८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

एकैदिन दुई सय १४ जना कोरोना संक्रमित डिस्चार्ज

प्रदेश अस्पताल सुर्खेतबाट कोरोना संक्रमित उपचारपछि डिस्चार्ज हुँदै । उनीहरूलाई सामाजिक विकासमन्त्री दल रावललगायतले बिदाइ गरेका थिए । तस्विरः नागरिक

कर्णालीमा पछिल्लो २४ घन्टाभित्र कोरोना उपचार गराइरहेका दुई सय १४ जना आइसोलेसन तथा अस्पतालबाट शनिबार डिस्चार्ज भएका छन् । १३ महिला र दुई सय एकजना पुरुष डिस्चार्ज भएका हुन् ।

सबैभन्दा धेरै दैलेखस्थित नौमुले आइसोलेसन सेन्टरबाट तीन महिलासहित एक सय ३२, डुंगेश्वर आइसोलेसन सेन्टरबाट सात महिलासहित ६३, दैलेख अस्पताल/नारायण आइसोलेसन सेन्टरबाट दुई महिलासहित नौजना र ठाँटीकाँध आइसोलेसन सेन्टरबाट एकजना कोरोना संक्रमित डिस्चार्ज भएका सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुर्खेतस्थित सालकोट आइसोलेसन सेन्टरबाट एक महिलासहित आठ र रुकुम पश्चिम अस्पतालबाट एकजना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा आइसोलेसन तथा अस्पतालबाट डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या नौ सय ३४ पुगेको छ ।

संघीय सरकारले १४ दिनपछि पुनः परीक्षण नगरेर घर पठाउने निर्देशन दिएको थियो । सोहीअनुसार बिरामी डिस्चार्ज गर्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । ‘संघीय सरकारले १४ दिनपछि घर पठाउने निर्देशन दिएको छ,’ सामाजिक विकासमन्त्री दल रावलले भने, ‘कर्णालीमा १९ दिनसम्म राख्छौं ।’ त्योभन्दा पछि भने अलि बढी खतरा भएकालाई अस्पतालमै राख्ने भन्दै मन्त्री रावलले भने, ‘सामान्य अवस्थाका बिरामीलाई भने १९ दिनपछि घर पठाउँछौं ।’ पूर्णरूपमा कोरोना निको नहुँदै कोरोना संक्रमितलाई घर पठाउन थालेपछि समुदायसमेत जोखिममा परेको छ । अस्पतालमा उपचार गराउन आएका केही बिरामीमा कोरोना देखिएको र ती व्यक्तिबाट चिकित्सक तथा स्वास्थ्यकर्मीलाई संक्रमण भएको स्वास्थ्य सेवा निर्देशनालयका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए ।

हाल कर्णालीमा पाँच सयजना कोरोना संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।  ४२ हजार चार सय ५१ जनाको आरडीटी विधिबाट परीक्षण गरिएकोमा एक हजार दुईजनामा ५१ जनाको रिपोर्ट पोजेभिट आएको छ । त्यस्तै २८ हजार दुई ९५ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिको थियो । जसमा एक हजार चार सय ४० जनामा कोरोना पुष्टि भएको महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा एक सय नौजनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये सातजनामा कोरोना पोजेटिभ देखिएको छ । तीसबै सुर्खेत पञ्चपुरी नगरपालिकाका रहेको महाशाखा प्रमुख तिवारीले जानकारी दिए ।

हालसम्म कर्णालीमा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।

प्रकाशित: १३ असार २०७७ ११:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App