१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश २ : दिनको पाँच सय स्वाब संकलन, डेढ सय परीक्षण

प्रदेश २ मा स्वाब संकलनभन्दा परीक्षण निकै कम भइरहेको पाइएको छ । कोरोना संक्रमणको आशंकामा औसतमा दैनिक ५ सय जनाको स्वाब संकलन हुने यो प्रदेशमा डेढ सय नमुना मात्र परीक्षण भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गजेन्द्र नरायण सिंह सगरमाथा अस्पताल राजविराज र नरायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा गरी तीन ठाउँमा जडान गरिएको रियल टाइम पिसिआर मेसिनको एक दिनमा स्वाब परीक्षणको क्षमता औषतमा डेढ सय मात्र रहेकाले परीक्षण कम भएको स्वास्थ्य निर्देशनालयका उपनिर्देशक विजय झाले बताए ।  

उनका अनुसार प्रदेश २ मा ४४ हजार दुई सय ३२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा बिहीबारसम्म तीन हजार ६ सय तीन जनाको नतिजा आउन बाँकी छ । परीक्षण गरिएकामध्ये ३५ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३३ सय २४ जना पुरुष र दुई सय २० जना महिला रहेको निर्देशनालयले जनाएको छ ।  निर्देशनालयका अनुसार सप्तरीमा दुई सय दुई, सिरहामा एक सय ७२, धनुषामा चार सय तीन, महोत्तरीमा ६ सय ६५, सर्लाहीमा ६ सय २४, रौतहटमा १२ सय सात, बारामा एक सय ११ र पर्सामा एक सय ५७ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी पर्सामै तीन जना भारतीय नागरिकमा संक्रमण पाइएको बताइएको छ ।  

पछिल्लो समय भारतबाट आउनेहरुको कमी भएका कारण संक्रमितको संख्या पहिलेको तुलनमा नबढेको उपनिर्देशक झाको भनाइ छ ।  

उनका अनुसार संक्रमित भइ निको भएर आइशोलेसनबाट घर फर्किनेको संख्या पछिल्लो पटक बढेको छ । बिहीवारसम्म १९ सय २३ जना डिस्चार्ज भइ घर फर्केको निर्देशनालयको तथ्यांक छ । प्रदेशमा हालसम्म तीन जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

प्रकाशित: १८ असार २०७७ १३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App