२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

पहिरोको जोखिममा स्थानीय तह, विपद् व्यवस्थापन योजना छैन

बैतडीका ८ वटा स्थानीय स्थानीय तह पहिरोको जोखिममा छन्। जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाका १० स्थानीय तहमध्ये पुर्चौडी नगरपालिका, मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिका, सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, दशरथचन्द नगरपालिका र डिलासैनी गाउँपालिका पहिरोको जोखिममा रहेका छन्।

पहिरोको जोखिममा रहेका स्थानीय तहमध्ये ४ स्थानीय तहले विपद् व्यवस्थापन योजना बनाएका छैनन। पहिरो लगायतका प्रकोपबाट हुने क्षति कम गर्न विपद् व्यवस्थापन योजना बनाएर लागू गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए।

प्रत्येक स्थानीय तहमा स्थानीय विपद् व्यवस्थापन समिति र विपद् व्यवस्थापन योजना हुन ुपर्ने भएपनि जिल्लाको सुर्नया गाउँपालिका, पाटन नगरपालिका, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले अझै पनि विपद् व्यवस्थापन योजना बनाएका छैनन्। उनीहरुले कार्यविधि बनाएर काम गरिरहेको बताएका छन्।

जिल्लाको पुर्चौंडी नगरपालिकाले पनि योजना बनाएको भए पनि नगरसभाबाट पारित भने गर्न सकेको छैन्। चालु आर्थिक वर्षमा विपद् व्यवस्थापन योजना बनाएको नगरपालिकाले केही दिनमा पारित गर्ने तयारी गरेको नगरपालिकाका सूचना अधिकारी प्रबीन धानुकले बताए।

अहिलेसम्म पहिरोले पु-याएको क्षति, प्रकोपको स्तरीकरण र सम्भावित जोखिमको विश्लेषण गर्दा ८ ओटा स्थानीय तह पहिरोको जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका सभापति भीमदत्त पाण्डेयले बताए। सुर्नया र पाटन बाहेक अरु स्थानीय तह पहिरोको जोखिममा छन्।

ती दुई स्थानीय तहमा पनि पहिरोको जोखिम कायमै रहेको छ। जिल्लामा विभिन्न किसिमका प्रकोपहरुको जोखिम रहेको र ती प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए। जिल्लाको पुर्चौडी नगरपालिकाको मल्लादेही क्षेत्र, न्वादेउ, डिलासैनी गाउँपालिकाको बांगाबगर, गोकुलेश्वर, रुद्रेश्वर, साउनगाउँ, देवगाउँ, दोगडाकेदार गाउँपालिकाको सित्तड र न्वाली पहिरोको उच्च जोखिममा छन्। यस्तै मेलौली नगरपालिकाको–८ र ९, विशालपुर क्षेत्र पनि पहिरोको उच्च जोखिममा छन्।

पहिरोका कारण प्रत्येक वर्ष धनजनको क्षति हुने गरेको  स्थानीय बताउँछन्। स्थानीय तहहरुसँग विपद् व्यवस्थापन योजना नहुँदा विपद्को समयमा के गर्ने कसो गर्ने भन्ने अलमल हुने गरेको नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले बताए। विपद् व्यवस्थापन योजनाको अभावमा राहत, उद्धार तथा अन्य कार्यहरु परिचालन गर्न समस्या हुने गरेको छ।

प्रकाशित: २३ असार २०७७ ०४:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App