बंगलाचुली गाउँपालिका २ की सरीता नेपाली (नाम परिवर्तन) का ५ वर्षिय छोरा सुशान्त कोरोना संक्रमित भए। परिवारसहित भारतबाट आएका सरिता आफ्नो छोरा सहित क्वारेन्टाईनमा बसेकी थिईन्। १८ दिन सम्म कोरोना जाँचको रिपोर्ट नआएपछि उनिहरु घार फर्केका थिए। ‘घर फर्केको एक हप्ता पछि कोरोना रिपोर्ट आयो,’ उनले भनिन् ‘बाबुलाई मात्रै कोरोना पुष्टि भयो, परिवारका अरु कसैलाई भएन।’
कोरोना पुष्टि भएपछि सरिताका छोरालाई आइसोलेसन पठाउने भनियो। सरिताले छोरालाई एक्लै पठाउन सकिनन्। छोराको स्याहारका लागि भन्दै आँफू संक्रमित नभएपनि छोरासंगै उनी पनि आसोलेसनमा गईन्। ‘मलाई त संक्रमण थिएन, तर छोरालाई एक्लै कसरी छोड्नु ?’ सरीताले भनिन् ‘रोग लागेपनि लागोस् भनेर आएँ।’ सरीता अहिले छोरा सुशान्तसंगै आइसोलेसनमा छिन्। ‘मलाई अहिले कोरोना छ कि छैन, केहि थाहा त छैन,’ उनले भनिन् ‘तर छोरालाई निको होओस् भनेर भगवान पुकारिरहेको छु।’ तर अव्यवस्थित आइसोलेसनका कारण छोराको स्वास्थ्यको चिन्ता थप बढाईदिएको छ। चिसो भुईँमै सुत्नु पर्ने बाध्यता सुनाउँदै सरिताले भनिन् ‘एक त छोरालाई कोरोना छ, त्यसै होस हराएको छ, अर्कोतिर चिसो भुईँमा सुत्नु पर्छ, रातभरी बाबु सुत्न मान्दैन।’ उनका अनुसार आइसोलेसनमा सुत्नका लागि बिछ्यौना दिईएको छ त्यो पनि एउटा गुन्द्रिमात्रै। पहाडी क्षेत्र भएकाले र पानी परिरहेकाले उक्त स्थानमा चिसो निकै छ। तर ओढ्नका लागि केहि छैन। ‘पानी परिरहेको छ, यो ठाउँमा जहिल्यै चिसो हुन्छ,’ उनले भनिन् ‘यस्तो चिसोमा ओढ्ने बर्कोसम्म छैन, चिसोले ज्यानै लाने होकि भन्ने डर झनै लागिरहेको छ।’
बंगलाचुलीकै रामबहादुर (नाम परिवर्तन) र उनकी श्रीमती मालतीलाई कोरोना संक्रमण पुष्टि भयो। दुबै जना आइसोलेसन जानु पर्ने भएपछि दुई छोरा (७ वर्षिय र ४ वर्षिय) घरमा एक्लै हुने भए। संक्रमण नभएका दुई छोराहरुलाई कोरोना संक्रमणको जोखिममा पार्नु आमाबाबुलाई बाध्यता जस्तै बन्यो। अनि दुबै छोरालाई लिएर आइसोलेसन गए। ‘हामीहरु भारतबाट आएका थियौँ, छोराहरुलाई कोरोना लागेको रहेनछ, तर हामी श्रीमान श्रीमतीलाई कोरोनाले छोएछ,’रामवहादुरले भने ‘घरमा साना छोराहरुलाई एक्लै छोड्ने कुरा भएन, अनि उनिहरुलाई पनि संगै लिएर आयौँ।’ आँफूहरुलाई कोरोना लाग्नुको भन्दा चिन्ता रामवहादुर दम्पतिलाई दुई छोराको छ। उनिहरुलाई विश्वास छ ‘आँफूहरुले कोरोनालाई सहजै जित्न सक्छौँ’ भन्ने। तर साना दुई छोरालाई कोरोना संक्रमण भैहाले के होला ? यो दम्पत्तिको चिन्ता यहि छ। ‘छोराहरुलाई जानी जानी रोगको मुखमा ल्याएको जस्तो भएको छ, तर हाम्रो यो बाध्यता थियो,’ रामवहादुरले भने ‘हामीले त कोरोनालाई जीत्न सक्छौँ, तर यि साना छोराहरुलाई कोरोना लागिहाले के होला ? भन्ने चिन्ता मात्रै छ।’ रामवहादुरको परिवार पनि १८ दिन क्वारेन्टाईनमा बसेर घर फर्केको थियो। घर फर्केको एक हप्ता पछि उनिहरुको कोरोना परीक्षण रिपोर्ट आएको थियो। दुई छोरा सहित परिवारका चार सदस्य मध्य रामवहादुर र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको थियो भने दुई छोराको रिपोर्ट नेगेटिभ आएको थियो। अव्यवस्थित आइसोलेसनले स्वास्थ्यमा नकारात्मक असर पर्ने त्रासमा रामवहादुर छन्। ‘हामीहरुलाई त आइसोलेसनमा राखिएको भनिएको मात्रै हो, यो त क्वारेन्टाईन हो,’ उनले भने ‘कोरोना संक्रमितहरुलाई चाँडै मार्ने नियत त हैन ? भन्ने सम्मको शंका लाग्न थालिसक्यो।’ रामबहादुरका अनुसार उनी भारतबाट आएलगत्तै यहि भवनमै क्वारेन्टाईनमै बसेका थिए। ‘पहिला हामी क्वारेन्टाईन बसेको ठाउँ पनि यहि हो, अहिले संक्रमण भएपछि कसरी आइसोलेसन भयो ?’ उनले प्रश्न गरे।
संक्रमण नभएका दुई छोरालाई लिएर गएका रामवहादुरका छोराहरुलाई चिसोले सताईसकेको उनले बताए। ‘पुरानो टिनको पाताबाट झरी चुहिन्छ, भुईमा एउटा गुन्द्री जस्तो बिछ्याएर सुत्नु पर्छ,’ उनले भने ‘ओढ्नका लागि सामान्य बर्को सम्म दिएपनि त हुन्थ्यो नि, चिसो भुईँमा पल्टिँदा चिसोले छोराहरुलाई सताईसकेको छ।’
आइसोलेसनमा रहेका बालबालिका तथा गर्भवती महिलाहरुलाई त्यहाँभित्रको अव्यवस्थापनले झनै सताईरहेको छ। स्थानीय गर्भवति रमिता (नाम परिवर्तन) लाई आइसोलेसन भित्रको चिसोले सताउन थालेको चार दिन भैसक्यो। तर उनको स्वास्थ्य प्रति अहिले सम्मका कोहि गम्भिर नबनेको उनले बताईन्। ‘चिसो भुईँमा सुत्नु पर्छ, गर्भवति मान्छे म मलाई पौष्टिक आहार केहि पनि अहिलेसम्म दिईएको छैन,’ उनले भनिन् ‘कोरोनाले भन्दा यहाँको चिसोले खाला भन्ने जस्तै भैसक्यो।’
प्रकाशित: १४ असार २०७७ ०८:०३ आइतबार