१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

माथिल्लो तामाकोसीकाे जटिल काम सकियाे

दोलखाको लामावगरस्थित माथिल्लो तामाकोसी जलबिद्युत आयोजनाको बाँधस्थल । तस्बिर : रमेश/नागरिक

लकडाउनकै बीच पनि माथिल्लो तामाकोसी जलबिद्युत आयोजनाको काममा निरन्तरता दिन सकिएकै कारण मुलुकले आशा राखेको राष्ट्रिय गौरवको यो आयोजनाको कामले ‘छलाङ’ मारेको अधिकारीहरुले जनाएका छन् । भूकम्प, नाकाबन्दी, अन्तराष्ट्रिय बजारमा देखिएको मूल्य बृद्धि लगायतको मारमा परेर पछाडी धकेलिएको स्वदेशी लगानीमा बनेको देशकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसीमा कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न लगाइएको लकडाउनको मार भने परेन ।  

आयोजनाका अधिकारीहरुले लकडाउनको समयलाई आयोजना निर्माणमा लामो समयदेखि दुःख दिएको सुरुङभित्र पेनस्टक पाईप जडान जस्तो जोखिमयुक्त र चुनौतीपूर्ण काम गराउन उपयोग गरेका छन् । ठूल्ठूला पाईपसहितका उपकरणहरु जडान गर्ने हाईड्रोमेकानिकल तर्फको जिम्मा पाएको भारतीय ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण समग्र आयोजना नै पछि धकेलिने गरी रोकिएको पेनस्टक पाईप जडानका चुनौतीपूर्ण कामहरु लकडाउनकै अवधीमा सम्पन्न गरिएका छन् ।  

आयोजनाको बाँधस्थल दोलखाको लाामावगरदेखि सुरुङमार्ग हुँदै बगेर आउने पानीलाई सुरुङका ठाडो र तेर्सो भागहरुमा खसालेर बिद्युत गृहसम्म लैजादा त्यस्ता ठाडोसंगै तेर्सो भागहरुमा जडान गरिने पाईपलाई पेनस्टक भनिन्छ । लामो समयदेखि रोकिएका माथिल्लो ठाडो सुरुङमा ३ सय १० मिटर र तल्लो ठाडो सुरुङमा ३ सय ७३ मिटरका ठूल्ठूला पेनस्टक पाईपहरु जडानको काम गत साताबाट सकिएको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिए । ‘आयोजनाका लागि यि दुवै सुरुङहरुमा जडान हुने पाईपका काम निकै चुनौतीपूर्ण थियो’ उनले भने, ‘अब दुवै ठाडो सुरुङका कामहरु सकेर दुवै सुरुङको बीचमा पर्ने १ सय मिटरको तेर्सो पाईप जडान गर्न बाँकी छ’ । यही पाईपमा ढिलाई हुँदा आयोजना झण्डै दुई पर्षपछि धकेलिन पुगेको थियो ।  

आयोजनाका एक जना बरिष्ठ ईन्जिनियर बिमल गुरुङले लामो समयदेखि आयोजनाका लागि चुनौती र जटिल बनेको काम सम्पन्न गरेर माथिल्लो तामाकोसीले एउटा चुनौतीपूर्ण खुड्कीलो पार गरेको प्रतिक्रिया दिएका छन् । ‘एउटै २७ टनसम्म तौल र ५ मिटर लम्बाईका यि पाईपहरु सुरुङबाट झार्नु आफैंमा जोखिम त छदै थियो’ गुरुङले भने – ‘त्यस माथि एउटै पाईप वेल्डीङ गर्दा आउने धुवाँको मुस्लोले कामदारलाई निकै ठूलो खतरा हुन्थ्यो, तर साना तिना बाहेक कुनै पनि समस्या नभई सहज रुपमा पार गर्‍यौं’ ।    

माथिल्लो तामाकोसी जलबिद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत बिज्ञानप्रसाद श्रेष्ठले लकडाउनमा समेत आयोजनाको काममा निरन्तरता दिन सकिएका कारण आयोजना सम्पन्न गर्ने लक्ष्यमा थुप्रै नतिजा देखिएको सुनाए । ‘लकडाउनमा समेत काम रोक्नुपरेको भए हामी झण्डै १० महिना भन्दा बढी पछाडी धकेलिन्थ्यौं’ श्रेष्ठले भने, ‘लकडाउनमा बिना अवरोध निरन्तर काम गर्न पाईएका कारण जटिल किसिमका काम समेत सहज रुपमा सम्पन्न भयो’ । उनले अब तेर्सो पाईप जडान गरेपछि कंक्रिटका कामहरु संगै अगाडी बढ्ने सुनाए । कुनै बाधा र अवरोध नआए तिहार अगाडी नै आयोजनाले परीक्षण उत्पादन गर्न सक्ने लक्ष्य राखेको श्रेष्ठले सुनाए ।

केही सामान भारतमै रोकिए

लकडाउनका कारण भारतिय ठेकेदार टेक्स म्याकोले तेर्सो पाईपमा जडान गर्नुपर्ने बिभिन्न उपकरणहरु ल्याउन सकेको छैन । कलकत्ताबाट आउनुपर्ने त्यस्ता सामानहरु यसअघि नै ल्याउने तयारी उसले गरेको भएपनि लकडाउन साथै त्यहाँ आएको आँधीले रोकिएको आयोजनाका प्रवक्ता न्यौपानेले सुनाए । ‘टेक्सम्याको कम्पनीको कारखाना रहेको क्षेत्रमा आएको आँधी साथै भारतमा समेत जारी लकडाउनका कारण उतै रोकिएका ति सामान हिँडाउन पहल भईरहेको छ’ न्यौपानेले भने, ‘छिट्टै आईपुग्ने जानकारी ठेकेदार कम्पनीले गराएको छ ।

प्रकाशित: १८ असार २०७७ १०:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App