८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

लकडाउन सय दिन नाघ्यो, संक्रमित बढेको बढ्यै

फाइल तस्बिर

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउन बुधबार सय दिन पुगेको छ। चैत ११ देखि कार्यान्वयनमा ल्याइएको पूर्ण लकडाउन असार लागेसँगै केही खुकुलो पारिएको छ। त्यसयता संक्रमितको संख्या झन् बढ्ने क्रममा छ। संक्रमित संख्या बुधबारसम्म एक हजार चार सय ४६ पुगेको छ। अहिलेसम्म संक्रमणबाट ३० जनाको मृत्यु भइसकेको छ।  

भाइरसको जोखिम न्यूनीकरण तथा संक्रमण रोकथामका लागि यो अवधि अत्यन्त महŒवपूर्ण भए पनि सरकारले सही उपयोग गर्न नसकेको जनस्वास्थ्य विज्ञ बताउँछन्। उनीहरूले लकडाउनका बेला परीक्षणको दायरा बढाउन नसकेको, लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्न नसकेको र विशेषगरी भारतबाट नेपाल फर्केका हजारौं प्रवासी नेपालीलाई प्रभावकारी रूपमा क्वारेन्टिनमा राख्न नसक्दा जोखिम झन् बढेको उनीहरूको भनाइ छ।  

‘परीक्षणको दायरा वृद्धि र क्वारेन्टिन व्यवस्थापनमा सरकार असफल भएको छ,’ जनस्वास्थ वैज्ञानिक समीरमणि दीक्षित भन्छन्, ‘त्यसकारण भाइरस संक्रमण समाजमा फैलँदो छ।’ उनी आगामी दिनमा परीक्षणको दायरा बढाउनुपर्ने आवश्यकता औंल्याउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही सातादेखि दैनिक १० हजार पिसिआर परीक्षण गर्ने भने पनि व्यवहारमा आउन सकेको छैन। सामाजिक दूरी कायम गर्न, मास्क लगाउन र हात धुन आमनागरिकले कन्जुस्याइँ गर्न नहुने पनि दीक्षितको सुझाव छ।  

स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम रोकथाममा लागि सरकारी प्रयास मात्र पर्याप्त नहुने भएकाले आमनागरिकले पनि उत्तिकै सचेत भई सावधानी अपनाउनुपर्ने बताउँछन्। ‘आमनागरिकले बाहिर निस्कँदा मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने र हात नियमित रूपमा नधुने हो भने संक्रमण बढ्छ र लकडाउन पनि कडा बनाउनुपर्ने हुन्छ,’ उनी भन्छन्। सरकारले असारदेखि आर्थिक तथा सामाजिक जीवनलाई चलायमान पार्ने उद्देश्यले लकडाउन खुकुलो पारेको छ र यसले भाइरस संक्रमणको जोखिम झन् बढेको छ। लकडाउन खुकुलो पारेपछि दैनिक संक्रमितको संख्या ह्वात्तै बढेको छ। लकडाउन खुकुलो भएसँगै ढुवानी, व्यापार, व्यवसाय, कृषि, पशुपक्षी, बैंकिङ सेवा, सहकारी पसल तथा डिपार्टमेन्ट स्टोरलगायत उत्पादन तथा बिक्री खुला गरिएको छ। सवारीसाधन पनि आंशिक रूपमा खुुला गरिएको छ तर सार्वजनिक यातायात भने खुला गरिएको छैन। मन्त्रिपरिषद्ले  गत सोमबार लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।

प्रकाशित: १८ असार २०७७ ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App