१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

खाली हुँदै क्वारेन्टिन

कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा वीरेन्द्रनगरको खुल्ला मञ्चमा नेपाली सेनाले निर्माण गरेको चार सय बेड क्षमताको क्वारेन्टिन । तस्बिर : नगेन्द्र/नागरिक

सुर्खेतको बराहताल गाउँपालिकाका विभिन्न क्वारेन्टिनमा अघिल्लो सातासम्म भारतलगायत देशकै विभिन्न जिल्लाहरुबाट आएका करिव १५ सय नागरिकहरु थिए । पालिकाका विभिन्न १५ वटा क्वारेन्टिनमा उनीहरुलाई राखिएको थियो । 

अहिले त्यो संख्या घटेर ५४ जनामा पुगेको छ । धमाधम क्वारेन्टिनहरु खाली हुँदैछन् । ‘भारतबाट आउने नागरिकहरुको संख्यामा कमि भएसँगै क्वारेन्टिनहरु रित्तिदैं गएका छन्,’ स्वास्थ्य शाखाका सिनियर अनमी विष्णु गुरुङले भनिन्, ‘प्रदेश अस्पतालको पीसीआर मेसिनमा खरावी नआएको भए क्वारेन्टिनमा बस्नेहरुको संख्या अझै कम हुन्थ्यो ।’

जेठको पहिलो साता भारत सरकारले रेल सेवा सुरु भएसँगै कामका लागि त्यहाँ गएका नागरिकहरु फर्कनेक्रम ह्वात्तै बढ्यो । कर्णालीमा एकैदिन पाँचदेखि आठ हजारसम्म नागरिकहरु घर फर्किन्थे । एक महिनाको अवधिमा भारतमा रहेका बराहताल गाउँपालिकाका १२ सय ५० जना नागरिकहरु आए ।  

‘अहिले दिनमान तीन–चार जना मात्रै आउनुहुन्छ,’ गुरुङले भनिन्, ‘त्यसैले १५ वटाबाट क्वारेन्टिन संख्या घटाएर तीनमा झारेका छौं ।’ पछिल्लो एक महिनाको अवधिमा बराहतालमा भारतबाट एक हजार २५० जना, नेपालका विभिन्न जिल्लाहरुबाट दुई सय ३० जना र तेस्रो मुलुकबाट १२ जना भित्रिएका छन् ।

सुर्खेतकै चिंगाड गाउँपालिकामा बन्दाबन्दी (लकडाउन)को समयमा एक हजार दुई सय नागरिकहरु भारतबाट भित्रिए । उनीहरुका लागि २२ वटा क्वारेन्टिनस्थल निर्माण गरियो । अहिले क्वारेन्टिन र आइसोलेसनमा गरेर ५० जना मात्रै बाँकी छन् । ‘एकै पटक ठूलो संख्यामा भारतमा कामका लागि गएका नागरिकहरु घर फर्कदा उनीहरुको व्यवस्थापनमा ठूलो समस्या भयो,’ गाउँपालिका अध्यक्ष देवबहादुर चन्दले भने, ‘अहिले भारतबाट आउनेक्रम कम भएसँगै व्यवस्थापनमा सहज भएको छ ।’

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार भारतबाट लकडाउन सुरु भएयता ४७ हजार २८० जना नागरिकहरु कर्णालीमा भित्रिएका छन् । ति मध्ये सबैभन्दा धेरै दैलेख जिल्लाका थिए । दैलेख भित्रिएमा यो अवधिमा दैलेख १४ हजार ८४८ जना नागरिकहरु भारतबाट भित्रिएका छन् । ति मध्ये एक हजार ९८ जना नागरिकहरु मात्रै अहिले आइसोलेसन र क्वारेन्टिनमा छन् । दैलेखमा कोरोना संक्रमणका कारण हालसम्म तीन जनाको मृत्यु भएको छ । दैलेख कर्णालीमा पहिलो कोरोना संक्रमति फेला परेको जिल्ला पनि हो ।  

