१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

बम पड्केको ठाउँमै सिसिटिभी थियो, तर नचल्ने

सुरेश यादव, जनकपुर, वैशाख २१ -जनकपुरमा आपराधिक गतिविधि बढेपछि आठ महिनाअघि प्रहरीले ८० लाख रुपैयाँ लगानीमा २५ वटा 'क्लोज सर्किट टेलिभिजन' (सिसिटिभी) जडान गरेको थियो। एउटा सिसिटिभी सोमबार बम विस्फोट भएको रामानन्द चोकमै थियो।
तर, सिसिटिभीकै सामुन्ने यति ठूलो घटना हुँदा पनि प्रहरीले महŒवपूर्ण तथ्य फेला पार्न सकेन। कारण- बम विस्फोटको बेला सिसिटिभी बन्द रहेछ।

अनियमित लोडसेडिङका कारण सिसिटिभीको ब्याकअप धान्न नसकेर बन्द गर्नुपरेको धनुषाका डिएसपी टेकबहादुर गुरुङले बताए। 'तीन लाख नहुँदा ब्याकअप राख्न सकेका छैनौं,' उनले नागरिकसँग भने।
सिसिटिभी जडान भएको दुई महिनापछि नै यस्तो समस्या आएको हो। यो लोडसेडिङ बेला चल्दैन। बम विस्फोट हुँदा जनकपुर क्षेत्रमा लोडसेडिङ थियो। यही समस्याले जिल्ला प्रहरी कार्यालयको सिसिटिभी कन्ट्रोल रुम पनि बन्द हुन्छ।
आपराधिक गतिविधि अनुगमन गर्न स्थानीयको सहयोगमा राखेका सिसिटिभीमै समस्या आउँदा पनि प्रहरीले छ महिनादेखि मर्मत गरेको थिएन। यसले बम विस्फोट घटनाको महŒवपूर्ण प्रमाण गुमेको छ। ८० लाखमा बनेको उपकरण ३ लाखमै मर्मत हुने स्थितिमा पनि प्रहरीले बजेट माग गरेको थिएन। 'अब माग गर्छु,' गुरुङले बुधबार भने, 'म बजेट प्रस्ताव जिविसमा पठाउँदैछु।'
मिथिला राज्य माग गर्दै आयोजित शान्तिपूर्ण धर्ना कार्यक्रममै सोमबार बम विस्फोट हुँदा चारजनाको ज्यान गएको थियो। ३१ जना घाइते भएका थिए। घाइते काठमाडौंमा उपचाररत छन्।
बम पड्काउन प्रयोग गरिएको मोटरसाइकलका धनी पक्राउ परे पनि प्रहरीले उनी घटनामा संलग्न रहेको थप प्रमाण फेला पार्न सकेको छैन। मोटरसाइकल धनी जयप्रकाश साह बम विस्फोटअघि त्यही क्षेत्रमा टहलिइरहेको देखिएका थिए। उनले अन्तै मोटरसाइकल रोकेको र अरू कसैले घटनास्थलसम्म ल्याएको दाबी गरिरहेका छन्।
'कुनै न कुनै रूपमा घटनामा उनको संलग्नता देखिन्छ,' अनुसन्धान स्रोतले भन्यो, 'उनको दाबी पत्यारलाग्दो नभए पनि थप प्रमाण नहुँदा केही भन्न सकिने अवस्था छैन।'
साह पेसाले ठेकेदार हुन्। उनी जनकपुर-८ पगलाबाबा धर्मशालानजिकै बस्दै आएका छन्। उनी रामानन्द युवा क्लबका पूर्वअध्यक्ष तथा जनकपुरका स्थानीय जीवनाथ चौधरीका निजी अंगरक्षक हुन्। चौधरी जिविसका लेखापालसमेत हुन्। विस्फोट स्थलबाटै पक्राउ परेका सप्तरी विषहरिया- ८ का २० वर्षीय जयप्रकाश चौधरी उपचारमै छन्।
धनुषाका प्रहरी निरीक्षक गोविन्द पुरीले 'विस्फोटको तथ्य पत्ता लगाउन साहलाई नियन्त्रणमा राखेको' बताए। धनुषा प्रहरीका एक अधिकृतले अनुसन्धान क्रममा राजन मुक्तिले घटनाको जिम्मेवारी लिनुमा नाम र पैसाको लोभबाहेक अरू कारण नदेखिएको बताएका छन्। बम पड्काउने योजनाकार र जिम्मेवारी लिने समूह फरक-फरक हुनसक्ने संकेत देखिएको उनले जानकारी दिए।
रामानन्द चोकमा बम विस्फोट हुनु अघिल्लो दिन जिल्ला प्रहरी कार्यालय पछाडिको एमाले पार्टी कार्यालयमा समेत विस्फोट भएको थियो। दुवै घटनाको प्रकृति मिलेकाले एउटै समूह संलग्न हुनसक्ने प्रहरी अनुमान छ। प्रहरीले एमाले पार्टी कार्यालय विस्फोटमा संलग्न रहेको आशंकामा जनकपुर-४ का नारायण साह र महोत्तरी लोहारपटी-६ का विवेककुमार मण्डललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
बुधबार पनि बमको त्रास
बुधबार दिउँसो साढे १ बजे। सोमबारको घटनाबारे छलफल र आन्दोलनको आगामी रणनीति तय गर्न राम चोकस्थित गणेश युवा कमिटीको कार्यालयमा सर्वपक्षीय बैठक चल्दै थियो। सोमबार विस्फोट भएकै ठाउँमा केही पड्किएको आवाज आयो।
बैठककै एक सहभागीको मोबाइलमा सन्देश आयो, 'रामानन्द चोकमा फेरि बम पड्क्यो।' सन्देश पाउनासाथ बैठकमा सहभागी सबै चोकतिर दौडिए। केही बेरमै मोटरसाइकल र जीपमा हुइकिँदै प्रहरी टोली पनि आइपुग्यो। तर, रामानन्द चोक सुनसान थियो। आवाज सुनिएको ठाउँ खोज्दै प्रहरी गल्ली-गल्ली छिरे। तर, केही भेटिएन।
सर्वसाधारणमा भय फैलाउन खाली ठाउँमा विस्फोट गराइएको हुनसक्ने डिएसपी गुरुङले अनुमान गरे। बम विस्फोट भए/नभएको कसैले पुष्टि गर्न सकेन। सोमबारको घटना बिर्सन नसकेका जनकपुरबासीलाई बुधबारको आवाजले थप त्रसित बनाएको छ।

प्रकाशित: २० वैशाख २०६९ २२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App