८ वैशाख २०८१ शनिबार
समाज

टेम्पो चालकका दु:ख : हातमुख जोर्नै गाह्रो छ, किस्ता कसरी तिर्ने ?

सार्वजनिक यातायात महिनौंदेखि ठप्प हुँदा टेम्पो चालक कुमारी लामा शाहको रोजीरोटी गुम्यो। यतिबेलै बैंक तथा वित्तीय संस्थाले उनलाई बारम्बार फोन गरेर असार मसान्तभित्रै ब्याज र किस्ता तिर्न दबाब दिए। तर,  कुमारीले ब्याज र किस्ता तिर्न सकेकी छैनन्।  ‘हातमुख जोर्नै गाह्रो छ, किस्ता तिर्ने कसरी ?’ उनले गुनासो गरिन्।  

उनले टेम्पो चलाउन थालेको १५–१६ वर्ष भयो। उनीसँग एउटा टेम्पो छ, जुन  आठ वर्षअघि बैंकबाट ऋण लिएर किनिएको थियो।

गाँसकै समस्या भइरहेका बेला बारम्बार घरभाडा मागेर दुःख दिइएको उनले सुनाइन्। त्यस्तै,  कलेजले उनीसँग दुई सन्तानको शुल्क मागेको माग्यै  छ।  

उनले भनिन्, ‘हामीलाई सारै गाह्रो भयो। सरकारबाट चालक र स्वरोजगार भनेर राहत दिइएन। टेम्पो नचालएपछि  गुजारा कसरी  चल्छ ?’

बैंकले टेम्पो तानिदिने अवस्था आएकाले व्यवस्थित र सुरक्षित रूपमा टेम्पो चलाउन पाइने वातावरण बनाइदिन उनले आग्रह गरिन्।

जीवन वाइवा सफा टेम्पो चलाएरै दिनमा ३५ सयदेखि ३९ सयसम्म कमाइ गर्थे। उनले लामो समयदेखि टेम्पो चलाउन नपाएकाले यतिबेला रासनकै समस्या भएको सुनाए। उनले भने, ‘बन्दाबन्दी हुनेबित्तिकै रोजीरोटी गुम्यो। अरू काम गर्न कहाँ जाने ? के गर्ने ?’  

त्यस्तै, देवी श्रेष्ठले टेम्पो चलाउन थालेको ११ वर्ष भयो। उनले सात–आठ वर्षअघि बैंकबाट ऋण लिएर टेम्पो किनेकी थिइन्। उनी टेम्पो मर्मत खर्च  कटाएर मासिक ५०–६० हजार कमाउँथिन्। टेम्पो चलाउन नपाएकाले उनी पेसाबाटै विस्थापित हुनुपर्ने बेला आएको छ।  

निकै समस्या भएपछि उनी राहतका लागि वडा कार्यालय पुगेकी थिइन्। सफा टेम्पुका मजदुरलाई राहत दिइँदैन भनेर उनलाई फर्काइयो।  उनले भनिन्, ‘टेम्पो चालकचाहिँ मजदुर होइन र ? करोडौंको राहत बाँड्दा हामीले एकपटक पनि पाएनौँ।’  

सफा टेम्पो व्यवसायी बालकृष्ण चौलागाईंका  दुई ओटा टेम्पो छन् र एउटा चार्जिङ स्टेसन छ। उनले  दुई चालक र अन्यलाई  रोजगारी दिएका थिए। उनले टेम्पो सञ्चालन नहुँदा बैंकलाई ब्याज तिर्न गाह्रो भएको सुनाए। उनले भने, ‘बैंकबाट  फोन आइरहन्छ, ब्याज र किस्ता कसरी तिर्ने ?’  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य रामप्रसाद घिमिरेले यतिबेला सफा टेम्पो चालकको अवस्था अति नै दयनीय भएको जानकारी दिए।  

उनले राज्यले सफा टेम्पुका लागि राहतका प्याकेज ल्याउनुपर्ने बताए। उनका अनुसार  एकल महिला, स्वरोजगार र मजदुरलाई राहतमा समेटिनुपर्छ।  

‘ब्याज र कर छुट दिनुपर्छ, नेपालमा विद्युतीय साधनको प्रवद्र्धन गर्ने हो भने सहुलियत कर्जाका प्याकेज ल्याउनुपर्छ,’ उनले भने।  

त्यस्तै, यातायात क्षेत्र अनिवार्य रूपमा कम्पनीमा जानुपर्ने भएकाले कर छुट नभएको उनले बताए। ‘सफा टेम्पो व्यवसायीलाई स्थापित होइन, विस्थापित गर्न राज्य उद्यत छ,’ उनले भने, ‘व्यक्तिगत रूपमा ठूलो जोखिम मोलेर काम गरिएकाले सफा टेम्पो बन्द भएको छैन नत्र यसको हालत ट्रलीबसको जस्तो हुन्थ्यो।’

टेम्पो व्यवसायी तथा चालकहरू व्यवस्थित र सुरक्षित रूपमा टेम्पो सञ्चालन गर्न सरकारले अनुमति दिनुपर्ने बताउँछन्। उनीहरूको माग छ– भोकले मर्ने बेला भयो, काम गरेर खाने वातावरण बनाइदेऊ।

 

प्रकाशित: १९ असार २०७७ ०७:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App