असार १५ राष्ट्रिय धान दिवस पर्व हो। यो दिनलाई नेपाली समाजमा दही र च्यूरा खाने पर्वका रूपमा पनि लिइन्छ। दहीच्यूराले शरीरमा शक्ति सञ्चय हुने मान्यता छ। त्यसैले रोपाइँको मध्य भागमा दहीचिउरा खाने चलन बसेको हो।
दही भन्नेबित्तिकै भक्तपुरको जुजुधौ र चिउरा भन्नेबित्तिकै बोडेको टिगनीको याद आउँछ। भक्तपुरमा परम्परागत तरीकाबाट दही बन्ने प्रकृया जारी छ। टिगनीमा परम्परागत हिसाबले चिउरा कुट्न छाडिएको छ। नजिकैको बोडेमा टाइचिन चिउरा किन्नेको भने भीड रहन्छ।
दही भन्नेबित्तिकै भक्तपुरको जुजुधौ र चिउरा भन्नेबित्तिकै बोडेको टिगनीको याद आउँछ। भक्तपुरमा परम्परागत तरीकाबाट दही बन्ने प्रकृया जारी छ। टिगनीमा परम्परागत हिसाबले चिउरा कुट्न छाडिएको छ।
कसरी बनाइन्छ दही र चिउरा?
भक्तपुरस्थित अजिमा दही भण्डारका संचालक गणेशकुमार न्याखुसी दही बनाउने परम्परागत तरीका, यहाँको हावापानी र दूधको गुणस्तरमा सम्झौता नगरिएकाले जुजुधौै लोकप्रिय भएको बताउँछन्। परम्परागत तरीकाबाट बनाइँदै आएको दही बनाउने प्रक्रियामा अझै पनि फरक नआएको उनले सुनाए। जुजुधौ तयार पार्न चारदेखि पाँच घण्टा समय लाग्ने उनले बताए। गाई वा भैसींको दूधलाई बाक्लो हुनेगरी तताउने र त्यसपछि भुसमा बिच्छाइएका माटोको कतारोमा खनाएर जमीनमा सेलाउने प्रक्रियाबाट जुजुधौ तयार हुने उनी सुनाउँछन्।
त्यसैगरी बोडेका हरिन्द्र श्रेष्ठ टिगनीमा परम्परागत तरीकाले चिउरा कुट्ने चलन हराए पनि बोडेको टाइचिन चिउराको माग भने बढेको बताउँछन्। टाइचिन धानलाई भिजाएर, भुटेर कुटेको चिउरा निकै स्वादिलो हुने बताउँछन्। अहिले यहाँका चिउरा मिलहरूले आफैले धान कुटेर चिउरा बनाउँछन् भने दशैंको सिजनमा भने किसानले ल्याएको धान ज्याला लिएर कुट्ने गरेको बताउँछन्।
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। कामको चटारोले थकित किसान शक्ति प्राप्तिका लागि दहीच्यूरा खान्छन्। दहीच्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।
यस वर्ष प्रि मनसुनदेखि नै पर्याप्त पानी परिरहेकाले मध्य असारसम्म आइपुग्दा २५ प्रतिशत रोपाइँ सकिइसकेको कृषि विभागका अधिकारी बताउँछन्।
प्रकाशित: १५ असार २०७७ ०७:३३ सोमबार