विश्व स्वास्थ्य संगठनले यही साता प्रसिद्ध कमेडियन मिस्टर बिनलाई समेटेर एक कमेडी कार्टुन सार्वजनिक गरेकोे छ। कार्टुनमा मानिसलाई कोभिड १९ को महामारीबाट बच्न चारवटा प्रमुख सन्देश छन्– हात धुने र सफा रहने, एकआपसमा एक मिटरको दूरी कायम गर्ने, रोगका लक्षणबारे सावधान रहने र आवश्यक परे डाक्टरस“ग सम्पर्क गर्ने।
सन्देशमा बिनले छिमेकीसँग राम्रो सम्बन्ध राख्न र दयालु बन्न पनि अनुरोध गरेका छन्। यो अनुरोध यसै आएको होइन। कोभिड–१९ महामारीले मानिसलाई विश्वव्यापी रूपमा असहिष्णु र संवेदनहीन बनाएका कारण विश्व स्वास्थ्य संगठनले यो विषयलाई महत्व दिएको हो।
शुक्रबार साँझसम्म कोरोना भाइरसबाट विश्वमा झन्डै एक करोड मानिस संक्रमित छन् भने चार लाख ९१ हजार भन्दा बढीको ज्यान गएको छ। यो क्रम अझै थामिने देखिएको छैन। यो महामारीले विश्वको अर्थतन्त्रलाई तहसनहस त पारेकै छ, स“गस“गै यसले विद्यमान मानवीय संवेदनशीलता, सामाजिकता एवं सामाजिक सम्बन्धलाई समेत गिजोलेको छ। यसको प्रभाव दुरगामी हुन सक्ने देखिएको छ।
त्यसो त सामाजिक सम्बन्ध र मानवीय संवेदना तीन सय वर्षअघि सुरु भएको पुँजीवादसँगै उहिल्यै समाप्त भएको ठान्छन्, चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरि। ‘व्यक्तिवाद र पैसा कमाउने होडले विश्वलाई गाँजेको छ र मानवीय संवेदना शून्यतामा छ,’ गिरि भन्छन्, ‘विकास क्रमका हिसाबले अन्य प्राणीभन्दा साझा उद्देश्य, सपना र कल्पनाका कारण मानिस अहिलेको स्थितिमा आएको हो। कोरोनाको यो कालखण्डमा सामूहिकता झन् बढी संकटमा छ।’
इतिहासकार तथा लेखक युभल नोह हरारीले ‘फाइनान्सियल टाइम्स’मा प्रकाशित एक लेखमा कालान्तरमा अहिलेको महाव्याधि साम्य हुने तर मानव जाति एक फरक विश्वमा बाँच्ने बताएका छन्।
‘संकटको अवधिमा आगामी दिनमा नागरिक र सरकारले लिने निर्णयले आगामी विश्वको रूपरेखा तय गर्नेछ,’ उनी लेख्छन्, ‘यसले हाम्रो स्वास्थ्य सेवा प्रणाली मात्र होइन, अर्थतन्त्र, राजनीति र संस्कृतिलाई पुनर्परिभाषित गर्नेछ।’ उनका अनुसार हामीले वर्तमानको चुनौतीसँगै यो आँधीबेरी सकिएपछि कस्तो संसारमा बाँच्छौँ भन्ने उत्तिकै महत्वपूर्ण रहनेछ।
‘संकटको अवधिमा आगामी दिनमा नागरिक र सरकारले लिने निर्णयले आगामी विश्वको रूपरेखा तय गर्नेछ। यसले हाम्रो स्वास्थ्य सेवा प्रणाली मात्र होइन, अर्थतन्त्र, राजनीति र संस्कृतिलाई पुनर्परिभाषित गर्नेछ।’
