१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कैदीमा कोरोना भेटिएपछि कारागारमा त्रास

एक बन्दीमा कोरोना संक्रमण भेटिएपछि सिन्धुपाल्चोक जिल्ला कारागारमा त्रास फैलिएको छ ।  कडा सुरक्षाबीच बन्द कारागारमै संक्रमित भेटिएका कारण अन्य कैदीबन्दीसँगै सुरक्षाकर्मी पनि त्रसित छन् । संक्रमितसँगै खाइखेली गर्ने कारागारका अरु एक सय २१ कैदीबन्दी आतंकित बनेका छन् ।  

‘उसै पनि सँधै सिलको अवस्थामा रहने कारागारमै संक्रमित भेटिएपछि डर, त्रास फैलिने नै भयो,’ प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नागरिकसँग भने । ७७ वर्षीय एक बृद्ध कैदीमा मंगलबार कोरोना पुष्टि भएको थियो । त्यसयता कारागारभित्रको बातावरण त्रसित छ । प्रजिअ ढकालले कारागारभित्र कैदीमा कोरोना संक्रमिण पुष्टि भएको सम्भवत यो नेपालमै पहिलो हुन सक्ने बताए ।  

संक्रमित ती कैदी लामो समयदेखि निको नुहने घाउबाट पीडित छन् । चौतारा अस्पतालमा उनले उपचार गराउँदै आएका थिए । अस्पतालले काठमाडौं रेफर गरेपछि उपचारलाई ध्यान दिँदै उनलाई कारागार सरुवा गर्ने प्रक्रिया थालिएको थियो । कारागार सरुवा गर्नुअघि उनको थ्रोट स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएको थियो । टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कैदीमा कोरोना संक्रमण पुष्टि गरेको बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जनाए ।  

कैदीमा कसरी कोरोना स¥यो भन्ने अहिलेसम्म खुलेको छैन । मुलुकमा कोरोना संक्रमण देखिएपछि उनी तीन पटक उपचारका लागि चौतारा अस्पताल पुगेको पाइएको छ । योबाहेक अन्यत्र उनी उपचारमा निस्किएका छैनन् । कारागार प्रशासनले सामाजिक दुरी कायम गरेर केदीबन्दीलाई आफन्तसँग भेट गर्न भने दिँदै आएको थियो ।  

प्रजिअ ढकालले कारागारका कैदीमा कोरोना संक्रमण भेटिएको घटनाले अचम्मित बनाएको बताए । संक्रमित कैदीलाई उपचारको लागि बुधबार राजधानीको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पु¥याइएको छ । कारागारको एउटै भवनमा उनीसहित एक सय २२ कैदीबन्दीसँगै बस्दै आएका थिए । आठवटा कोठामा बाँडिएर कैदीबन्दी बस्दै आएका छन् । उनीहरुका लागि एउटै मात्र भान्छा छ ।

कैदीमा संक्रमण भेटिएपछि अन्य कैदीबन्दी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र भेटघाटमा आएका आफन्तको कन्ट्याक्ट ट्रेसिङ थालिएको छ । कन्ट्याक्ट ट्रेसिङको आधारमा पहिलो चरणमा उनीसँग एउटै कोठामा बस्ने कैदीबन्दी, उपचारमा लाने/ल्याउने सुरक्षाकर्मी र उपचारमा खटिने स्वास्थ्यकर्मीसहित ४० को थ्रोट स्वाब संकलन गरी बिहीबार परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको प्रजिअ ढकालले जानकारी दिए ।  

‘चाँडै रिपोर्ट आउने आशमा धुलिखेल अस्पतालमा स्वाब पठाइएको हो,’ उनले भने, ‘छिट्टै रिपोर्ट आए थप कन्ट्याक्ट ट्रेसिङ गर्न र सावधानीका अरु काम गर्न सहज हुन्थ्यो ।’ यो घटनापछि कारागार प्रशासनले कैदीबन्दीलाई भेट्न पूर्णरुपमा रोक लगाएको छ । भूकम्पले क्षतिग्रस्त कारागार भवन सामान्य मर्मत गरी तीन वर्षदेखि त्यहाँ कैदीबन्दी राखिँदै आएको छ । आठ जना क्षमताको उक्त भवनमा वर्षअघि झण्डै दुई सयसम्म कैदीबन्दी बस्थे ।

प्रकाशित: १८ असार २०७७ १४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App