२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

आफन्तसँगै आइसोलेशनमा बाध्यातमक बसाइँ

कोरोना कहर

जिल्लाको बंगलाचुली गाउँपालिका–२ की सरिता नेपाली (नाम परिवर्तन) का ५ वर्षीय छोरा सुशान्त कोरोना संक्रमित भए। परिवार सहित भारतबाट आएकी सरिता आफ्नो छोरासँगै क्वारेन्टाइनमा बसेकी थिइन्। १८ दिनसम्म कोरोना जाँचको रिपोर्ट नआएपछि उनीहरू घार फर्केका थिए। ‘घर फर्केको एक हप्तापछि कोरोना रिपोर्ट आयो,’ उनले भनिन् ‘बाबुलाई मात्रै कोरोना पुष्टि भयो, परिवारका अन्य कसैलाई देखिएन।’  

कोरोना पुष्टि भएपछि सरिताका छोरालाई आइसोलेशनमा पठाउने भनेपनि छोरा एक्लैलाई पठाउन सकिनन्। स्याहारका लागि भन्दै आँफू संक्रमित नभएपनि छोरासँगै सरिता आइसोलेशन गइन्। ‘मलाई त संक्रमण थिएन, तर छोरालाई एक्लै कसरी छोड्नु ?’ उनले भनिन् ‘रोग लागेपनि लागोस् भनेर आएको हुँ।’  

सरिता अहिले आफ्नो ५ वर्षीय छोरासँगै आइसोलेशनमा छन्। ‘मलाई अहिले कोरोना छ कि छैन, थाहा छैन,’ उनले भनिन् ‘तर छोरालाई निको बनाउनका लागि यहाँ बसेको छु।’ अव्यवस्थित आइसोलेशनका कारण छोराको स्वास्थ्यले चिन्ता थप बढाइदिएको छ। चिसो भुइँमा सुत्नु पर्ने बाध्यता सुनाउँदै सरिताले भनिन्, ‘एक त छोरालाई कोरोना संक्रमण भएको छ, उपचारका लागि आइसोलेशनमा राखिएको भएपनि यहाँ चिसो भुइामा सुत्नुपर्छ। यस्तो अवस्थामा रातभरी बाबु सुत्न मान्दैन।’ बर्खाको सयमा निरन्तर पानी परिरहेकाले थप समस्या हुने गरेको उनको भनाइ छ।  

बंगलाचुलीकै रामबहादुर सुनार (नाम परिवर्तन) र उनकी पत्नी मालतीलाई कोरोना संक्रमण पुष्टि भयो। कोरोना पुष्टि भएपछि ७ र ४ वर्षीय छोरालाई घरमा एक्लै  छाडेर पती पत्नी नै आइसोलेशन बस्नुपर्ने बाध्यता भयो। संक्रमण नभएका दुई छोरालाई कोरोना संक्रमणको जोखिममा पार्नु आमा बुबालाई बाध्यता जस्तै बन्यो। कोरोना पुष्टि नभएका दुई छोरालाई साथमा लिएर रामबहादुर र उनकी पत्नी आइसोलेशन बस्दै आएका छन्।  

‘हामीहरू भारतबाट आएका थियौं, छोरालाई कोरोना देखिएन तर हामी दुई जनालाई कोरोना संक्रमण भएछ,’ रामबहादुरले भने, ‘घरमा साना छोरालाई एक्लै छाड्ने कुरा भएन, त्यसैले सँगै ल्याएका छौँ।’ आफूहरूलाई कोरोना लाग्नुको भन्दा पनि दुई छोरालाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ता भएको उनले बताए। जानकारी हुँदा पनि बाध्यताले रोग संक्रमण हुने ठाउँमा छोरालाई ल्याएको भएपनि आफूहरू कोरोना जितेर घर फर्किने उनको विश्वास छ। भारतबाट फर्केपछि रामबहादुरको परिवार १८ दिन क्वारेन्टाइनमा बसेर घर फर्केका थिए। घर फर्केको एक सातापछि मात्रै उनीहरूलाई कोरोना संक्रमणको पुष्टि भएको थियो।  

कोरोना भन्दापनि अव्यवस्थित आइसोलेशनले स्वास्थ्यमा थप समस्या बढ्न सक्ने त्रास उत्पन्न भएको रामबहादुर बताउँछन्।  ‘हामीहरूलाई यहाँ आइसोलेशनमा राखिएको भनिएको मात्रै हो, यो त क्वारेन्टाइन भन्दा अव्यवस्थित छ,’ उनले भने। उनीहरू भारतबाट स्वदेश पुगेपछि अहिले आइसोलेशन रहेको भवनमै क्वारेन्टाइनमा बसेका थिए। क्वारेन्टाइन र आइसोलेशन बनाइएको उक्त भवनमा अहिले पुराना जस्ता पाताबाट पानी चुहिँदा आफूहरू समस्या हुने गरेको उनीहरूको भनाइ छ। ‘माथिबाट पानी चुहिन्छ, भइँमा गुन्द्री जस्तो पातालो कपडा बिछ्याइएको छ,’ रामबहादुरले भने।

प्रकाशित: १५ असार २०७७ ०४:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App