५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

रिपोर्ट नआउँदा क्वारेन्टिनबाट घर फर्कदै

समयमै रिपोर्ट नआउँदा क्वारेन्टिनमा बसेका स्थानीय घर फर्कन थालेका छन् । जिल्लाका विभिन्न क्वारेन्टिनमा आरडिटी पोजेटिभ आएका स्थानीय पिसिआर रिपोर्ट नआउँदा घर जान थालेका हुन् । एक महिनासम्म पिसिआर रिपोर्ट नआउँदा क्वारेन्टिनमा १४ भन्दा बढी बसेर घर फर्किएको दशरथचन्द नगरपालिकाका स्वासथ्य संयोजक दुर्गादत्त जोशीले बताए ।

सुदूरपश्चिम प्रदेशमा एउटै मात्र पिसिआर मेसिन भएकाले समयमै रिपोर्ट आउन सकेको छैन । विदेशबाट आएका धेरै नागरिक क्वारेन्टिनमा बसेको र उनीहरुको आरडिटी पोजेटिभ आएपछि पिसिआर परीक्षणको लागि संकलन गरिएको स्वाब रिपोर्ट समयमै आउन सकेको छैन । सरकारले तोकेको समयभन्दा बढी दिन क्वारेन्टिनमा बसेको र स्वाब संकलन गरेर समयमै रिपोर्ट नआएका घर फर्केको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । ।

जिल्लाका विभिन्न क्वारेन्टिनमा अहिले ७ सय बढी नागरिक बसेका छन् । स्वाब संकलन गरिएका ४ सय ९५ जनाको अझै रिपोर्ट आएको छैन । रिपोर्ट ढिलो आउँदा घर फर्केका नागरिकहरुमा कोरोना पुष्टी भएपछि खोजबिन गरेर आइसोलेसनमा राख्नुपर्ने बाध्यता आइलागेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख नरेन्द्र नाथले बताए । महिना दिनसम्म समेत रिपोर्ट नआउँदा स्थानीयहरुलाई घर पठाउन बाध्य भएको उनले बताए ।

समयमै रिपोर्ट नआउँदा आरडिटी पोजेटिभ देखिएका नागरिक मानसिक रुपमा समेत कमजोर हुँदै गएको स्वास्थ्यकर्मी बताउँछन् । कोरोना संक्रमणको समय करिब दुई हप्ताको हुने भनिएको भए पनि रिपोर्ट आउनै त्यो भन्दा बढी समय लाग्दा क्वारेन्टिनमा बसेका नागरिक घर जाने गरेका छन् ।

प्रकाशित: २१ असार २०७७ ०५:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App