त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका सेवानिवृत्त प्राध्यापक चैतन्य मिश्र महामारीले मानव जीवन र विद्यमान सामाजिक सम्बन्धलाई तल्लो तहदेखि अन्तर्राष्ट्रिय तहसम्म खलबल्याएको बताउँछन्। उनी भन्छन्, ‘कोभिड–१९ को पृष्ठभूमिमा नागरिक र राज्यको सामाजिक सम्बन्ध झन् स्खलित भएको छ, राज्यले कमजोर प्रतिकार्यले यो सम्बन्धलाई अझ बिगार्ने निश्चित छ।’
नेपालमा हरेक दिन संक्रमितको संख्या बढिरहँदा सरकारको अकर्मण्यताप्रति नागरिकको वितृष्णा बढेको छ। विशेषगरी स्वास्थ्य सेवासँग क्वारेन्टिनको व्यवस्थापन गर्न नसकेको, बुद्धिमतापूर्वक लकडाउनबाट पूर्णरूपमा बाहिरिने रणनीति अख्तियार गर्न नसकेको र महासंकटमा पनि औषधि तथा अन्य अत्यावश्यक सामग्रीको खरिदमा अनियमितता भएको विषयलाई लिएर सरकारको तीव्र आलोचना भएको छ।
‘कोभिड– १९ का बेला यो देखियो कि सत्तामा जो–कोही गए पनि राज्य नागरिकबाट टाढा र जनस्वास्थ्यका आधारभूत सेवा सुनिश्चित गर्न राज्य असफल रहेछ,’ त्रिभुवन विश्वविद्यालयका मानवशास्त्री डा. जनक राई भन्छन्, ‘हामीले के पनि प्रस्ट देख्यौँ भने सरकारले धेरै दिनसम्म बन्दाबन्दी लम्बाएर आफ्नो जवाफदेहिता, अक्षमता र कमजोर कार्य सम्पादनलाई लुकाउन खोज्दै थियो।’
नागरिक र राज्यबीचको सामाजिक सम्बन्धमा आर्थिक सम्बन्धले महत्वपूर्ण भूमिका खेल्ने गर्छ। तर महामारीले वस्तुको उत्पादन, रोजगारीका अवसर, व्यवसाय विकाससहित समग्र आर्थिक शृंखलालाई बिथोलेको छ। अर्थतन्त्रका आधार स्तम्भ जरैदेखि खलबलिएका छन्। महामारीका कारण अर्थतन्त्रको वृद्धिदर चालू आर्थिक वर्षमा खुम्चेर २.३ मा झर्ने अनुमान सरकारले गरेको छ। युएनडिपीकोे हालैको एक अध्ययनले नेपालका साना तथा मध्यम व्यवसायमा कार्यरत हरेक पाँच कामदारमध्ये तीनजनाले जागिर गुमाएका छन्। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले गरेको एक अर्काे अध्ययनले महामारीले नेपालका २० लाख मानिसको जागिर संकटमा परेको देखाएको छ। खाद्य आपूर्ति शृंखलामा भएको गडबडीले खाद्य असुरक्षाको स्तर १५ बाट बढेर २३ प्रतिशतमा पुगेको विश्व खाद्य संगठनको हालैको अध्ययनले देखाएको छ। सामाजिक सुरक्षाको पर्याप्त व्यवस्था नभएको अनौपचारिक क्षेत्रले नेपालका ६२ प्रतिशत कामदारलाई रोजगारी दिन्छ।
विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डका अनुसार यो संकटलाई सम्बोधन गर्न सरकारी प्रयास अपर्याप्त छ । उनी भन्छन्, ‘आममानिसको अपेक्षा र सरकारको आश्वासनमा आकाश–जमिनको अन्तर देखिएको छ।’
तीन महिना लामो लकडाउनले मानिसलाई साथीहरू नभए पनि बाँच्न सकिँदो रहेछ भन्ने बनाएको छ, उनीहरू व्यक्तिवादी र अरुप्रति आशंकित बनेका छन्। मानिसहरू आफ्ना मान्छे मर्दा मलामी जान पाएका छैनन् भने मृत्यु संस्कार पनि खलबलिएको छ।’