स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरबहादुर रेग्मीले क्वारेन्टिन र आइसोलेसन बेडहरु खाली हुँदै गएको बताए । ‘भारतबाट एकै पटक ठूलो संख्यामा आएका नागरिकहरुको व्यवस्थापन नहुँदा आन्दोलन पनि भयो’, रेग्मीले भने, ‘अहिले भारतबाट आउने नागरिक कम हुँदै गएका छन्, आएका अधिकांसहरु उपचारपछि घर फर्केका छन् ।’ कर्णाली प्रदेशमा भारतबाट आएका मध्ये आइसोलसनमा पाँच सय १४ जना र क्वारेन्टिनमा पाँच हजार २०२ जना रहेका छन् ।

परीक्षण ठप्प
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा जडान गरिएको पीसीआर मेसिनमा खरावी आउँदा तीन दिनदेखि परीक्षण ठप्प भएको छ । कर्णालीका सुर्खेतसहित जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै पीसीआर परीक्षण हुन्छ । प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्वर खड्काले पीसीआर मेसीनको हार्टवेयरमा खरावी आउँदा कोरोना परीक्षण ठप्प भएको बताए ।

‘मेसिनको हार्डवेयरमा खरावी आउँदा तीन दिनदेखि कोरोना परीक्षण रोकिएको छ,’ मेसु डा. खड्काले भने, ‘सप्लायर्ससँग मेसिन बनाउने विद्यालयमा कुरा भइराखेको छ ।’ त्रिभुवन विश्वविद्यालयमा थन्किएर रहेको पीसीआर मेसिन चैतको अन्तिम साता ल्याएर प्रदेश अस्पतालमा जडान गरिएको थियो । यो पीसीआर मेसिनको २८ लाख २५ हजार उद्योगी विनोद चौधरीले विश्वविद्यालयलाई तिरेका थिए । मेसिनले काम नगर्दा सुर्खेतका ९ सय १८ जनाको स्वाब ल्यावमै थन्किएको छ ।  

१४२८ संक्रमित, छ जनाको मृत्यु
कर्णाली प्रदेशमा कोरोना संक्रमतिको संख्या एक हजार चार सय २८ पुगेको छ । आइतबार कर्णालीका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य सेवा महाशाखाका अनुसार रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका–३ का २३ वर्षीय पुरुष र सल्यानको बनगाड–कुपिण्डे नगरपालिका–३ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखमा ७६०, सुर्खेतमा ३४७, सल्यानमा १७८, कालिकोटमा ४७, जुम्लामा ३०, जाजरकोटमा १३, मुगुमा तीन, रुकुम (पश्चिम) र हुम्लामा दुई–दुई जना कोरोना संक्रमित फेला परेका छन् । कोरोना संक्रमणका कारण दैलेखमा तीन, सुर्खेतमा दुई र एक जना डोल्पाका नागरिकको मृत्यु भएको थियो ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मी संक्रमित
कोरोना संक्रमणको उपचारमा खटिएका स्वास्थ्यकर्मी, क्वारेन्टिन र आइसोलेसनको सुृरक्षामा खटिएका सुरक्षाकर्मीसहित भारतबाट आएका बाहेकका कर्णालीका १०५ जनामा कोरोना संक्रमण देखिएको छ ।  

सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतमा १३ जना स्वास्थ्यकर्मी, चार जना सुरक्षाकर्मी र चार जना समुदायका अन्य व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । यस्तै दैलेखमा चार जना स्वास्थ्यकर्मी, ३३ जना सुरक्षाकर्मी, दुई जना जनप्रतिनिधि र छ जना समुदायका अन्य व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । जाजरकोटमा एक सुरक्षाकर्मी, एक जना जनप्रतिनिधि र एक जना अन्यमा कोरोना देखिएको छ भने सल्यानमा एक जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।,

यस्तै जुम्लामा चार स्वास्थ्यकर्मी, २७ सुरक्षाकर्मी र चार जना अन्यमा कोरोना देखिएको छ भने रुकुम (पश्चिम)मा एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले भारतबाट आएकाबाहेक कर्णालीमा १०६ जनामा कोरोना संक्रमण देखिएको बताए । ‘२३ जना चिकित्सकसहित स्वास्थ्यकर्मी, ५३ जना सुरक्षाकर्मी, तीन जना जनप्रतिनिधि र अन्य १५ जनामा कोरोना संक्रमण देखिएको छ,’ उनले भने, ‘ति मध्ये केही सन्चो भएर घर काममा फर्किनु भएको छ ।’

 

 

 

 

प्रकाशित: १४ असार २०७७ १०:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App