१६ चैत्र २०८० शुक्रबार
समाज

संघनायक भिक्षु ज्ञानपूर्णिक महास्थविरको निधन

संघनायक भिक्षु ज्ञानपूर्णिक महास्थविरको निधन भएको छ। सुमेरु अस्पतालमा उपचाररत उनको शुक्रबार विहान ४ः३० बजे उनको निधन भएको थियो। मृगौला रोगबाट पीडित उनी ८१ वर्षका थिए। उनको पार्थिव शरीर दर्शनको लागि विहान १० बजेबाट नयाँ बानेश्वर स्थित विश्वशान्ति विहारमा राखिएको थियो।  

उनको अन्त्यष्टी आइतबार दिउँसो ललितपुरको शंखमुलमा गरिने भएको छ। अखिल नेपाल भिक्षु महासंघका महासचिव कोण्डन्य महास्थविरका अनुसार कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखि अन्त्येष्टी अगाडी गर्नुपर्ने सवै पूजाविधि विश्वशान्ति विहारमा पुरा गरि दाहसंस्कारको लागि शंखमुल लगिने छ।  

अखिल नेपाल भिक्षु महासंघ, धर्मोदय सभाका पूर्व अध्यक्ष उनी २०७६ वैशाख १ गते नेपालका प्रमुख भिक्षुको रुपमा संघनायक भएका थिए। अभिधम्मका व्याख्याता उनको बुद्धधर्म सम्बन्धी नेपाली, नेपालभाषामा विभिन्न पुस्तक प्रकाशित छन्। पाली भाषाका ज्ञाता उनले ६ सय पृष्ठको परित्राण सम्बन्धी पुस्तक अनुवाद गरेका थिए। उनले नेपाली भाषामा अनुवाद गरेका कृतिहरु मध्ये बुद्ध र बुद्धवाद, प्रतीत्यसमुत्पाद महान उपदेश, कथावस्तुद्वारा उपदेशित अनुशासन आदि महत्वपूर्ण कृति हुन्।  

उनको जन्म वि.सं. १९९६ मा पाल्पाको तानसेनमा भएको थियो। ११ वर्षको उमेरमा भिक्षु बुद्धघोष महास्थविरको साथमा लागि उनी बुद्धशासनमा प्रवेश गरेका थिए। 

प्रकाशित: २० असार २०७७ ०३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App