इतिहासकार तथा लेखक हरारीले जर्मन सञ्चारमाध्यम ‘डिडब्लु’ मा हालै दिएको एक अन्तर्वार्तामा महामारीले रोजगार बजारलाई उथलपुथल पारेको बताएका थिए।
‘मानिसहरू घरबाटै काम गर्न थालेका छन्, हामी सावधान नहुने हो भने यसले अन्ततः केही उद्योगमा संस्थागत श्रम (अर्गनाइज्ड लेबर) लाई समाप्त गर्नेछ र यस्तो हुन दिने वा नदिने भन्ने कुरा राजनीतिक निर्णयको हो,’ उनले भनेका छन्।
लकडाउन तुलनात्मक रूपमा खुकुलो भएको अवस्था तथा महामारीपछिको ‘न्यु–नर्मल’मा सामाजिक तथा आर्थिक जीवन कस्तो हुनेछ, यसै भन्न सकिने स्थिति छैन। महामारीका प्रभाव स्थायी हुन सक्ने त्रिभुवन विश्वविद्यालयका प्राध्यापक मानवशास्त्री डा. विनोद पोखरेल तर्क गर्छन्। उनी भन्छन्, ‘तीन महिना लामो लकडाउनले मानिसलाई साथीहरू नभए पनि बाँच्न सकिँदो रहेछ भन्ने बनाएको छ, उनीहरू व्यक्तिवादी र अरुप्रति आशंकित बनेका छन्। मानिसहरू आफ्ना मान्छे मर्दा मलामी जान पाएका छैनन् भने मृत्यु संस्कार पनि खलबलिएको छ।’ भाइरस तत्काल हराउने नभएकाले हाम्रो आनीबानीका परिवर्तन दीर्घकालीन हुन सक्ने उनको अनुमान छ।
कोभिड–१९ लाई सम्बोधन गर्न युएनडिपीले जुनमा सार्वजनिक गरेकोे सामाजिक तथा आर्थिक फ्रेमवर्कमा ‘महामारीपछिको न्यु–नर्मल अन्तर्गतको पुनर्उत्थानको बाटो मानव अधिकारमा आधारित, नागरिक र राज्यबीच न्यायपूर्ण र पक्षपातविहीन सामाजिक सम्बन्ध, सामाजिक सुरक्षाको सुनिश्चता, विश्वव्यापी स्वास्थ्य बिमा, डिजिटल कनेक्टिभिटीमा पहुँचसहितको हुनुपर्छ। विश्वव्यापी सहकार्य र एकताले महामारीको सामना गर्न सकिन्छ, एक्लै होइन’ भनिएको छ।
फ्रेमवर्क अनुसार, ‘न्यु–नर्मल’ को अवस्थामा समाज र अर्थतन्त्र खुल्नेछ, त्यतिबेला संक्रमणको नयाँ लहर आउने सम्भावना उत्तिकै रहनेछ। यतिबेला सरकार र समाजले आउन सक्ने जोखिमको समाधानका लागि आफ्नो क्षमता अभिवृद्धि गर्न आवश्यक छ।
मानवशास्त्री राई नयाँ सामाजिक सम्बन्धको निर्माण गर्नुअघि कस्ताखाले पुराना सामाजिक सम्बन्धले राम्रा काम गरे वा गरेनन् भन्ने गम्भीर समीक्षा गर्नुपर्ने बताउँछन्। उनी भन्छन्, ‘स्थानीय सरकारहरूले महामारीका नियन्त्रणमा प्रभावकारी काम गरेका छन्। अबको बाटो भनेको शक्तिलाई सही अर्थमा केन्द्रबाट स्थानीय स्तरमा पु-याउनु हो।’
‘हामीले पछिल्ला वर्षमा जनजीविकाका लागि गाउँमा नभई सहरमा र विदेशमा भर प-यौं,’ समाजशास्त्री मिश्र थप्छन्, ‘अहिले आएर गाउँ र सहरको अन्तर्सम्बन्ध बढेको छ। प्रवासी नेपालीको घर फिर्तीले इथ्नोसेन्ट्रिजम् अर्थात् आफ्नै संस्कृति र माटो महत्वपूर्ण हुन्छ भन्ने भावना बढेको छ। यो एउटा अवसर पनि हो।’
प्रकाशित: १३ असार २०७७ ०१:२९ शनिबार