको अनुभवमा फेवाकिनारमा बल्छी लिएर पुग्ने युवाको भिड लाग्ने गरेको छ। पोखरा क्षेत्रमा मात्र नभई नेपालका ठूला नदीहरूमा बल्छी खेल्नकै लागि भनेर विदेशी पाहुनासमेत आउने गरेको उनको भनाइ छ। कर्णाली, भेरी, तमोर र सेतीमा बल्छी खेल्नकै लागि विदेशी पाहुना आउने गरेका छन्। ‘बल्छीको विकास गर्न नसकेर हो नत्र बल्छी खेल्ने पनि रोमाञ्चक खेल हो,’ उनले भने, ‘बल्छीलाई खेलको रूपमा विकास गर्न जरुरी छ।’  

मत्स्य अनुसन्धान केन्द्रका प्रमुख इकवाल हुसेन पछिल्लो समय युवाहरू जथाभावी बल्छी खेल्न ताल र खोलामा पुग्दा भुरा नोक्सान हुने गरेको बताउँछन्। ‘बल्छी खेल्ने निश्चित ठाउँ तोकिनुपर्छ, जहाँ पायो त्यहीँ बल्छी हान्न दिनुहुँदैन,’ हुसेन भन्छन्, ‘बल्छी खेलेर रमाउने मात्र नभई समाएका माछा मारेर खाने गरेकाले पनि समस्या छ।’  

बल्छी खेल्नेलाई अहिले कसैले नियन्त्रणमा लिन नसकेको उनले बताए। ‘कतिपय युवा बल्छी खेलेर रमाउन पुग्छन्। कतिपयले भने मनोरञ्जनभन्दा माछा संकलन गर्न खोज्छन्। ‘कतिपयले त माछा मारेर जीविका चलाउँछन्,’ हुसेन भन्छन्, ‘तर अहिले जथाभावी भएको छ। यो राम्रो होइन। युवाहरू मनोरञ्जन हुने भन्दै जथाभावी बल्छी खेल्न पुग्छन्।’  

बल्छी खेल्न लाइसेन्स लिनुपर्छ। स्थानीय तहको सिफारिसमा मत्स्य विकास केन्द्रले लाइसेन्स दिने गर्छ। फेवा मत्स्य विकास केन्द्रले बल्छीकै लागि भनेर एक सय जति लाइसेन्स दिइसकेको छ। व्यावसायिक माछा पालनमा भने भिन्दै प्रावधान रहेको उनले बताए। ‘अहिले त लाइसेन्स नलिएका व्यक्तिले पनि समस्या थपिएको छ,’ उनले भने, ‘यसमा स्थानीय तहले पनि ध्यान दिनुपर्छ।’ अहिले फेवा, वेगनास मात्र नभई अरू खोलामा बल्छी खेल्न पुगेका व्यक्तिसँग लाइसेन्स छ वा छैन भनेर स्थानीय तहले हेर्नुपर्ने उनले बताए।  

प्रकाशित: २४ असार २०७७ ०२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App