८ कार्तिक २०८३ आइतबार
image/svg+xml
समाज

हिमालय क्षेत्रमा छिटो र धेरै तापक्रम वृद्धि : अध्ययन

काठमाडौँ, जेठ ३ (नागरिक)- युनिभर्सिटी अफ म्यासेचुसेटस् र हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको पछिल्लो अनुसन्धानले हिमालय क्षेत्रको तापक्रम वृद्धि दर विश्वको अन्य भागभन्दा करिब तीन गुणा बढी भएको देखाएको छ।
मे १५ को "प्लस वान" जर्नलमा प्रकाशित वैज्ञानिक लेख अनुसार, सन् १९८२ देखि २००६ सम्म २५ वर्षमा हिमालय क्षेत्रको तापक्रम वृद्धि दर प्रति वर्ष ०.००६ डिग्री सेल्सियस (२५ वर्षमा १.५ डिग्री) ले बढेको छ। तर सोही समयमा विश्वको सरदर तापमान वृद्धि दर ०.०२ डिग्री सेल्सियस प्रतिवर्ष थियो।

लेखका प्रमुख लेखक युनिभर्सिटी अफ म्यासेचुसेटस् बोष्टनका पीएचडी शोधकर्ता तथा हार्वर्ड विश्वविद्यालयका अनुसन्धान सहायक उत्तमबाबु श्रेष्ठले भने "हाम्रो अनुसन्धान नतिजाले हिमालय क्षेत्र जलवायु परिवर्तन विश्वको अन्य भागमा भन्दा द्रुत गतिमा भइरहेको पुर्नपुष्टि गरेको छ।"

उक्त अनुसन्धानका तीन सोधकर्ताहरु उत्तमबाबु श्रेष्ठ, शिव गौतम र कमलजीत बावा मध्ये श्रेष्ठ र गौतम नेपाली हुन्। उनीहरुले हिमालय क्षेत्रको विगत २५ वर्षको तापक्रम, बर्षात र वनस्पतिको फूल फुल्ने र हरियाली हुने प्रकृयाको स्याटेलाइटको माध्यमबाट प्राप्त तथ्यांकहरुलाई विश्लेषण गरेका थिए। उक्त अनुसन्धान अनुसार विगत २५ वर्षमा हिमालय क्षेत्रमा पानी पर्ने क्रम भने बढिरहेको देखाइएको छ।

"हिमालय क्षेत्रको धेरैजसो जलवायु परिवर्तनका मुद्दाहरु हिमनदी पग्लने क्रममा मात्रै केन्द्रित भएको छ जबकि जलवायु परिवर्तनको दुई प्रमुख कारक तापक्रम र वर्षातको प्रकृयाहरुको बारेमा यसक्षेत्रमा पर्याप्त अनुसन्धान भएको छैन," युर्निभरसिटी अफ म्यासेचुसेटस बोष्टनका प्राध्यापक तथा ग्रुनस सस्टेनेविलीटी अवार्ड विजेता कमलजीत वावाले भने। "हाम्रो अनुसन्धानले यो खाडललाई कम गर्न केही हदसम्म मद्धत गरेको छ।"

अनुसन्धानकर्ताहरुले पामीरदेखि वर्मासम्म फैलिएको जैविक विविधताको खानी (हटस्पट) हिमालय क्षेत्रको अनुसन्धान गरेका थिए। अनुसन्धानकर्ता श्रेष्ठका अनुसार, जलवायु परिवर्तनको असर हिमालय क्षेत्रमा परिरहेको यस क्षेत्रमा बसोबास गर्ने समुदायले अनुभूति गर्न थालेका छन् तर हाम्रो अनुसन्धानले त्यसलाई पुष्टि गर्ने काम गरेको छ। "स्याटेलाइटबाट प्राप्त तस्विरहरुको विश्लेषणले हिमालय क्षेत्रको वनस्पतिहरुको फिनोलोजी (फूल फुल्ने क्रम) २५ वर्षमा सरदर करिब ५ दिनले अगाडि सरेको छ" श्रेष्ठले थपे।

प्रकाशित: ३ जेष्ठ २०६९ ०४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App